काठमाडौं । एक महिनादेखि २५०० बिन्दुलाई परीक्षणका रूपमा लिइरहेको सेयर बजार त्यहाँबाट पनि ओरालो लागेको छ ।
फागुन २६ गते २४९८.२१ बिन्दुसम्म झरेको सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) त्यसैदिन कारोबार बन्द हुँदा भने २५६६.९ मा रोकिएको थियो । त्यसपछिको कारोबार दिनमा स्थिर देखिएको सूचक फागुन ३० मा एकाएक १०० अंकभन्दा बढीले बढेर २६६८ मा पुगेको थियो ।
त्यसपछि सुस्ताउँदै बसेको बजार गत साता २५१५ सम्म झरेको थियो । त्यसैदिन ४१ अंकले बढेर २५६८ बिन्दु छोएको नेप्से पछिल्ला तीन कारोबार दिनमा भने घटेर बन्द हुँदा सूचक २५०० तल आइपुगेको छ ।
लामो समय २५०० को वरिपरि बसेको बजार सूचक साेमबार ओरालो लाग्दा अब तल झर्ने संकेत गरेको बुझ्न सकिन्छ । आइतबार २५१३ मा रोकिएको नेप्से साेमबार कारोबार सुरु हुँदा २५१८ सम्म चढेको थियो । तर, लगत्तै घटेको बजारले २५०० बिन्दू छोएर उक्लिने कोसिसमा २५२५ सम्म चढ्यो । तर, बजारले बढ्दो गति नसमाउने छाँट ल्याउँदै घट्दो क्रममा स्थिरता देखायो । आइतबारको तुलनामा साेमबार १५.९४ अंकले घटेर २४९५.८४ बिन्दुमा नेप्से झरेको थियाे । यसको अर्थ बजार अब २५०० बिन्दूबाट ओरालो लाग्न खोजेको संकेत गर्छ ।
बिग्रँदो अर्थतन्त्र, मूल्य वृद्धिको बढ्दो चाप, वित्तीय बजारमा देखिएको तरलता अभाव, अन्तर्राष्ट्रिय रुपमा देखिएको आर्थिक मन्दीका संकेतले नेपालको सेयर बजारलाई पनि प्रभावित बनाउन खोजिरहेको छ । बढ्दो मुद्रास्फीतिले आर्थिक मन्दीको सम्भावना देखाएकाले लगानीकर्ताहरूमा एक खालको मनोवैज्ञानिक प्रभाव परेको छ ।
कतिपय श्रीलंकाको आर्थिक संकट देखाएर नेपालमा पनि त्यही प्रकृत्तिको संकट आउन सक्ने विश्लेषण भइरहेका छन् । जसको असर सेयर बजारको लगानीमा पनि पर्ने देखिन्छ । आर्थिक मन्दी आउने संकेत देखिएमा सेयर बजारमा ठूलो झट्का लाग्न सक्छ । यद्यपि, लगानीकर्ताहरुले पर्ख र हेरको नीतिलाई अंगीकार गरिरहेका छन् ।
वित्तीय क्षेत्रमा पनि वित्तीय सुशासनका पक्षमा प्रश्नहरु उठ्न थालेका छन्, जसको प्रभाव सेयर बजारमा पर्न सक्छ । सरकार र केन्द्रीय बैंकले आर्थिक संकट आउँदैन र हामी के कस्ता कारणले सबल छौं भनेको अवस्थामा बजार तल झर्न सक्छ ।
यसदिन बजार घटाउन १४६ कम्पनीले भूमिका निर्वाह गरे । सबैभन्दा बढी कर्णाली विकास बैंकको सेयर मूल्य ४.२८ प्रतिशतले घट्यो । उता घटेको बजारमा पनि ३६ कम्पनीको मूल्यमा सुधार आएको छ । नियमित कारोबारमा रहेका राष्ट्र उत्थान र नेष्डो लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने नियमित कारोबारमै रहेको इमर्जिङ नेपालको सेयर मूल्य ९.१२ प्रतिशतले बढेको छ ।
यसदिन १ अर्ब ५८ करोड ४६ लाख रुपैयाँको सेयर कारोबार हुँदा सबैभन्दा बढी इमर्जिङ नेपालको ६ करोड ३९ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
साेमबारको कारोबार रकम आइतबारको १ अर्ब ४४ करोडको तुलनामा केही बढी हो ।