काठमाडौं । सुनकोसी–मरिण नदी पथान्तर (डाइभर्सन) आयोजनाको सुरुङ खन्ने काम असारबाट सुरु हुने भएको छ । चाइना ओभरसिरिज इन्जिनियरिङ कम्पनी (कोभेक) ले सुरुङ खन्ने जिम्मेवारी लिएको छ ।
१० अर्ब रुपैयाँमा उक्त सुरुङ खन्न लागि कोभेकसँग सम्झौता गरिएको आयोजनाले जनाएको छ । आयोजनाको बाँध, सुरुङ र विद्युतगृह संरचना बनाउन ४० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
कोभेकले टनेल बोरिङ मेसिन (टीबीएम) प्रयोग गरी सुरुङ खन्ने आयोजनाको भनाइ छ । भेरी–बबई डाइभर्सनमा कोभेकले टीबीएमको प्रयोग गरेको थियो ।
मेसिन राख्नका लागि आवश्यक ५० मिटर संरचना बनाउने काम सुरु भएको आयोजनाका सिनियर डिभिजन इन्जिनियर जियोलोजिस्ट (सीडीईजी) योजना न्यौपानेले बताइन् । उनका अनुसार अहिले सुरुवातमा ५० मिटर खन्ने काम मान्छेद्वारा भइरहेको छ । चालू आर्थिक वर्षको अन्त्यमा निर्माण कम्पनी कोभेकले मेसिनको प्रयोग गरेर सुरुङ निर्माणकार्य अघि बढाउने छ ।
‘सुरुङ खन्ने काम मेसिनबाट हुन्छ । तर, सुरुमा मेसिन राख्नकै लागि ५० मिटर जति मानिसले नै खन्नुपर्छ’, सिडीईजी न्यौपानेले भनिन्, ‘अहिले मानिसले काम गरिरहेका छन् । मेसिनको प्रयोग आगामी जेठ अन्तिम वा असारबाट सुरु हुन्छ ।’
१५८ मा ५० रुख काटियो
आयोजनामा १५८ वटा रुख काट्नुपर्ने भएको छ । आयोजनाका सिनियर डिभिजन हाइड्रो जियोलोजिस्ट विश्वबन्धु केसीका अनुसार पहिलाको अध्ययनले २०० रुख काट्नुपर्ने अनुमान गरिए पनि हाल १५८ वटा मात्रै रुख काट्नुपर्ने भएको हो ।
प्रस्तावित विद्युतगृहमा मात्रै ९२ वटा रुख काट्नुपर्ने अनुमान गरिएकामा हाल ५० वटा मात्रै रुख काट्दा पुग्ने भएपछि समग्रमा अनुमानित रुख कटानको संख्या पनि घटेको हो ।
‘पावर हाउसमा ५० भन्दा बढी रुख काट्नु नपर्ने भनेर फागुनमा वन कार्यालयलाई पत्र लेखिसकेका छौं’, हाइड्रो जियोलोजिस्ट केसी भन्छन्, ‘बाँकी १०८ वटा रुख काट्ने काम भने मुहान हेडवक्र्स निर्माणका लागि टेन्डर आह्वान सुरु भएपछि गर्छौं ।’ टेन्डर आह्वान गर्ने तयारीमा रहेको आयोजनाले आर्थिक वर्षको अन्त्यमा निर्माण कार्य सुरु गर्ने जनाएको छ ।
रामेछापमा ४१ करोड मुआब्जा वितरण हुने
सिन्धुली र रामेछापको सिमानामा बग्ने सुनकोसी नदीमा निर्माण गर्न लागिएको नदी पथान्तर आयोजनाले दुवै जिल्लाका बस्ती तथा कृषियोग्य जमिन डुबानमा पर्छ । सिन्धुलीतर्फ २० हेक्टर जमिनका लागि ४० करोड रुपैयाँ मुआब्जा वितरण भइसकेको छ ।
रामेछापतर्फ भने लामो समयदेखि चलिरहेको विवादका कारण मुआब्जा वितरण हुन सकेको थिएन । हाइड्रो जियोलोजिस्ट केसीका अनुसार स्थानीयले मुआब्जा रकम कम भएको भन्दै आयोजनालाई जमिन दिन मानेका थिएनन् ।
‘केही व्यक्तिले मुआब्जा रकम कम भएको बताएका थिए । तर, चैत अन्तिमबाट रकम वितरण गर्ने योजना छ’, केसी भन्छन्, ‘रामेछापतर्फ २२ हेक्टरमा ४१ करोड रुपैयाँ वितरण हुनेछ ।’ आयोजनाका अनुसार ४१ करोड ६७ लाख ५ हजार ११३ रुपैयाँ रामेछापमा वितरण गनुपर्ने छ ।
सुरक्षा निकाय राख्न गृहको स्वीकृति
सुरुङ निर्माणको जिम्मेवारी लिएको कोभेकले गत पुसमा निर्माणस्थलमा सुरक्षाको माग गरेको थियो । कोभेकको मागअनुसार जिल्ला प्रशासन कार्यालय सिन्धुलीले माघमा उक्त प्रस्ताव गृह मन्त्रालयमा पठाएको थियो ।
सो प्रस्तावमा मन्त्रालयले स्वीकृति दिएको सिन्धुलीका सहायक प्रमुख जिल्ला अधिकारी ऋद्धि प्रकाश सिटौला बताउँछन् । ‘गृहले सुरक्षा निकाय राख्न अनुमति दिएको छ । अहिले सुरक्षाकर्मीका लागि भवन निर्माण भइरहेको छ । सशस्त्र प्रहरीको टोली बस्ने छ’, सिटौलाले भने ।
आयोजनाको मुख्य सुरुङ सुनकोसी र तामाकोसीको संगमस्थलबाट ९०० मिटर तल (सिन्धुलीको खुर्कोट तर्फ) १२ मिटर उचाइको बाँध बनाई निर्माण हुँदैछ ।
सुनकोसी र तामाकोसीको पानीलाई १३.१ किलोमिटर लामो सुरुङमार्फत प्रतिसेकेन्ड ६७ क्युसेक पानी सिन्धुलीको कमलामाई नगरपालिका २ कुसुमटारस्थित मरिण खोलामा खसाल्ने योजना छ ।यस्तै ६६ मिटर हेडेटबाट पानी ३१ मेगावाट विद्युत् उत्पादन गर्ने पनि तयारी छ ।
सिन्धुली र रामेछापको सिमानामा निर्माण हुने परियोजनालाई बागमती प्रदेश र मधेश प्रदेशलाई जोड्ने छ । मरिण डाइभर्सनमा निर्माण हुने करिब १३ किमि लामो सुरुङमार्गको चौडाइ ५.५ मिटर हुनेछ । सो आयोजनाबाट मात्रै थप ७७ हजार हेक्टर जमिनमा सिँचाइ पुग्ने बताइएको छ ।
यसअघि नै बागमती सिँचाइ आयोजनाबाट ४५ हजार हेक्टरमा सिँचाइ पुगेको छ । २ वटा आयोजनाबाट बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा जिल्लाको १ लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ पुर्याउने लक्ष्य रहेको छ ।