काठमाडौं । नेपाल वेयरहाउजिड्ग कम्पनी लिमिटेड मातहत सुनसरी जिल्ला गढी गाउँपालिका–२ औरावनीमा खाद्यान्न भण्डारण गृहको आइतबारबाट व्यावसायिक शुभारम्भ भएको छ । यस्तै पर्सा र कपिलवस्तु जिल्लामा निर्माण भईरहेको भण्डारण गृहहरु पनि छिट्टै सञ्चालनमा आउने क्रममा रहेको छ ।
कम्पनी संस्थापन गर्नका उद्देश्यहरुमध्येको प्रमुख उद्देश्य खाद्यान्न भण्डारण गृह निर्माण गरी सो भण्डारण गृहमा कृषकहरुले उत्पादन गरेका खाद्यान्नलाई भण्डारण गर्ने सुविधा प्रदान गर्नु रहेको छ।
कृषकको आवश्यकता वमोजिमको सुरक्षित तथा वैज्ञानिक तबरको भण्डारण गृह हालसम्म सञ्चालनमा नरहेको हुँदा आफ्नो उत्पादनलाई तत्काल सस्तो मूल्यमा वजारमा विक्री गर्नुपर्ने वाध्यता कृषकसँग रहिरहेको छ। अर्कोतर्फ खाद्यान्न केही महिनाको छोटो अन्तरालमा महँगो मूल्यमा कृषक समेतले दैनिक उपभोगका लागि खरिद गर्नुपर्ने अवस्था छ।
यो समस्याको समाधानका लागि नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडले देशका तीन वटा जिल्ला सुनसरी, पर्सा र कपिलवस्तुका औद्योगिक महत्वका शहरहरुमा साइलो प्रविधिमा आधारित खाद्यान्न भण्डारण गृह निर्माण गरी कृषक, कृषि वस्तु संकलक, खाद्यान्न प्रशोधक, औधोगिक प्रतिष्ठानतथा दाना उत्पादकहरुलाई सेवा प्रदान गर्ने लक्ष्य लिएको छ ।
कृषकहरुबाट उत्पादित खाद्यान्न भण्डारण गर्नका साथसाथै कृषकहरुलाई आफ्नो उत्पादनको उचित मूल्य प्राप्त हुने अवसर प्रदान गर्न कम्पनीले ती तीनवटै जिल्लामा निर्माण हुने भण्डारण गृहको परिसरमा वोलकवोलको माध्यमबाट खाद्यान्न किनबेच हुने वातावरण र पद्धत्तिलाई समेत व्यवस्थित गर्ने लक्ष्य राखेको छ ।
साथै कम्पनीले कृषक तथा खाद्यान्न संकलकहरुलाई घर खर्च तथा अर्को वालीका लागि आवश्यक पर्ने पुँजीको अभाव हुन नदिन निजहरुले कम्पनीको भण्डारण गृहमा राखेका खाद्यान्नको परिमाणलाई धितो मानेर वेयरहाउस रसिदको आधारमा बैंक तथा वित्तीय संस्थाहरु मार्फत ऋण प्राप्त गर्ने उचित व्यवस्थापन गरिएको छ।