काठमाडौं । नेपाल राष्ट्र बैंकका डेप्यु्टी गभर्नर बमबहादुर मिश्रले जलविद्युत् आयोजना विकासका लागि बैंक तथा वित्तीय संस्थाबाट लगानी जुटाउन राष्ट्र बैंकले सहयोगी भूमिका खेल्ने बताएका छन् । हिमालयन हाईड्रो एक्सपोको दोस्रो दिनको छलफल सत्रलाई सम्बोधन गर्दै मिश्रले लगा जलविद्युत् आयोजनामा लगानी जुटाउन कुनै समस्या नरहेको प्रष्ट बताएका हुन् ।
मिश्रले जलविद्युतको विकास तथा प्रवर्धनलाई राष्ट्र बैंकले उच्च महत्व दिँदै आएको उल्लेख बताए । नेपालको आर्थिक विकासमा जलविद्युत क्षेत्र प्रत्यक्ष र दुरगामी महत्व राख्ने क्षेत्र भएकाले राष्ट्र बैैंकले सो क्षेत्रको आवश्यकताअनुसार आर्थिक स्रोतको सहज व्यवस्थापन हुने गरी मौद्रिक नीति ल्याइने उनले बताए ।
‘देशको मुहार फेर्ने र पेट्रोलियम प्रतिस्थापन गर्न खास आवश्यकता भनेकै जलविद्युत् हो भन्ने राष्ट्र बैंकले बुझेको छ, त्यहीअनुसार हामीले डाइनामिक पोलीसी ल्याउने गरेका छौ’, उनले भने ।
स्वदेशी बैंकहरुले जलविद्युत् क्षेत्रमा गर्ने लगानीको सीमा अझै नपुगको र थप कर्जा चाहिएका अवस्थामा त्यसलाई बढाएर जान सक्ने संकेत मिश्रले गरेका थिए । वैदेशिक लगानी भित्राउने प्रक्रियालाई ५० प्रतिशत सहज बनाएको बताउँदै उनले अहिलेको तरलताको समस्या पनि जलविद्युतसँग सम्बन्धित कुनै पनि पक्षको आयातमा कुनै खाले अवरोध नराखिएको उनले बताए ।
‘तरलता साइकल व्यवस्थापन गर्न खोज्दैछौं । टर्वाइनलगायत कुनै पनि उपकरण आयातको एसलीमा वा अन्य कुनै अवरोध छ भने हामी रोक्दैनौं’, मिश्रले भने ।
कार्यक्रममा नबिल बैंकका डेपुटी सीईओ मनोज ज्ञवालीले जलविद्युत् क्षेत्रमा खास भूमिकामा काम गर्न खोजेका लगानीकर्तालाई अझै पनि बैंकहरुले ढोका खुला राखेर स्वागत गर्ने बताए । ‘जलविद्युत क्षेत्रमा अनिवार्य गर्नुपर्ने लगानी अझै १.५ प्रतिशतमै सिमित रहेको वाणिज्य बैंकले तपाईंहरुलाई स्वागत गर्छन् । १० प्रतिशतको सीमामा पुग्न अझै पनि १ खर्ब ८१ अर्व रुपियाँ जलविद्युत क्षेत्रमा लगानी गर्नुपर्ने अवस्था छ,’ उनले भने ।
बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) का उपाध्यक्ष भोजबहादुर शाहले कर्मचारी सञ्चयकोष, लगानीकोषजस्ता सरकारी स्वामित्वका ठूला डिपोजिटरले व्याजमा खेल्ने अवस्थाले जलविद्युतजस्ता दीर्घकालीन लगानी क्षेत्रमा लगानीको समस्या परेको बताए ।
धितोपत्र बोर्डका प्रमुख कार्यकारी अधिकृत निरज गिरीले जलविद्यूत विकासकर्ताले सस्थागत सुसासनलाई अझै राम्रो बनाउनु जान सुझाव दिए । ‘यो तपाईंहरुको प्रतिष्ठा विस्तार र सेयर लगानीकर्ताले विश्वासको आधार विस्तार गर्न अपरिहार्य छ,’ उनले भने ।
छलफलमा मर्चेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष मेखबहादुर थापाले जलविद्युत आयोजनामा दिगो लगानीको स्रोतका रुपमा डिबेन्चरमार्पmत ऋण जुटाउने विकल्प प्रयोग प्रभावकारी हुने बताए ।
‘ऋण लागानीमा किन बैंकमात्र कुर्ने अब पुँजीबजारलाई प्रयोग गर्न सकिन्छ । जलविद्युत् आयोजनालाई खासमा डिबेन्चर चाइएको छ’, उनले भने ।
एक्स्पोको अन्तिम दिनको सेमिनारमा २ वटा सेसन चल्नेछन् । पहिलो सत्रमा नेपालमा विद्युत उत्पादन र उपभोगका विषयमा सरोकारवाला विज्ञले छलफल गर्नेछन् ।
सो सत्रमा विद्युत नियमन आयोगका अध्यक्ष दिल्लीबहादुर सिंह, नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक प्रदीपकुमार थिके, प्राध्यापक अमृतमान नकर्मी, हाइड्रो सोलुसन्सका अध्यक्ष ज्ञानेन्द्रलाल प्रधान लगायत सहभागी रहने छन् ।
अन्तिम सत्रमा जलविद्युत क्षेत्रको नीतिगत विषयबस्तुमा छलफल गरिने भएको छ । ऊर्जा जलस्रोत सिँचाइमन्त्री पम्फा भुसालको विशेष उपस्थिति हुने सो सत्रमा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, नेपाली कांग्रेसका महामन्त्री गगन थापा, राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा.कृष्णप्रसाद ओली र ऊर्जा मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटवाललगायत सहभागी हुने बताइएको छ ।