काठमाडौं । बौद्धिक व्यक्तिहरुको संगठन भनेर चिनिएको नेपाल व्यवस्थापक संघ (म्यान) को चुनाव यही चैत २६ गते शनिबार राजधानीमा हुँदैछ ।
नेपाल सरकारका प्रशासक, बैंकर, सामाजिक अभियन्तालगायत बुद्धिजीवीहरुको संस्थामा आफूअनुकूल नेतृत्व ल्याउन अनेकन तिकडमहरु हुन थालेका छन् ।
यसअघिसम्म म्यानको चुनावमा व्यक्तिगत रुपमा भोट माग्ने चलन थियो । तर, विगतको यो क्रमलाई तोड्दै यसपटकबाट आ–आफ्नो प्यानलै बनाएर चुनावी मैदानमा उत्रिएका छन् । म्यानमा लामो समय कार्यसमितिमा बसेर काम गरिसकेका अनुभवीका अनुसार अहिलेसम्म म्यानमा कुनै प्यानल नबनेको र पहिलोपटक अस्वस्थ प्रतिस्पर्धाको अभ्यास हुन थालेको छ ।
‘म्यान प्रोफेसनलहरुको संस्था भएकाले व्यक्तिलाई चुनाव लाग्थ्यो । तर, यसरी प्यानल नै बनाएर फलानो प्यानललाई भोट हाल्नुस् भनेर प्रचार गरिदँैनथ्यो’, एक अनुभवी अधिकारीले भने, ‘तर, यसपटक दुई समूह बनाएर चुनावी मैदानमा उत्रिएका छन् । यसले राम्रो सन्देश गएको छैन ।’
अहिले एकातिर नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्यालसहितको टिमलाई म्यानको अध्यक्ष बनाउन लागिपरेका छन् भने अर्कोतिर नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमण नेपाललाई अध्यक्ष बनाउने अभियान चलिरहेको छ ।
विगत केही समयदेखि म्यानलाई आफ्नो कमाउने भाँडाको रुपमा प्रयोग गर्दै आएकाहरुले जबर्जस्ती म्यानमा दुई प्यानल खडा गरी चुनावी मैदानमा उतारेको पूर्वप्रशासकहरु बताउँछन् ।
म्यानमा अनावश्यक राजनीति हुन थालेपछि केही व्यक्तिहरुले म्यानमा सक्रिय नहुनेसमेत बताइसकेका छन् । हालका अध्यक्ष किरणकुमार श्रेष्ठलाई आगामी कार्यकाल पनि सम्हाल्न केही व्यक्तिले प्रस्ताव गरेका थिए । तर, उनले बैंकमा बढी समय दिनुपर्ने भन्दै कार्यकाल दोहोर्याउन नचाहेपछि दुई समूह चुनावी मैदानमा उत्रिएका हुन् ।
कार्यसमितिमा आउन इच्छुक केही उम्मेदवारका अनुसार यसरी प्यानल बनाएर जान हुँदैन । यसअघिसम्म व्यक्तिगत रुपमा भोट माग्ने प्रचलनलाई कामय राख्नुपर्नेमा यसपटक प्यानलै बनाएर अघि बढेकामा आफूलाई पनि दुःख लागेको बताउँछन् ।
म्यानमा १ हजार ६१ जना सदस्य छन् । सुरुमा कार्यसमितिमा जित्ने र त्यसपछि पदाधिकारी चयन हुने व्यवस्था छ ।
नेपालमा कर्पाेरेट क्षेत्रको सक्रिय सहयोगमा व्यवस्थापन व्यवसायीहरूको शीर्ष निकायको रूपमा सन् १९७९ मा स्थापना भएको संस्था हो, म्यान । राष्ट्रिय गैरनाफा र गैरपक्षीय सदस्यतामा आधारित व्यावसायिक संस्था भएकाले देशमा व्यवस्थापन, व्यावसायिकता र कार्यसम्पादोन्मुखका साथै सामाजिक रूपमा जिम्मेवार कार्यसंस्कृतिको विकासका लागि महत्वपूर्ण फोरमका रुपमा लिइन्छ ।
यसमा नेपाली अर्थतन्त्र र समाजका विभिन्न विषय र क्षेत्रका २५०० भन्दा बढी व्यक्ति र २५० संस्थाहरूको बलियो सदस्यता छ । म्यान उत्पादक, प्रतिस्पर्धी र सामाजिक रूपमा जिम्मेवार व्यवस्थापन संस्कृतिको प्रवर्धनका लागि प्रमुख केन्द्रको रूपमा उभिएको छ । यसले व्यवस्थापन पेसेवरहरू र संस्थाहरूको विकास र समृद्धिमा मद्दत गर्दै आएको छ ।
म्यानको नेतृत्व सम्हालिसकेका पूर्वअध्यक्षहरु भने प्यानल बनाएर चुनावमा जान नहुने पक्षमा छन् । हालसम्म १४ जनाले म्यानको नेतृत्व गरिसकेका छन् ।
कसको प्यानलमा को ?
म्यानको चुनावी प्रतिस्पर्धामा उपेन्द्र र रमणको प्यानल घोषित भइसकेको छ । उपेन्द्रको प्यानलमा उनीसहित मोहन ओझा, शशि सत्याल, प्रद्युम्न पोखरेल रहेका छन् । यस्तै कृष्णप्रसाद शर्मा, आशा राणा अधिकारी, मनोजकुमार लाल कर्ण, अश्मी राणा, हिमाकुमारी अधिकारी, मिलन गुरुङ र जीवनकुमार कटुवाल रहेका छन् ।
यसैगरी रमणको प्यानलमा उनीसहित, मिलन गुरुङ, डा. नरेन्द्र श्रेष्ठ, इन्द्रकुमार श्रेष्ठ, आङछिरिङ शेर्पा, सुरेन्द्र थापा, मनिष झा, सुजन आचार्य र अनु जोशी रहेका छन् ।