काठमाडौं । अन्तर्राष्ट्रिय ख्यातिप्राप्त होटल ब्राण्ड शिन्तामणी नेपाल भित्रिएको छ । उसले यति वल्र्ड ग्रुपको सहायक कम्पनी शेर्पा हस्पिटालिटीमार्फत मुस्ताङ्गको जोमसोममा सञ्चालित मोक्ष मुस्ताङ रिसोर्टको व्यवस्थापन सम्हाल्ने छ ।
शिन्तामणि विश्व बजारमा जंगलका बीचमा महँगो होटल सञ्चालन गरेर ख्याति कमाएको ब्राण्ड हो । १ अर्ब १० करोड रुपैयाँ लगानीमा निर्माण भई सञ्चालनमा रहेको सो रिसोर्टको व्यवस्थापन भने आगामी अक्टोबरदेखि सम्हाल्ने गरी दुई पक्षीय सम्झौता भएको हो ।
रिसोर्टको सम्पूर्ण व्यवस्थापन सम्हाल्ने गरी सम्झौता भएको यति ग्रुपका अध्यक्ष सोनाम शेर्पाले जानकारी दिए । यो ब्राण्डले खर्चालु पर्यटकहरुका लागि लक्षित गरी निर्माण गरिएका होटल तथा रिसोर्टहरुको व्यवस्थापन सम्हाल्दै आएको छ ।
जोमसोमको मोक्ष होटलमा लक्जरी होटल ब्रान्ड शिन्तामणि भित्रिएपछि यसको मूल्य पनि महँगो हुनेछ। शिन्तामणिले हालसम्म एकदिनको प्याकेज बिक्री नगरेकोले नेपालमा पनि त्यहि अनुसारको हुने जनाएको छ ।
उसले न्यूनतम तीन दिनको बुकिङ्ग लिने भएकोले १५ सयदेखि ३ हजार डलरसम्म एउटा कोठाको मूल्य निर्धारण गरी प्याकेज बिक्री हुने जनाएको छ । कोठा, हवाइ स्थानान्तरण, गतिविधिहरू, स्पा, खाना र पेय पदार्थहरू सबै प्याकेजमा समावेश हुने जनाएको छ ।
अमेरिकन आर्किटेक बिन्सेलीले शिन्तामणि होटल ब्रान्डको सुरुवात गरेका हुन । कम्बोडियाको जंगल पर्यटनमा आफ्नो प्रयोग सफल भएको र नेपालमा पनि सफल हुने उनको विश्वास छ।
२९ वटा कोठा रहेको सो रिसोर्टलाई उनको डिजाइनअनुसार पुनर्निर्माण गरिने छ । अर्थात उनको डिजाइनअनुसार केही परिवर्तन गरी सञ्चालनमा आउने छ । संसारभरीका पर्यटकहरुलाई थकाई मार्ने मूख्य गन्तव्य जोमसोम बनाउने उद्धेश्यका साथ काम सुरु गरिएको उनको भनाई छ ।
रिसोर्टलाई सबै समावेशी अनुभवका रूपमा विकसित गरिने जनाएको छ । पाहुनाको यात्रालाई हिमालयमा सबैभन्दा उल्लेखनीय ३६० डिग्री, विलासी अनुभव प्रदान गर्ने थलोको रुपमा विस्तार गर्न लागिएको उल्लेख छ ।
ग्राहकहरु पोखरा वा काठमाडौंबाट जोमसोम जान सक्ने छन् । २ हजार ७०० मिटरको उचाइमा रिसोर्ट रहेको छ । शिन्तामणि होटल ब्राण्डका एसिया प्रबन्ध निर्देशक सोकौन चनप्रेडाले नेपालमा प्रवेश गर्न पाउँदा खुसी लागेको बताए ।
यो साझेदारीलाई उच्च मूल्यांकन गर्दै ब्रान्डहरू बीच साझेदार गरी पर्यटकहरुको गन्तव्यमा फलदायी र सफल गठबन्धनको लागि सधै तयार रहेको बताए ।
शेर्पा हस्पिटालिटी ग्रुपका सञ्चालक नामग्याल शेर्पाले नेपाललाई विलासी साहसिक गन्तव्यको रूपमा विश्वबजारमा परिचित गर्ने मौका पाएको बताए । हिमाल नजिककै लक्जरीयस सुविधा पर्यटकहरुलाई अन्तर्राष्ट्रिय स्तरको सेवा सुविधा दिन पाउने अवसर जुरेको उनको टिप्पणी छ ।