काठमाडौं । नियामक बिमा समितिले पुँजी वृद्धिको निर्णय गरेसँगै बिमा कम्पनीहरु आन्तरिक छलफलमा जुटेका छन् । समितिले एक महिनाभित्र पुँजी वृद्धिको योजना बनाएर पेस गर्ने समयसीमा तोकेपछि बिमा कम्पनीहरु आन्तरिक छलफलमा जुटेका हुन ।
चैत १० गते बसेको बिमा समितिको सञ्चाल समितिको बैंकले जीवन र निर्जीवन बिमा कम्पनीहरुको चुक्ता पुँजी वृद्धिको निर्णय गरेको हो । जसमा जीवन बिमा कम्पनीहरुको चुक्ता पुँजी ५ अर्ब र निर्जीवन बिमा कम्पनीको २ अर्ब ५० करोड पुर्याउन निर्णय समितिले गरेको छ ।
समितिले पुँजी वृद्धिको निणर्य गरेपछि प्राथमिक सेयर (आईपीओ)निष्कासन नगरेका नयाँ कम्पनीहरु अप्ठ्यारोमा परेका छन् । नयाँ आएका कम्पनीहरुमा जीवन बिमाका ५ वटा कम्पनीहरुले आईपीओ निष्कासन गर्न बाँकी छ ।
सन नेपाल लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड, महालक्ष्मी लाईफ इन्स्योरेन्स, सिटिजन लाईफ इन्स्योरेन्स, आइएमई लाईफ ईन्स्योरेन्स र रिलायवल लाईफ ईन्स्योरेन्स कम्पनीहरुको आईपीओ निष्कासन हुन बाँकी छ ।
त्यस्तै विदेशी बिमा कम्पनीका नेपालमा रहेका शाखाहरुले नेपाली कम्पनी सरह निर्धारित पुँजी पर्याउनु पर्ने छ । पुँजी नपुर्यासम्म ती कम्पनीहरुले नाफा लैजान नपाउने व्यवस्था छ । विदेशी कम्पनीहरुले पनि नेपाली कम्पनी सरहको निर्धारित पुँजी तोकिएको समयमा नै पुर्याउनु पर्ने भएको छ ।
हालसम्म नेपालमा एउटा जीवन बिमा कम्पनी र २ वटा निर्जीव बिमा कम्पनी विदेशी लगानीका छन् । मेट लाईफले निर्धारित पुँजी २ अर्ब रुपैयाँ पुयाएको भन्दै नाफा विदेशमा लैजाने गरेको छ ।
तर, भारतीय कम्पनी दि ओरियन्टल इन्स्योरेन्सको निर्धारित पुँजी १ अर्ब रुपैयाँ भन्दा कम छ । निर्धारित पुँजीको विषयमा नेपालमा कुरा नहुने हुँदा छलफलको लागि केन्द्रीय कार्यालय पठाएको दि आरिएन्टल इन्स्योरेन्सका सूचना अधिकारी मानबहादुर ढकालले बताए । ‘नेपालमा सञ्चालक समिति पनि हुँदैन हामीले केन्द्रीय कार्यालयमा पत्र पठाएका छौं त्यसपछि मात्रै भन्न सकिन्छ’ उनले भने ।
बिमा कम्पनीहरुमा संस्थापक र सर्वसाधारणको लगानी अनुपात क्रमशः ७०/३० प्रतिशत हुने गरेको छ । आईपीओ जारी गर्न बाँकी ५ वटा जीवन बिमा कम्पनीमा सिटिजन लाईफको १ अर्ब ७५ करोड रुपैयाँ चुक्ता पुँजी छ ।
त्यस्तै आईएमई लाईफको १ अर्ब ४० करोड, महालक्ष्मी लाईफको १ अर्ब ४० करोड, सन नेपाल लाईफको १ अर्ब ४० करोड र रिलायबल लाईफको १ अर्ब ४० करोड चुक्ता पुँजी छ । यी कम्पनीहरुले आईपीओ निष्कासनको तयारी गरेका बेला समितिले पुँजी वृद्धिको योजना ल्याएको छ ।
समितिले एकै पटक १५० प्रतिशतले पुँजी वृद्धि गरेपछि यि कम्पनीका सञ्चालक आन्तरिक छलफलमा जुटेका हुन । पाँचवटै कम्पनीका सञ्चालहरु आन्तरिक छलफलमा जुटे पनि पुँजी वृद्धिको योजनाको खाका बारे अहिले नै भन्न नसकिने आइएमई लाईफ इन्स्योरेन्सक प्रमुख कार्यकारी अधिकृत (सीईओ) कवी फुयाँलले बताएका छन् ।
समितिले पुँजी वृद्धि गर्न नसक्ने कम्पनीले मर्जरमा जानुपर्ने बताएको छ । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले न्यूनतम पुँजी पुर्याउन नसक्ने कम्पनी मर्जमा जानुपर्ने बताउँछन ।
यता कम्पनीका सीईओहरु भने अन्य कम्पनी जस्तो बिमा कम्पनी मर्जरमा जान सहज नहुने बताउछन् । सन नेपाल लाईफका सीईओ राजकुमार अर्यालले भने ‘दीर्घकालिन दायित्व हुने भएकाले जीवन बिमा कम्पनीहरुको मर्जर सहज हुँदैन । अन्तर्राष्ट्रिय अभ्यासलाई हेर्दा पनि त्यस्तै देखिन्छ ।’
समितिले पुँजीवृद्धि गर्ने भनेको छ तर कसरी गर्ने मर्जमा जार्ने, मर्जमा जादा के कस्ता सहुलियत पाउने भन्ने विषयमा स्पष्ट हुन बाँकी रहेकोले अहिले नै भन्न नसकिने उनको भनाई छ ।
‘वैशाख ९ गते हाम्रो वार्षिक साधारणसभा बस्दैछ, सो साधारणसभामा नै आईपीओ निष्काशन र पुँजीवृद्धि गर्ने वा मर्जमा जाने भन्ने छलफल हुने बताउदै सीईओ अर्यालले भने ‘अहिलेनै यहि हुन्छ भनेर भन्न सकिदैन ।’
३९ वटा बिमा कम्पनीहरुमा जीवन बिमातर्फ नेपाल लाइफको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ रहेको छ । त्यस्तै निर्जीवनतर्फ शिखर ईन्स्योरेन्सको सबै भन्दा बढी २ अर्ब २६ करोड रुपैयाँ रहेको छ ।