काठमाडौं । गोल्डम्यान इन्भेस्टमेन्ट कम्पनीबारे थप अनुसन्धानका लागि धितोपत्र बोर्डले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई पत्र पठाएको छ ।
कम्पनीले भड्किलो प्रचार सामग्री राखेर कम्पनी ऐन तथा धितोपत्र ऐनविपरित संस्थापक सेयरधनीको नाममा रकम उठाएपछि बोर्डले वित्तीय अपराधअन्तर्गत थप अनुसन्धानका लागि सीआईबीलाई पत्र लेखेको हो ।
यस कम्पनीविरूद्ध सबैभन्दा पहिले क्यापिटल नेपालले ६ चैतमा समाचार प्रकाशित गरेको थियो । क्यापिटलमा समाचार प्रकाशित भएसँगै धितोपत्र बोर्डले यसलाई गम्भीरतापूर्वक लिएको थियो । बोर्डले गृह मन्त्रालयसँग समन्वय गरी थप अनुसन्धान गर्ने बताएको थियो । अग्रवालले गैरकानुनी रुपमा कम्पनी सञ्चालन गरेर बारेन बफेट बन्ने सपना देखेका थिए ।
धितोपत्र बोर्डले फौजदारी अभियोगअन्तर्गत अनुसन्धानका लागि पत्र लेखेको सीआईबीका प्रवक्ता श्यामकुमार महतोले बताए ।
धितोपत्र बोर्डले वित्तीय अपराध तथा ठगीअन्तर्गत भएकाले फौजदारी अभियोगअन्तर्गत अनुसन्धान गर्न आवश्यक भएको भन्दै सीआईबीलाई पत्र पठाएको छ ।
‘कम्पनी ऐन २०६३ र धितोपत्र ऐन भएमा सम्बन्धित निकायहरुले पनि छानबिन गर्न सक्छन्’, उनले भने, ‘हामीले वित्तीय अपराध र ठगी हो वा होइन भनेर अनुसन्धान गर्छौं ।’
गोल्डम्यान कम्पनीका अध्यक्ष दीपेन्द्र अग्रवालले आफ्नो फेसबुक पेज, कम्पनीको वेबसाइड र युट्युबमा गोल्डम्यान कम्पनीबारे भ्रामक प्रचार राखेका थिए। धितोपत्र बोर्डले अनुसन्धान प्रकृया थालेपछि उनले उक्त भिडियो हटाएका थिए ।
१० वर्षमा १०० गुणा मुनाफा दिने भन्दै गोल्डम्यानले संस्थापक लगानीकर्ताको नाममा १५० रुपैयाँ प्रिमियममा सेयर खरिद गर्न आव्हान गरेको थियो ।
आगामी आर्थिक वर्षभित्र गोल्डम्यानलाई नेप्सेमा सूचीकृत गराउने, ५० वटा नयाँ पब्लिक कम्पनी स्थापना गरी व्यावसायिक सफलता हासिल गर्दै धितोपत्रमा सूचीकृत गराउने, वित्तीय सेवा र सम्पत्ति व्यवस्थापनसम्बन्धी कार्यहरू गर्ने, नेपालको सबैभन्दा धेरै कर तिर्ने कम्पनी बन्ने, सेयरधनीहरूलाई व्यवसाय विस्तार र क्षमता अभिवृद्धिमा सहयोग गर्ने जस्ता कार्यक्रम कम्पनीको मुख्य भिजनअन्तर्गत राखिएको थियो ।
दोस्रो बजारमा एकल लगानीकर्ताले लाभ लिन नसक्ने भन्दै आफ्नो कम्पनीमा लगानी गर्न भिडियोमा अपिल गरिएको थियो । लगानीको जोखिम, लगानीको ज्ञानको अभाव, किन्ने र बेच्ने कौशलताको अभाव, भावनात्मक नियन्त्रण नहुँदा नाफा कमाउन नसक्ने, समयको अभाव, विविधीकरणका लागि लगानीको अभाव हुने भिडियोमा भनिएको थियो ।
यस कम्पनीअन्तर्गत ५० वटा क्षेत्रगतमा लगानीको विविधीकरण गरिने बताइएको छ ।