काठमाडौं । बुद्ध एयरले नयाँ वर्ष २०७९ वैशाख २ गतेदेखि भद्रपुरबाट पोखराको दैनिक सीधा उडान तालिका सार्वजनिक गरेको छ ।
प्रेस विज्ञप्ति जारी गर्दै बुद्धले यस रुटका लागि सुरुवाती भाडादर ६ हजार ९०० रुपैयाँ तोकेको छ ।
बुद्धले पोखराबाट भद्रपुर दिउँसो १ः२५ बजे र भद्रपुरबाट पोखरा दिउँसो ३ बजे उडान भर्ने तालिका भएकाे जनाएकाे छ ।
भद्रपुर–पोखरा–भद्रपुर सीधा उडानले दुवै प्रदेशका बासिन्दा लाभान्वित हुने बुझिएको छ । यस्तै सीमापारि सिलिगुडी, दार्जिलिङ, सिक्किमबाट पनि पर्यटकहरु भित्रिन सजिलो हुनेछ । त्यताबाट आएका पर्यटकहरु भद्रपुरबाट सीधै पोखरा पुग्न सक्नेछन् ।
बुद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेजले यी दुवै गन्तव्यका लागि आकर्षक होलिडे प्याकेजसमेत ल्याएको छ ।
भद्रपुर–पोखरा प्याकेज १५ हजार रहेको छ । २ रात ३ दिनको यसमा प्याकेजमा दुईतर्फी हवाई टिकट, पोखरा एयरपोर्टबाट होटल तथा होटलबाट पोखरा एयरपोर्टसम्म पिक्कअप एन्ड ड्रप सुविधा, वातानुकुलित ट्विन सेयरिङ रुम र बिहानको ब्रेकफास्ट रहेको छ ।
बुद्धले काठमाडौंबाहेक पोखरालाई देशका विभिन्न प्रदेशहरुसँग सीधा उडानमार्फत जोडेको छ । यसअघि पोखरालाई भैरहवा, भरतपुर, नेपालगञ्ज, सिमरा, धनगढी र जनकपुरबाट सीधा उडानले जोडिसकेको छ ।
हाल बुद्धसँग ७२ सिटे एटीआर–७२ जहाज ११, ४२ सिटे एटीआर–४२ जहाज ३ र २ वटा बीचक्राफ्ट जहाज छन् ।