काठमाडौं । अप्रत्यक्ष रुपमा नेपालमा लगानी गरिरहेको अमेरिकन संस्था युएस इन्टरनेसनल डेभलपमेन्ट फाइनान्स कर्पोरेसन (डीएफसी) नेपाल आउन इच्छुक देखिएको छ ।
सरकारले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पास गरेपछि विश्वभर लगानी गरिरहेको संस्था प्रत्यक्ष रुपमा नेपाल भित्रिन चाहेको हो । नेपालले एमसीसी संसदबाट पास गरेपछि अमेरिकी लगानीकर्तामाझ सकारात्मक सन्देश गएकाले डीएफसीले नेपालका ठूला व्यावसायिक घरानासँग लगानी गर्न आफू इच्छुक रहेको भन्दै छलफल गरिरहेको छ ।
तर, डीएफसीले नेपालमा डोल्मा इम्प्याक्ट फन्डमार्फत लगानी गरिरहेको छ । डीएफसीले डोल्मालाई रकम दिई विभिन्न क्षेत्रमा लगानी गरिरहेको छ । साथै त्यसबाट आएको प्रतिफल पनि उसले लिइरहेको छ । अहिले डीएफसी आफैं नेपालमा लगानी गर्न इच्छुक देखिएको छ ।
स्रोतका अनुसार डीएफसी स्वपुँजी साझेदार (इक्विटी पार्टनर) बन्न तथा ऋण लगानी गर्न इच्छुक छ । नेपाली पार्टनरको आवश्यकताअनुसार डीएफसी लगानी गर्न तयार देखिन्छ । स्रोतका अनुसार केही दिनअघि डीएफसीका उच्च अधिकारीहरुको नेपालका व्यावसायिक घरानासँग मिटिङ थियो । उसले नेपालमा प्रत्यक्ष रुपमा लगानी गर्न आफूहरु इच्छुक रहेको सन्देश दिएर गएको छ ।
नेपालमा लगानी ल्याउने विषयमा अप्रिल २६ मा डीएफसीका उच्च अधिकारी र नेपालका व्यावसायिक घरानाका केही अधिकारीसँग छलफल भएको थियो । खासगरी, डीएफसीले ऊर्जा, हेल्थकेयर, पूर्वाधार, साना व्यवसाय तथा महिला उद्यममा लगानी गर्न इच्छुक रहेको बुझिएको छ ।
डीएफसीले विकासशील देशहरुमा निजी पुँजीलाई ल्याउन नयाँ र नवीन वित्तीय उत्पादनमा लगानी गर्दै आएको छ । अमेरिकासँग आर्थिक वृद्धि, स्थायित्व सिर्जना र जीविकोपार्जनमा सुधार गर्न विकासोन्मुख देशहरुमा लगानीलाई समर्थन गर्न थप लचकता अपनाउँदै आएको छ ।
के हो डीएफसी ?
डीएफसी अमेरिकी सरकारको विकास वित्त संस्था हो । यसले विकासोन्मुख विश्वले सामना गरिरहेका सबैभन्दा महत्वपूर्ण चुनौतीहरूको समाधानका लागि वित्तीय क्षेत्रसँग साझेदारी गर्छ । ऊर्जा, स्वास्थ्य सेवा, महत्वपूर्ण पूर्वाधार र प्रविधिलगायत क्षेत्रमा उसले लगानी गर्नाका साथै उदीयमान बजारहरूमा रोजगारी सिर्जना गर्न साना व्यवसाय र महिला उद्यमीहरूलाई वित्तीय सहायता उपलब्ध गराउँदै पर्यावरण, मानव अधिकार र श्रमिक अधिकारहरूको सम्मान गर्छ ।
के अमेरिकी सरकारको एउटा पार्ट हो डीएफसी ?
हो, डीफएसी सन् २०१९ मा स्थापना भएको कम्पनी हो । बेटर युटिलाइजेसन अफ इन्भेस्टमेन्ट लिडिङ टु डेभलपमेन्ट एक्ट पारित गरेर डीएफसी संस्था स्थापित भएको हो । जसले अमेरिकी विकास वित्तलाई सुदृढ र आधुनिक बनायो । निर्माण ऐनले ओभरसिज प्राइभेट इन्भेस्टमेन्ट कर्पोरेसन (ओपीआईसी) र विकास ऋण प्राधिकरणको क्षमतालाई संयोजन गरेको छ । यसअघि युनाइटेड स्टेट्स एजेन्सी फर इन्टरनेसनल डेभलपमेन्ट (युएसएआइडी) मा राखिएको थियो ।
डीएफसीका प्रडक्ट
डीएफसीले विभिन्न तरिकाले लगानी गर्छ । यसले ऋण लगानी, इक्विटी इन्भेस्टमेन्ट, इन्भेस्टमेन्ट फन्ड, सम्भाव्यता अध्ययन, राजनीतिक जोखिम बिमा, प्राविधिक सहायता आदिमा लगानी गर्छ ।
नेपालमा कसरी लगानी गरिरहेको छ डीएफसीले ?
डीएफसीले नेपालमा इक्विटी इन्मेस्टमेन्टको रुपमा मात्रै लगानी गरेको छ । यसले डोल्मा इम्प्याक्ट फन्डमार्फत १ करोड २० लाख डलर इक्विटी लगानी गरेको छ । नेपालबाहेक दक्षिण एसियामा डीएफसीले ठूलो मात्रामा लगानी गरिरहेको छ ।