चितवन । विगत केही दिनदेखि चितवनका फरक–फरक स्थानमा बर्डफ्लू देखिएको छ । पोल्ट्रीको राजधानी भनिने चितवनमा धेरैतिर बर्डफ्लू देखिएपछि नियन्त्रणको प्रयास भइरहेकाे छ ।
भेटेनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका अनुसार जिल्लाको खैरहनी नगरपालिका वडा नं २ स्थित किरणप्रसाद कँडेलको तात्रीवास पशु विकास तथा कृषि अनुसन्धान केन्द्र प्रालि, भरतपुर महानगरपालिका वडा नं ८ को मदनकृष्ण मानन्धरको कमर्सियल लेयर्स फार्म र भरतपुर महानगरपालिका वडा नं २३ मा अवस्थित खेमलाल भुसाल र चन्द्र भुसालको कुखुरा फार्ममा बर्डफ्लू पुष्टि भएको हो ।
यसैगरी भरतपुर महानगरपालिका वडा नं १६ स्थित एजे पोल्ट्री फार्म, भरतपुर २३ का अविशेक रामदामको फार्म, खैरहनी नगरपालिका वडा नं १० स्थित राजु बुर्लाकोटीको कुखुरा फार्म, खैरहनी नगरपालिका वडा नं ३ स्थित ध्रुव अधिकारीको कुखुरा फार्म र खैरहनी नगरपालिका वडा नं ६ स्थित राजाराम पण्डितको कुखुरा फार्ममा बर्डफ्लू देखिएको हो ।
ती फार्ममध्ये कँडेल, मानन्धर र भुसालको फार्मलाई अनुगमन गरी त्यसको परिधि क्षेत्रभित्रका कुखुरा नष्ट गर्ने निर्णय भएको कार्यालयका अधिकृत प्रभात न्यौपानेले जानकारी दिएका छन् । उनका अनुसार अन्य ६ वटा फार्ममा टोलीले अनुगमन गरेर परिधि तय गर्न बाँकी रहेको छ ।
बर्डफ्लू नियन्त्रण समिति चितवनले निर्णय गरेपछि थप ती ठाउँहरूमा कुखुरा नष्ट गरिने उनले जानकारी दिए । ती सबै ठाउँको नमुनाको नतिजा बिहीबार आए पनि जनशक्ति अभावका कारण काममा ढिलाइ भएको उनकाे भनाइ छ ।
यसअघि पनि चितवनमा पाँच ठाउँमा बर्डफ्लू देखिएको थियो ।