पाेखरा । सिभिल बैंकले नगदरहित अभियानलाई निरन्तरता दिँदै कास्कीको वेगनास तालका २२० डुंगा व्यवसायीहरुलाई क्युआर कोड वितरण गरेको छ ।
सो कार्यक्रममा प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल, नेपाल राष्ट्र बैंक पोखरा शाखाका निर्देशक डा. रामशरण खरेल, बेगनास ताल डुंगा व्यवसाय समितिका अध्यक्ष ढकनाथ कँडेल, फेवाताल डुंगा व्यवसायी समितिका अध्यक्ष बुद्धिबहादुर नेपाली, सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेल, फोनपेका एसिस्टेन्ट प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटालगायतको उपस्थिति थियो ।
सो कार्यक्रमको उद्घाटनमा बोल्दै नेपाल राष्ट्र बैंक पोखरा शाखाका निर्देशक डा. रामशरण खरेलले नोट छपाइ गर्दा खर्च हुने तथा बिदिसिने मुद्रा बचाउन पनि नगदरहित अभियान अपरिहार्य कुरा भएको बताए ।
यस्तै नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले नगदरहित अभियानलाई प्रभावकारी बनाउन क्युआर कोडलाई सर्वव्यापी रुपमा लैजानुपर्ने उल्लेख गरे ।
बैंकले आफ्ना ग्राहकहरुलाई क्युआर कोडको प्रयोग गरी विद्युत्तीय प्रणालीमार्फत विभिन्न किसिमका नगदरहित भुक्तानी सेवा उपयोग गर्न प्रोत्साहन गर्दै आएको छ । यसरी नै विभिन्न व्यापार÷व्यवसायहरुमा क्युआर कोडलाई अझ सशक्त बनाउन आगामी दिनहरुमा पनि यस्तै खालको सेवाहरु ल्याउँदै जाने बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेलले बताए ।
बैंकले ११५ शाखा, ११ एक्सटेन्सन काउन्टर तथा ९७ एटिएममार्पmत बैकिङ सेवा प्रदान गरिरहेको छ ।