काठमाडाैं । मुस्ताङ, जोमसोममा ‘प्रधानसेनापति प्रथम अन्तर्राष्ट्रिय हाई अल्टिच्युट ट्राइ एडभेन्चर कम्पिटिसन’ हुने भएको छ ।
आगामी जेठ ७ गते हुने प्रतियोगितामा स्वदेशका १५ र विदेशी १० टिमको सहभागिता रहनेछ ।
प्रतियोगिताका बारेमा जानकारी दिन नेपाली सेना, सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रद्वारा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितामा दौड, साइक्लिनिङ र आरोहण विधा समावेश गरिएको जानकारी दिइएकाे हाे ।
पुरुष र महिला विधाका लागि बेग्ला–बेग्लै आयोजना हुने प्रतियोगितामा सहभागी टिमले १०० मिटर आरोहण, ४.७५ दौड र १५.३५ साइक्लिनिङ दूरी पूरा गर्नुपर्ने छ । अन्तर्राष्ट्रिय प्रतियोगीका रूपमा भारत, पाकिस्तान, श्रीलङ्का, बेलायत, बङ्गलादेश, अमेरिका, माल्दिभ्स, दक्षिण कोरिया, चीन र इजरायलका सैनिक टोलीले भाग लिने सेनानी राजीव चन्दले जानकारी दिए ।
प्रतियोगितमा पुरुषतर्फ प्रथम, द्वितीय र तृतीय हुने टोलीलाई क्रमशः ३ लाख, २ लाख र १ लाख रुपैयाँ नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिनेछ । महिलातर्फ पहिलो, दोस्रो र तेस्रो हुने टिमले पनि क्रमशः १ लाख, ७५ हजार र ५० हजार रुपैयाँ नगद र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिता २ हजार ७०० मिटरदेखि ३ हजार २०० मिटर उचाइसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा भाग लिन चाहने टिमका लागि यही चैत १९ र २० गते दर्ताका लागि समय तोकिएको छ । एड्भेन्चर स्पोर्टस् उच्चस्तरको जोखिम समावेश रहेको खेल हो । सेनाले एड्भेन्चर स्पोर्टस्अन्तर्गत वार्षिक २ अन्तर्राष्ट्रियस्तरको एड्भेन्चर दौड आयोजना गर्दै आएको छ ।
नेपालमा सहासिक खेलकूदका माध्यमबाट पर्यटन प्रवर्धनमा योगदान पुर्याउने र नेपाली खेलाडीको साहसिक खेलमा क्षमता अभिवृद्धि गर्ने हेतुले प्रतियोगिता आयोजना गरिएको पहाे ।