काठमाडौं । नियमित रुपमा बिजुली दिन नसक्ने भए औद्योगिक क्षेत्रमा विद्युतभार कटौती (लोडसेडिङ) तालिका सार्वजनिक गर्न निजी क्षेत्रले माग गरेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले शुक्रबार संयुक्त प्रेश विज्ञप्ति जारी गरी विद्यमान समस्याको तत्काल समाधानका लागि नियमितरूपमा भारतीय बजारबाट विद्युत खरिद गरी उद्योगहरूलाई निर्वाध उपलब्ध गराउन माग गरेको छ । यदी त्यो संभव नभए उद्योगहरूमा लोडसेडिङ तालिका सार्वजनिक गर्न प्राधिकरणलाई अनुरोध गरेका छन् ।
निजी क्षेत्रका ऊर्जा उत्पादकहरूसँगै थप ऊर्जा उत्पादन गर्न सक्ने क्षमता भएकाले प्राधिकरणले तत्काल छलफल गरी समाधानको उपाय निकाल्नुु पर्ने, आयातित विद्युतको गुणस्तरमा ध्यान दिनुुपर्नेतर्फ पहल गर्न निजी क्षेत्रले प्राधिकरणलाई आग्रह गरेका छन् ।
विद्युतको नियमित आपूर्ति सुरु भएसँगै उत्साहित उद्योगीहरू पछिल्लो समयको अनियमित विद्युत आपूर्तिबाट चिन्तित हुन थालेका छन् । औद्योगिक क्षेत्रहरूमा विद्युतको आपूर्ति अनियमित भएदेखि उद्योगीहरूमा अन्यौलता बढ्दै गएको संयक्त विज्ञप्तिमा उल्लेख छ ।
अनियमित विद्युत आपूर्तिका कारण बुटवल–भैरहवा, बारा–पर्सा, सुनसरी–मोरङ लगायतका औद्योगिक करिडोरका उद्योगहरू सञ्चालन गर्न नसक्ने अवस्था आएको जानकारी निजी क्षेत्रले गराएको छ ।
विद्युतमा देखिएको ट्रिपिङ, लो भोल्टेज लगायतका समस्याबाट नियमित तालिकाअनुसार उद्योग सञ्चालन गर्न नसक्ने, अपरझट विद्युत आपूर्ति बन्द हुँदा करोडौं पर्ने मेसिनहरूमा क्षति पुुग्ने, उद्योग सञ्चालन नहुँदा कामदार कर्मचारीको तलब ज्याला, उत्पादन कटौती हुँदा सामान डेलिभरी, बैंकको चर्को ब्याज र साँवा भुक्तानीमा समस्या परेको निजी क्षेत्रले जानकारी गराएको छ ।
जुनसुकै मूल्यमा पनि विद्युत खरिद गरी औद्योगिक क्षेत्रमा ऊर्जा अभाव हुन नदिने र लोडसेडिङ नगर्ने भनी विद्युत प्राधिकरणले गरेको प्रतिवद्धताको पनि निजी क्षेत्रले स्मरण गराएको छ ।
औद्योगिक क्षेत्रमा भइरहेको विद्युतको अनियमित आपूर्तिले नेपालको औद्योगीकरणको यात्रामा गम्भीर धक्का दिएको छ । एकातर्फ प्राधिकरणले नै विद्युत खपत बढाउन आग्रह गर्ने र अर्कोतर्फ विना सूचना घण्टौं विद्युत आपूर्ति अवरुद्ध पार्नुले थप चिन्ता बढाएको छ । यस अवस्थाको अन्त्य गरी औद्योगिक वातावरण निर्माणतर्फ ध्यान दिन सरोकारवालाहरूमा आग्रह गरिएको छ ।
सरकारको पूर्ण स्वामित्वको सार्वजनिक संस्थानले नाफा/घाटा नहेरी औद्योगीकरणको वातावरण निर्माणमा ध्यान दि“दा समग्र अर्थतन्त्रको विकासमा योगदान पुग्ने बुझाइ निजी क्षेत्रको छ ।
‘विद्युत उत्पादन वृद्धि गरी उद्योगहरूलाई सस्तो दरमा उपलब्ध गराउने र समग्र औद्योगिक उत्पादनको लागत न्यूनीकरणमा ध्यान दिनुपर्ने बेलामा उद्योगहरूलाई विद्युतको मूल्यवृद्धिको प्रस्ताव गरिनु दुर्भाग्यपूर्ण छ’ विज्ञप्तिमा भनिएको छ ।
उत्पादन लागत निरन्तर बढीरहेको अहिलेको अवस्थामा पुनः लोडसेडिङको समस्याले मुलुकको निर्यातमा गम्भीर धक्का लाग्ने र यसले समग्रमा मुलुकको शोधनान्तर घाटालाई थप फराकिलो बनाउने निजी क्षेत्रले स्पष्टपारेको छ ।
अर्थतन्त्रको विकासका लागि महत्वपूर्ण आधारको रूपमा रहेको विद्युतको नियमित आपूर्ति हुन नसक्ने हो भने सरकारको आर्थिक वृद्धिको लक्ष्यमा पनि गम्भीर असर पुग्ने हाम्रो निश्कर्ष निजी क्षेत्रका संगठनहरुको छ ।
उच्च लागतमा वस्तु उत्पादन गर्दा त्यसले प्रतिस्पर्धी क्षमता गुमाउँदा समग्र निर्यात प्रभवित हुनेछ । उच्च लागतको वस्तु आपूर्ति गर्दा बजारमा सिर्जना हुने मूल्यवृद्धिले समग्र जनजीवन प्रभावित हुनेतर्फ बेलैमा ध्यान दिन आग्रह गरिएको छ ।
यस्तै बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकमको अभाव र चर्को ब्याजबाट थलिएका उद्योग व्यवसायलाई अघोषित लोडसेडिङको अर्को समस्याले थप संकटतर्फ धकेलेको निजी क्षेत्रले जानकारी गराएको छ ।
यो समस्या तत्काल समाधान नभएमा नेपालमा औद्योगिक वातावरणमा थप नकारात्मक सन्देश प्रवाह हुने र जसले स्वदेशी तथा विदेशी लगानीकर्तालाई समेत निरुत्साहित गर्ने भनाई निजी क्षेत्रको छ ।