काठमाडौं । धितोपत्र बोर्डले दीपेन्द्र अग्रवाल र उनको कम्पनी गोल्डम्यान इन्भेस्टमेन्ट कम्पनीविरुद्ध छानबिन प्रक्रिया थालेपछि सामाजिक सञ्जालबाट भ्रामक भिडियो सामग्री हटाएको छ ।
गोल्डम्यान कम्पनीले आफ्नो वेबसाइटमा १० वर्षमा १०० गुणा प्रतिफल दिने आश्वासनसहितको सामग्री हटाएको हो ।
गोल्डम्यानका अध्यक्ष दीपेन्द्र अग्रवालले पनि आफ्नो फेसबुकबाट पनि उक्त सामग्री हटाएका छन् । धितोपत्र बोर्डले गृह मन्त्रालयसँग अनुसन्धानका लागि समन्वय गरिरहका बेला नै उक्त सामाग्री हटाएको हो ।
पूर्वउपप्रधानमन्त्री तथा जसपा अध्यक्ष उपेन्द्र यादवको फोटो देखाई प्रचार गरिएको उक्त भिडियो सामग्री उनले हटाएका हुन् ।
अहिले धितोपत्र बोर्डमा गोल्डम्यानविरुद्ध उजुरीहरु पर्न थालेपछि प्रमाण मेटाउने प्रयास गरिएको छ ।
यस्ताे थियाे हटाइएकाे भिडियाे सामग्रीः
अग्रवालले आफ्नो फेसबुक पेज, कम्पनीको वेबसाइट र युट्युबमा कम्पनीबारे भ्रामक प्रचार राखेका थिए । भिडियोको कभर निकै भड्किलो बनाइएको थियो । प्रचारमा १० जनालाई ट्याग÷मेनसन गरेका व्यक्तिमध्ये १ जनालाई गोलाप्रथा (लक्की ड्र) मार्फत छनोट गरी १० लाख रुपैयाँ पुरस्कार दिनेसमेत बताइएको थियो । र, यसको म्याद चैतसम्मलाई तोकिएको थियो ।
प्रिमियमा उठाइएको पुँजीलाई आयआर्जन, रोजगारी, उत्पादन वृद्धिका क्षेत्रमा लगानी गर्ने कम्पनीको परिचयमा उल्लेख छ । लगानीकर्तालाई उच्च आर्थिक लाभ दिलाउने गरी स्वच्छ पारदर्शी र व्यावसायिक ढंगले कारोबार सञ्चालन गर्नेसमेत उल्लेख छ ।
आगामी आर्थिक वर्षभित्र गोल्डम्यानलाई नेप्सेमा सूचीकृत गराउने, ५० वटा नयाँ पब्लिक कम्पनी स्थापना गरी व्यावसायिक सफलता हासिल गर्दै धितोपत्रमा सूचीकृत गराउने, वित्तीय सेवा र सम्पत्ति व्यवस्थापनसम्बन्धी कार्य गर्ने, नेपालको सबैभन्दा धेरै कर तिर्ने कम्पनी बन्ने, सेयरधनीलाई व्यवसाय विस्तार र क्षमता अभिवृद्धिमा सहयोग गर्ने जस्ता कार्यक्रम कम्पनीको मुख्य भिजनअन्तर्गत पर्ने भनिएको थियो ।
दोस्रो बजारमा एकल लगानीकर्ताले लाभ लिन नसक्ने भन्दै आफ्नो कम्पनीमा लगानी गर्न भिडियोमा अपिल गरिएको छ । लगानीको जोखिम, ज्ञानको अभाव, किन्ने र बेच्ने कौशलाभाव, भावनात्मक नियन्त्रण नहुँदा नाफा कमाउन नसक्ने, समयको अभाव, विविधीकरणका लागि लगानी अभाव हुने उक्त हटाइएको भिडियोमा उल्लेख गरिएको थियो ।