बीबीसी । अमेरिकी राष्ट्रपति जो बाइडनले उच्च ऊर्जा मूल्यलाई घटाउने प्रयास स्वरूप अमेरिकी रणनीतिक भण्डारहरूबाट ठूलो परिमाणमा तेल निकाल्न आदेश दिएका छन्।
आउँदो ६ महिनामा १८ करोड ब्यारलसम्म तेल निकालिने बताइएको छ जुन सन् १९७४ मा त्यस्तो भण्डार सिर्जना गरिएयताकै उच्च हो।
युक्रेनमा जारी युद्धले सिर्जना गरेको आपूर्ति सङ्कटमाझ बाइडनका त्यस्तो कदमका खबरहरू आउन थालेसँगै तेलको मूल्य घटेको छ।
तर, विश्लेषकहरूले दैनिक १० लाख ब्यारलजति तेल निकालेर ऊर्जा सङ्कट समाधान नहुने बताएका छन्।
यस्तो प्रयासले विश्वव्यापी अभावका लागि अस्थायी समाधान मात्र दिने तर रुसबाट रोकिएको आपूर्तिको अभाव पूर्ति नहुने एकजना बीबीसी संवाददाता बताउँछन्।
तर राष्ट्रपति बाइडनले अमेरिकी तेल आपूर्ति बढाउन थप कदमहरू चालिने बाचा गरेका छन्।
उनले यो वर्षको अन्त्यसम्ममा आन्तरिक उत्पादन बढ्नुअघि पछिल्लो कदम एउटा सेतुको रूपमा काम गर्ने बताएका छन्। रुस साउदी अरबपछिको संसारकै सबैभन्दा ठूलो तेल आपूर्तिकर्ता हो।
बाइडनको घोषणा लगत्तै बजार मूल्यमा केही प्रभाव परेका छन्।
वेस्ट टेक्सस इन्टरमिडिएट ७ प्रतिसतले झरेर प्रतिब्यारल १०० डलर पुगेको थियो। त्यस्तै ब्रेन्ट क्रुड झण्डै ५.४ प्रतिशतले झरेर १०७ डलर पुगेको थियो।
ऊर्जाको बढ्दो मूल्य अमेरिकासहित अहिले संसारभर एउटा राजनीतिक मुद्दा बनेको छ। अमेरिकामा नोभेम्बरमा सङ्घीय संसद्को चुनावहरू हुँदैछन्।
अमेरिकी रणनीतिक पेट्रोलियम भण्डार सन् १९७० को दशकको ऊर्जा सङ्कट लगत्तै सिर्जना गरिएको हो।ती भण्डारहरू टेक्सास र लुइजियाना राज्यको जमिनमुन्तिर अवस्थित नुनिला विशाल गुफाहरूमा छन्।
ती भण्डारमा २५ मार्चसम्मको विवरण अनुसार ५६.८ करोड ब्यारल तेल छ जहाँ सन् २००९ ताका सबैभन्दा उच्च ७० करोड ब्यारल पुगेको थियो।अन्तर्राष्ट्रिय ऊर्जा निकायले विश्वभरि यो वर्ष दैनिक १० करोड ब्यारल पेट्रोलियम र तरल इन्धनहरू खपत हुने प्रक्षेपण गरेको छ।