काठमाडौं । प्रस्तावित ६७९ मेगावाटको तल्लो अरुण जलविद्युत आयोजना लागतको हिसाबले सस्तो बनेको छ । आयोजना बनाउन कुल ७६ अर्ब ७४ करोड रुपैयाँ (४७ अर्ब ९६ करोड ७८ लाख भारु) लाग्ने विकासकर्ता भारतीय कम्पनी एसजेबीएन लिमिटेडले तयार पारेको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) ले देखाएको छ ।
आयोजनाको प्रतिमेगावाट लागत ११ करोड ३० लाख रुपैयाँ देखिएको छ । प्रतिमेगावाट लागतका हिसाबले यो आयोजना सस्तो भएको छ । सस्तो आयोजना भएकाले यसको प्रतिफलदर उच्च देखिएको छ ।
निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो आयोजनाबाट बिजुली उत्पादन भएर बाहिर आउने पानीलाई सीधै तल्लो अरुणको सुरुङमा जाने भएकाले आयोजनाले बाँध बनाउनु पर्दैन । यही कारणले पनि लागत सस्तो पर्न गएको हो ।
यस्तै भारतमा बिजुली निकासी गर्न प्रसारण लाइनमा थप लगानी गर्नुपर्दैन । अहिले अरुण तेस्रोले बनाइरहेको दिर्दिङ–ढल्केबर सीतामढी ४०० केभी प्रसारण लाइन बनाइरहेको छ । तल्लो अरुणलाई प्रसारण लाइन निर्माणको दायित्व पर्दैन ।
आयोजनाबाट वार्षिक २ अर्ब ९२ करोड १० लाख युनिट बिजुली उत्पादन हुने डीपीआरमा उल्लेख छ । एसजेबीएनले तयार पारेको डीपीआर बिहीबार बसेको लगानी बोर्डको ५० औं बैठकले स्वीकृत गरेको छ ।
डीपीआर स्वीकृत भएकाले आयोजना विकास सम्झौता (पीडीए) को चरणमा प्रवेश गरेको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्टले बताए । उनका अनुसार पीडीएको प्रारम्भिक चरण सुरु भएको छ । लगानी स्वीकृति र आयोजना बनाउन लगानी जुटाउने काम सुरु हुने छ ।
भारत निकासीका लागि आयोजना निर्माण हुन लागेको हो । अरुण तेस्रो र तल्लो अरुणबाट गरी कुल १५७९ मेगावाट बिजुली उत्पादन हुनेछ । नेपाललाई निःशुल्क दिएर बाँकी रहेको ११३२ मेगावाट बिजुली भारतमा निकासी हुनेछ ।
२०७७ माघ १६ गते बसेको लगानी बोर्डको ४६ औं बैठकले सार्वजनिक–निजी साझेदारी (पीपीपी) अवधारणअन्तर्गत आफै निर्माण सञ्चालन र हस्तान्तरण (बुट) मोडलमा विकास गर्न तल्लो अरुण आयोजना एसजेबीएनलाई छनौट गरेको थियो ।
गएको असार २७ गते आयोजना निर्माणका लागि लगानी बोर्ड र विकासकर्ता एसजेबीएनबीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको थियो ।
आयोजनाबाट नेपालले थप २१ प्रतिशत अर्थात १४२ मेगावाट निःशुल्क ऊर्जा पाउने छ । अरुण तेस्रोबाट नेपालले २१.९ प्रतिशत अर्थात १९८ मेगावाट बिजुली निःशुल्क पाउँदै छ । अरुण तेस्रो र तल्लो अरुणबाट नेपालले विना लगानी ४४७ मेगावाट निःशुल्क ऊर्जा पाउने छ ।
एसजेबीएन सतलज जलविद्युत निगम लिमिटेडको सहायक एवं भारत सरकार स्वामित्वको कम्पनी हो । अरुण तेस्रोको काम आधा सकिएको छ ।
अरुण तेस्रो आयोजना अत्यधिक विद्युतको माग हुने सुक्खा मौसममा पनि दैनिक ६ घण्टा पानी जम्मा गरेर बिजुली उत्पादन गर्न सक्ने अर्धजलाशय (पिकिङ रन अफ रिभर) आयोजना हो ।
अरुण तेस्रोबाट बिजुली उत्पादन भएको पानी सीधै तल्लो अरुणको सुरुङमा जानेछ । अरुण तेस्रोले तल्लो अरुणलाई रेगुलेट गर्नेछ । संखुवासभा र भोजपुरमा पर्ने आयोजनाको करिब १५ किलोमिटर मुख्य सुरुङ निर्माण गर्नुपर्नेछ ।