काठमाडौं । स्वदेशी लगानीमा नेपालमा नयाँ सिमेन्ट उद्योग आउने भएको छ । सूर्यतारा सिमेन्ट उद्योगले १४ अर्ब २७ करोड ५० लाख रुपैयाँ कारखाना स्थापना र क्लिंकर उत्पादन पूर्वाधारमा लगानी गर्ने भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बिहीबार बसेको लगानी बोर्डको ५० औं बैठकले निजी क्षेत्रबाट स्थापना भएको सूर्यतारा सिमेन्टको लगानी स्वीकृत गरेको हो । लगानी स्वीकृत भएकाले सूर्यतारालाई उद्योग निर्माण, सञ्चालन एवम् व्यवस्थापनका बाटो खुलेको बोर्डले जनाएको छ ।
मुकुन्द तिम्सिनाको मुख्य लगानीमा सूर्यतारा सिमेन्ट उद्योग आउन लागेको हो । सूर्यतारा कर्णाली प्रदेशको पहिलो सिमेन्ट उद्योग बन्ने भएको छ । सुर्खेत पञ्चपुरीमा कारखाना स्थापना हुने छ । उद्योगले दैनिक ३ हजार टन सिमेन्ट उत्पादन गर्ने छ ।
विस्तृत अध्ययन भएर कारखानको पूर्वाधार तयारपछि उद्योग सञ्चालमा आउने छ । डेढ वर्षभित्र सिमेन्ट उद्योग सञ्चालनमा आउने बोर्डले जनाएको छ ।
यसैगरी बोर्ड बैठकले नवलपरासीको बर्दघाटमा रासायनिक मल कारखाना स्थापनाका लागि समझदारी गरी विस्तृत सम्भाव्यता अध्ययनका लागि जर्मनीको डीआईजी जीएमबीलाईलाई अनुमतीपत्र दिने निर्णय गरेको छ ।
बैठकले तल्लो अरुण जलविद्युत परियोजनाका सम्बन्धमा प्रस्तावक कम्पनीले पेश गरेको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) स्वीकृत गरेको छ ।
९०० मेगावाटको माथिल्लो कर्णाली जलविद्युत परियोजनाको वित्तीय व्यवस्थापनको म्याद थप सम्बन्धी विषयमा अध्ययन गरी प्रतिवेदन पेश गर्न राष्ट्रिय योजना आयोगको उपाध्यक्षको अध्यक्षतामा गठित समितिले पेश गरेको प्रतिवेदनको आधारमा विकासकर्तासँग वार्ता गरी समझदारीको निमित्त बोर्ड बैठकमा पेश गर्न लगानी बोर्डको कार्यालयलाई निर्देशन दिएको छ ।
बैठकले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल परियोजनाको विकास तथा लगानीको ढाँचा र अरुण ३ जलविद्युत परियोजनाबाट प्राप्त हुने निशुल्क ऊर्जा बिक्री तथा सो बाहेकको अतिरिक्त ऊर्जा खरिद गर्ने विषयमा विस्तृत अध्ययन गरी वोर्डसमक्ष प्रतिवेदन पेश गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा दुई छुट्टाछुट्टै अध्ययन समिति गठन गरेको छ ।
बैठकमा प्रधानमन्त्री देउवाले बढ्दो व्यापार घाटा, घट्दो विप्रेषण आप्रवाह तथा कसिलो तरलताको समस्याबाट उन्मुक्ति पाउन गुणस्तरीय लगानी भित्र्याउनु पर्नेमा जोड दिए । उनले राष्ट्रको आर्थिक समृद्धिको जग निर्माण गर्न ज्ञान, सीप, पुँजी र प्रविधिको अहम् भूमिका रहने भएकाले पुँजी र प्रविधि भित्र्याउन लगानी बोर्डको कार्यालयलाई विशेष पहल गर्न निर्देशन दिए ।
बैठकमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्टले अघिल्लो बोर्ड बैठकले गरेका निर्णयहरुको कार्यान्वयन अवस्था, परियोजना कार्यान्वयन, सहजीकरण तथा विकास एवं संस्थागत सुधारका सम्बन्धमा भएका प्रगति र लगानी बोर्डको कार्यालयले अगाडि बढाएका गतिविधिहरुको बारेमा जानकारी गराएका थिए ।