काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले हकप्रद र बोनस सेयरबाट चुक्तापुँजी ५ अर्ब रुपैयाँ पुर्याउने भएको छ । नियामक बिमा समितिले जीवन बिमा कम्पनीहरुलाई एक वर्षभित्र चुक्तापुँजी बढाएर न्यूनतम ५ अर्ब रुपैयाँ पुर्याउन निर्देशन दिएपछि प्राइमले ४० प्रतिशत हकप्रद सेयर जारी र बाँकी रकम बोनस सेयर वितरणबाट पुँजीवृद्धि गर्ने योजना (क्यापिटल प्लान) बिमा समितिमा पेस गर्न लागेको हो ।
समितिले सबै बिमा कम्पनीहरुलाई १ महिनाभित्र पुँजीवृद्धिको योजना बनाएर पेस गर्नुपर्ने समय सीमा तोकेको छ । सोहीअनुसार अहिले बिमा कम्पनी सञ्चालकहरु आन्तरिक तयारीमा जुटेका छन् ।
हकप्रद र बोनस सेयरबाट समितिले तोकेको न्यूनतम पुँजी बढाउने योजना रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार भट्टराईले बताए ।
‘पुँजीवृद्धि योजना बनाउन सञ्चालक समितिमा एक चरणको छलफल भइसकेको छ । छिट्टै बोर्ड बैठक बसेर योजना बनाउँछौं’, उनले भने, ‘हामीले हकप्रद र बोनस सेयर वितरण गरी पुँजी ५ अर्ब रुपैयाँ पुर्याउने योजना समितिमा पेस गर्नेछौं । तर, मर्जमा जाने सोचमा छैनौं ।’
हाल प्राइम लाइफको चुक्तापुँजी २ अर्ब ७७ करोड रुपैयाँ छ । कम्पनीले अब थप २ अर्ब २३ करोड रुपैयाँ चुक्तापुँजी बढाउनुपर्ने छ । गत आर्थिक वर्ष ०७७/०७८ को नाफाबाट १५ प्रतिशत बोनस सेयर दिने निर्णय भइसकेको छ भने चालू आवको ०७८/०७९ मा पनि १५ प्रतिशत बोनस सेयर दिने पैसा बिमा कोषमा रहेको सीईओ भट्टराईले बताए ।
२ वर्ष १५/१५ प्रतिशत बोनस सेयर दिँदा कम्पनीको पुँजी ३ अर्ब ६६ करोड रुपैयाँ पुग्नेछ । अपुग १ अर्ब ३३ करोड रुपैयाँ पुँजीका लागि ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने तयारी प्राइम लाइफको छ ।
समितिले गत बिहीबार २०७९ चैतभित्र न्यूनतम ५ अर्ब रुपैयाँ पुर्याउन कम्पनीहरुलाई निर्देशन दिएको छ । बोनस वा हकप्रद सेयर जारी गरेर भए पनि तोकिएको पुँजी पुर्याउनुपर्ने र नसक्ने जति एक–आपसमा गाभिने (मर्ज) मा जानुपर्नेछ ।
समितिले एकै पटक १५० प्रतिशतले बिमा कम्पनीहरुको पुँजीवृद्धि गरेपछि नयाँ कम्पनीहरु सकसमा परे पनि पुराना कम्पनीहरुलाई भने त्यति समस्या देखिएको छैन ।
२०७४ सालमा अनुमति पाएका नयाँ बिमा कम्पनीहरुलाई पुँजीवृद्धि गर्न सकस भए पनि पुराना कम्पनीहरु भने ४० देखि ५० प्रतिशतसम्म हकप्रद र २ वर्षको बोनस सेयर दिएर उक्त पुँजी पुर्याउने तयारीमा छन् ।
प्राइमका (सीईओ) भट्टराईले आफ्नो कार्यकालमा ४ पटक १५ प्रतिशत र ४ पटक साढे १२ प्रतिशत गरी ८ वर्षमा ८ पटक सेयरधनीलाई बोनस सेयर दिएको बताउँदै समितिले तोकेको ५ अर्ब रुपैयाँ पुँजी पुर्याउन प्राइमलाई गाह्रो नहुने बताए । कम्पनीको वित्तीय अवस्था पनि सन्तोषजनक रहेको सीईओ भट्टराईको भनाइ छ ।
कम्पनीले गत आवमा १ अर्ब २० करोडको प्रथम बिमाशुल्क संकलन गरेको छ । त्यस्तै हालसम्म २४ अर्ब ८३ करोड कुल बिमाशुल्क आर्जन गरेको छ ।
पुँजीका हिसाबले १९ वटा जीवन बिमा कम्पनीमा तेस्रो नम्बरमा रहेको रहेको प्राइम लाइफले भुक्तानीमा आफूलाई पहिलो भएको दाबी गरेको छ । यसको १६ अर्ब ६२ करोड रुपैयाँको जीवन बिमा कोष रहेको छ । कम्पनीका देशभर ५२ वटा शाखा, ९० उपशाखा र १६० संकलनकेन्द्र छन् ।
यद्यपि समितिले हकप्रदको सीमा तोकेको छैन । ४० देखि ५० प्रतिशतसम्म हकप्रद सेयर दिएर पुँजी पर्याउन सक्ने कम्पनीलाई सहज भए पनि २ अर्ब रुपैयाँ पनि पुँजी नपुगेका र प्राथमिक सेयर (आईपीओ) समेत निकाल्न नपाएका कम्पनीलाई भने समितिको निर्देशनले अप्ठ्यारो पने देखिन्छ ।