चितवन । चितवनमा महिला उद्यमीको सङ्ख्या बढ्दो छ । महिलाका नाममा उद्योग सञ्चालन गर्दा दर्तादेखि छुटसम्म सस्तो पर्ने भएकाले पनि महिला उद्यमीहरुको सङ्ख्या बढ्दै गएको हो ।
घरेलु तथा साना उद्योग कार्यालय चितवनका अनुसार चालू आर्थिक वर्ष २०७८/७९ को दुई चौमासिकमा जिल्लामा ९ सय ५८ महिला उद्यमी थपिएका छन् । जिल्लामा ५ सय ८९ जना पुरुष उद्यमी थपिँदा महिला उद्यमीको सङ्ख्या लगभग दोब्बरले थपिएको हो ।
घरेलु तथा साना उद्योग कार्यालय चितवनका सूचना अधिकारी नारायणप्रसाद खनालका अनुसार चालू आर्थिक वर्षको पहिलो आठ महिनामा जिल्लामा १ हजार ३ सय ७९ उद्योग दर्ता भएका छन् । गत साउनदेखि फागुनसम्म जिल्लामा सबैभन्दा बढी कृषि तथा वनजन्यमा आधारित उद्योगहरु दर्ता भएका छन् ।
सो अवधिमा जिल्लामा ९ सय ३४ कृषि तथा वनजन्यमा आधारित उद्योग दर्ता भएका छन् । तीमध्ये ६ सय ४९ महिला र ३ सय ४४ उद्योग पुरुषका नाममा दर्ता भएको सूचना अधिकारी खनालले जानकारी दिए। यी उद्योगले २ हजार ६ सय जनालाई रोजगारी सिर्जना गरेको उनकाे भनाइ छ ।
त्यस्तै जिल्लामा सेवामूलक प्रकृतिका २ सय ४५ उद्योग दर्ता भएका छन् । तीमध्ये १ सय ७८ महिला तथा ८० पुरुष उद्यमी छन् । यी उद्योगले ७ सय ५७ जनालाई रोजगार सिर्जना गरेको सूचना अधिकारी खनालले बताए ।
चालू आर्थिक वर्षको पहिलो ८ महिनामा १ सय ८६ उत्पादनमूलक उद्योग दर्ता भएको उल्लेख गर्दै उनले ती उद्योगमा १ सय २३ महिला र १ सय ५८ पुरुष उद्यमी रहेको जानकारी दिए । उनका अनुसार सो अवधिमा दर्ता भएका उत्पादनमूलक उद्योगले १ हजार ४० जनालाई रोजगार प्रदान गरेको छ । त्यसैगरी जिल्लामा पछिल्लो आठ महिनामा सबैभन्दा कम पर्यटनमूलक उद्योग दर्ता भएका छन् ।
घरेलु तथा साना उद्योग कार्यालय चितवनका अनुसार जिल्लामा १४ वटा पर्यटनमूलक उद्योग दर्ता भएका छन् । ती उद्योगमा आठ महिला र ६ पुरुष उद्यमीको लगानी छ । पर्यटनमूलक उद्योगमा ५३ जनाले रोजगार पाएको कार्यालयले जनाएको छ ।
चालु आवको पहिलो आठ महिनामा घरेलुको प्राइभेट फार्मतर्फ उत्पादनमूलक ६, कृषि तथा वनजन्य नौ र सेवामूलक एक गरी जम्मा १६ उद्योग दर्ता भएका सूचना अधिकारी खनालले जानकारी दिए । उनका अनुसार साना उद्योगतर्फ प्राइभेट फार्म १ हजार २७३, साझेदारी फार्म ३१ र प्रालि ५९ वटा दर्ता भएका छन् । यस अवधिमा लघुउद्यम भने दर्ता नभएको उनको भनाइ छ ।
जिल्लामा थपिएका एक हजार ३ सय ७९ उद्योगमा रु तीन अर्ब ५३ करोड ९३ लाख ९४ हजार पूँजी लगानी भएको छ । तीमध्ये कृषि तथा वनजन्य उद्योगमा २ अर्ब १७ करोड २७ लाख ६५ हजार रूपैयाँ, सेवामूलक उद्योगमा ४९ करोड ५९ लाख ७० हजार रूपैयाँ, उत्पादनमूलक उद्योगमा ८३ करोड ९० लाख २२ हजार रूपैयाँ तथा पर्यटनमूलक उद्योगमा ३ करोड १६ लाख ३७ हजार रूपैयाँ लगानी भएको छ । जिल्लामा नयाँ उद्योग दर्ता हुँदा ३ करोड ६३ हजार रूपैयाँ राजश्व प्राप्त भएको सो कार्यालयले जनाएको छ ।
दर्ता भएका उद्योगमध्ये कृषि तथा वनजन्यबाट २ करोड ४१ लाख रूपैयाँ, सेवामूलकबाट ३० लाख ६६ हजार रूपैयाँ, उत्पादनमूलकबाट २७ लाख ११ हजार रूपैयाँ तथा पर्यटनमूलक उद्योगबाट १ लाख ८५ हजार रूपैयाँ राजश्व सङ्कलन भएको सूचना अधिकारी खनालले बताए।