काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले औद्योगिक क्षेत्रमा लोडसेडिङ गरेपछि धमाधम उत्पादन कटौती हुन थालको छ । यस्तो अवस्थामा सरकारले तत्काल उद्योगमा विद्युत् उपलब्ध गराउन प्राधिकरणलाई निर्देशन दिएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको वित्तीय विवरण ऋणात्मक हुने देखेपछि भारतबाट विद्युत् आयात नगर्दा उद्योगको लाइन काटिएको हो । लाइन काटिएपछि विगत एक हप्तादेखि उद्योग पूर्णरुपमा बन्द छन् ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य आकासिएका बेला डिजेल तथा फर्नेक्स आयलको प्रयोग गरी बिजुली निकालेर उद्योग चलाउने अवस्था नभएपछि उद्योगीहरु उद्योग बन्द गर्न बाध्य भएका हुन् ।
प्राधिकरणले भारतबाट आयात बन्द गर्दा वीरगन्ज, भैरहवा तथा पूर्वका उद्योगको उत्पादन ३० देखि ४० प्रतिशतमा झरेको छ । यसरी उत्पादन कटौती गर्दा वस्तुको मूल्य बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै तत्काल विद्युत् आपूर्ति गराउन प्राधिकरणलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले निर्देशन दिएको हो ।
प्राधिकरणले भारतबाट प्रतियुनिट विद्युत् खरिद गर्दा ३८ रुपैयाँ तिर्नुपर्ने देखेपछि आयात नगरेको हो । आयात नगर्दा औद्योगिक क्षेत्रमा अघोषित लोडसेडिङ भएको दुई हप्ता हुन लागिसकेको छ ।
निजी क्षेत्रका संघसंस्थाले प्राधिकरणको कदमको निरन्तर विरोध गरेपछि उद्योग मन्त्रालयले ऊर्जा मन्त्रालयलाई पत्र काट्दै तत्काल उद्योगमा लाइन उपलब्ध गराउन भनेको हो । दिन–प्रतिदिन उद्योगले आफ्नो उत्पादन कटौती गर्दा पनि ऊर्जा मन्त्रालय विद्युत् आपूर्ति सहज गराउन नलागेपछि बाध्य भएर ऊर्जालाई पत्राचार गरिएको बताइएको छ । उद्योगले प्राधिकरणलाई पनि बोधार्थ दिएको छ ।
उद्योग बन्द हुँदा रोजगारीमा असर पर्ने, मूल्यवृद्धि तथा कालोबजारी हुने, मुलुुकको व्यापारघाटा झन् बढ्नेलगायतका बहुआयामिक असर पर्ने हुँदा तत्काल उद्योगमा विद्युत् आपूर्ति गराउन निर्देशन दिएको हो ।