काठमाडौं । पर्यटकीय नगरी पोखरामा पछिल्लो समय ‘एडभेन्चर टुरिजम’ फस्टाउदै गएको छ । एक पछि अर्को पर्यटकीय गन्तव्यहरु विस्तार हुने क्रममा सराङ्कोटमा जिपलाइन सञ्चालनमा आउने भएको छ ।
सराङ्कोट विषेश गरेर प्याराग्लाइडिङका लागि प्रख्यात मानिन्छ । सोही सराङ्कोटसम्म जानका लागि केहि समयअघि मात्र अन्नपूर्ण केवलकार सञ्चालनमा आएको छ । सोही अन्नपूर्ण केवलकारको माथिल्लो स्टेशनमा उडि एडभेन्चर प्रालिले जिपलाइन सहित स्काई साइक्लिङ र जायन्ट सुईङ सञ्चालनमा ल्याउन लागेका हुन् ।
वैशाख १ गतेदेखि सञ्चालनमा ल्याउन आवश्यक उपकरणहरु जडानका कामहरु भइरहेको उडि एडभेन्चरका सञ्चालक केदार थापाले जानकारी दिए । १ करोड रुपैयाँ लागतमा निर्माण भइरहेको सो जिपलाइन १०० मिटरको रहने छ । यस्तै ६० मिटरको स्काई साईक्लिङ रहने जनाएको छ । केवलकारमार्फत सराङ्कोट पुग्ने आन्तरिक एवंम बाह्य पर्यटकहरुलाई थप मनोरन्जन दिनका लागि जिपलाइन सञ्चालनमा ल्याएको उनले बताए ।
रोज इन्टरनेशनल कम्पनीमार्फत निर्माण भइरहेको सो जिपलाइनमा दैनिक ४०० जनाले खेल्न पाउने छन् भने साइक्लिङमा २०० र स्वीङमा १०० जनाले सेवा लिन पाउने छन् । सराङकोटमा जिपलाइनसँगै ओपन बियर बारसमेत सञ्चालन हुनेछ ।
आन्तरिक एवंम बाह्य पर्यटकहरुको पहिलो रोजाईमा पर्ने पोखरामा एक पछि अर्को पर्यटकीय खेलहरु निर्माण भइरहेको बेला जिपलाइन पनि सञ्चालन गर्न थालिएको थापाको भनाई छ । पछिल्लो समय घुम्न निस्कने पर्यटकहरुले एडभेन्चर टुरिजममा बढी चासो राख्ने भएकोले केवलकारसँगै जिपलाइन,स्काई साइक्लिङ थपिएको उनले बताए ।
लामो समयदेखि एडभेन्चर टुरिजम सम्बन्धी काम गर्दै आएका थापाले यस अघिनै धुलिखेल, मकवानपुरगडी, भेडेटारमा जिपलाइन सञ्चालन गरिसकेका छन् । नगरकोटमा निर्माण सकिएर सञ्चालनको तयारीमा रहेका छन् । यस्तै थापाकै कम्पनी रोज इन्टरनेशनल कम्पनीले १० ठाउँमा जिपलाइन निर्माण गरिसकेका छन् ।