काठमाडौं । फागुन २६ गते अकारण १०१ अंकले बढेको सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) त्यसपछिका दिनमा सुस्त देखियो ।
यद्यपि, २९ मा २६६७.९७ अंकमा रहेको नेप्से सूचक कम बढ्ने र धेरै घट्ने गर्दै बुधबार पछिल्लो चरणको न्यून बिन्दु २५१५.८ अंकसम्म झर्यो । यो झराइ फागुन २६ को २४९८.४५ भन्दा केही माथि हो ।
तर, न्यून बिन्दुबाट बजारले अकारण नै चमक ल्याएको छ । मंगलबार २५२७ मा रहेको सूचक बुधबार कारोबार खुल्दा २५३३ सम्म पुगेको थियो । त्यसपछि घट्न थालेको बजारले १ घण्टाको कारोबारमा १३ दिन यताकै न्यून बिन्दु पच्छ्यायो । तर, त्यसपछि भने सकारात्मक गतिमा अघि बढ्यो । दुईवटा 'भी' आकार बनाउँदै ४०.६८ अंकले बढेर २५६८.२५ अंकमा सूचक चढेको छ ।
पछिल्लो एक घण्टाको कारोबारमा सूचक घट्नेतर्फ अग्रसर भए पनि अन्तिम समयमा १३ दिनयताकै उच्च अंकको वृद्धि देखिएको छ । तर, बजार बढ्दा अर्थतन्त्र र राजनीतिमा कुनै फेरबदल आएको छैन । आर्थिक सूचकहरू उस्तै देखिएका छन् भने राजनीतिकस्तरमा पनि कुनै परिवर्तन आएको छैन ।
तथापि, लगानीकर्ताले मनोबल उकास्न जबर्जस्ती रूपमा बजार बढाउन कोसिस गरेको देखिन्छ । खास गरी, चालू वर्षको तेस्रो त्रैमास सकिने अवस्थामा रहेकाले बजार केही माथि उठाएर स्मार्ट लगानीकर्ताहरू बजारबाट केही रकम जोहो गर्न चाहन्छन् । कारण, चैतको किस्ता सावाँ र ब्याज भुक्तानीका लागि बैंक तथा वित्तीय संस्थाहरूले दबाब बढाइरहेका छन् ।
अब एक साता मात्रै रहेकाले आगामी साताभित्र पैसाको जोहो गराइसक्नुपर्छ । कतिपय अवस्थामा धितोपत्र दलाल व्यवसायी (ब्रोकर) हरूले रकम भुक्तानीमा ढिलाइ गर्ने हुँदा पनि केही अघि नै रकमको जोहोमा लगानीकर्ता लाग्छन् । यो प्रभाव आगामी साताकाे सुरुवाती दिनसम्म देखिन सक्छ । लगानीकर्ताले कमजोर परिस्थिलाई आफूअनुकूल बनाउन कोसिस गरिरहकै हुन् । बिमा कम्पनीहरूको पुँजी वृद्धिले पनि खासै नछोएको सेयर बजार एकाएक उछालिनुको अन्तर्य के हुन सक्ला ? साना लगानीकर्ता जिल परेका छन् ।
परिस्थिति सुधारिएको छैन । अर्थतन्त्रका आयाम (रेमिट्यान्स, व्यापार, तरलता, ब्याजदर) सकारात्मक छैनन् । अझ मुलुकको जीडीपी पनि लक्ष्यको आधा हाराहारी मात्रै हुने आँकलन भइरहेकाे छ । तेस्रो त्रैमासको वित्तीय विवरणलाई देखाएर अहिले लगानीकर्ताको ध्यान मोड्न खोजिरहेका छन् । यद्यपि, वास्तविक वित्तीय विवरण सार्वजनिक हुन अझै एक महिना बाँकी छ ।
बजारसँगै बुधबार कारोबार रकममा सामान्य सुधार आएको छ । मंगलबार फागुन ३० पछिकै न्यून १ अर्ब ७३ करोडको सेयर किनबेच भएकामा बुधबार २ अर्ब २५ करोड कारोबार भएको छ । यसदिन नियमित सकारात्मक सर्किट लाग्दै आएको इमर्जिङ नेपालको सकारात्मक सर्किट कायमै छ भने राष्ट्र उत्थान र नेष्डो समृद्ध लघुवित्तको पनि सर्किट लेबलमै मूल्य बढेको छ ।
उता सबैभन्दा मूल्य घटेको युनिलिभरको १.९५ प्रतिशत छ भने बुधबार सबैभन्दा धेरै सिद्धार्थ इन्स्योरेन्सको ११ करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार बजार बढाउन म्युचुअल फन्ड र ऋणपत्रबाहेक १७८ कम्पनीले योगदान गरे । यस्तै १३ कम्पनीको मूल्यमा गिरावट आएको छ ।