रामपुर । कालीगण्डकी नदीमा जल पर्यटनको विकास गर्दै स्थानीयवासीलाई आयआर्जनसँग जोड्ने विषयलाई रामपुर नगरपालिकाले प्राथमिकतामा राखेको छ । नजिकको तीर्थ हेला भनेजस्तै पर्याप्त सम्भावना रहेर पनि ओझेलमा परिरहेको कालीगण्डकीको महिमा र गरिमालाई उँचो बनाउँदै योसँग जोडिएका आयआर्जनका सम्भावनालाई उजागर गर्ने गरी नगरपालिकाले प्रयास थालेको हो ।
नदीलाई पर्यटनसँग जोड्दै व्यावसायिक रूपमा जलयात्रा सञ्चालन गरी तल्लो तटीय क्षेत्रका स्थानीयवासीलाई आयआर्जनसँग जोड्नाका साथै नदीको महत्व जोगाउन अभिप्रेरित गर्ने उद्देश्यले ‘रिभर गाइड प्राविधिक तालिम’ सुरु गरिएको नगरप्रमुख रमणबहादुर थापा बताउँछन् ।
'नदीलाई संरक्षण गर्दै व्यावसायिक जलयात्रा सञ्चालन गर्ने उद्देश्यले युवाहरूलाई जलयात्रासम्बन्धी तालिम आयोजना गरेका हौं', उनले भने ।
पारिवारिक जलयात्राका लागि उपयुक्त रहेको नदीमा जलयात्रा गरी पर्यटन विकासका साथै आयस्रोत भित्र्याउन युवालाई तालिममा सहभागी गराइएको छ । जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनाअन्तर्गत रामपुर नगरपालिकाको आयोजनामा तालिम सञ्चालन गरिएको हो । 'नेपाल पर्यटन बोर्डको सहयोगमा कालीगण्डकी नदीमा यसअघि नै जलयात्राको सम्भाव्यता अध्ययन गरिसकिएको छ', उनले भने, 'रामपुर नगरको आयोजनामा वृहत् रूपमा राम्दीदेखि पुट्टारघाटसम्म सफलतापूर्वक जलयात्रा महोत्सव पनि आयोजना गरियो, नदी आसपासका स्थानीयवासीको जीवनस्तर उकास्नका लागि व्यावसायिक जलयात्रा सञ्चालन गर्न युवालाई तालिम आयोजना गरेका छौं ।'
रामपुर क्षेत्र पर्यटनका लागि सम्भावनायुक्त स्थान रहेकाले तालिमपश्चात् लाइसेन्स प्राप्त गर्ने युवालाई जलयात्रा व्यवसाय सञ्चालनका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने नगरप्रमुख थापाकाे भनाइ छ ।
संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम युएनडिपीको सहकार्यमा नेपाल पर्यटन बोर्डको प्रवर्धन र नेपाल एसोसिएशन अफ र्याफ्टिङ एजेन्सी (नारा) को सहकार्यमा सुरु भएको तालिममा ३२ युवा सहभागी छन् ।
नेपाल सरकारले कालीगण्डकी नदीको तल्लो क्षेत्र राम्दीदेखि देवघाटसम्म जलयात्रा सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरी अगाडि बढाएको छ । दिगो विकास र पहिचानका लागि पूर्वाधार आफैँले खडा गर्नुपर्ने तथा सीप विकासका लागि संस्थाले सहयोग गर्ने जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनाका प्रोजेक्ट म्यानेजर ज्ञानेश्वर महत्तोले बताए । उनले परियोजनाअन्तर्गत कालीगण्डकीसँगै नेपालको कोसी नदी, त्रिशूली नदीमा पनि तालिम सञ्चालन गर्न भइरहेको र तालिमपश्चात् एक वर्षभित्र रिभर गाइडको लाइसेन्स प्रदान गर्नका लागि सहजीकरण गर्ने बताए ।
नेपाल पर्यटन बोर्डका प्रबन्धक सन्तोष घिमिरेले कालीगण्डकी नदी पर्यटन विकासको प्रशस्त सम्भावना बोकेको हुँदा नियमित जलयात्रा सञ्चालन भएको खण्डमा बाह्य पर्यटक यहाँ भित्रने बताए । नेपाल एसोसिएशन अफ र्याफ्टिङ एजेन्सीका उपाध्यक्ष तथा नदी संरक्षण संस्थाका अध्यक्षसमेत रहेका मेघ आलेले कालीगण्डकी आयआर्जनको दरिलो माध्यम बन्ने बताउँदै चौथो राष्ट्रिय नदी सम्मेलन कालीगण्डकीमा गर्ने तयारी भइरहेको जानकारी दिए ।
पोखरा र बुटवल सहरको बीच भागमा पर्ने कालीगण्डकी करिडोर यसै नदीसँग जोडिएकाले पनि नियमित जलयात्रा सञ्चालन गरी उत्कृष्ट जलयात्राको पर्यटकीय गन्तव्यस्थल बन्नेछ । नियमित जलयात्रा सञ्चालन भएपछि पोखरा र लुम्बिनी आएका पर्यटक यहाँ भित्रिने विश्वास लिइएकाे छ ।
कालीगण्डकी बेसीका पाल्पाको रम्भा गाउँपालिका, स्याङ्जाको चापाकोट नगरपालिका, तनहुँको घिरिङ गाउँपालिकाले ऐक्यबद्धता जनाउँदै यस नदीको पानीलाई पर्यटनसँग जोडेर पारिवारिक जलयात्रा गरी विश्वसामु चिनाउन स्थानीय तहको पहलमा अगाडि बढ्ने बताइएको छ ।