काठमाडौं । उसै त वीरगन्जस्थित निम्बस कारखाना ६० प्रतिशत क्षमतामा चलिरहेको थियो । गत शुक्रबारदेखि अर्को मेसिनसमेत बन्द भयो । कम क्षमतामा चल्नु र पुनः अर्को मेसिन बन्द हुनुको एउटै कारण हो, विद्युत् आपूर्ति ठप्प ।
तीव्र गतिमा माग घट्दा उत्पादन ६० प्रतिशत कटौती गरेको उद्योगमाथि बिजुलीको नयाँ समस्या थपिँदा अर्को मेसिनसमेत बन्द भएको छ ।
यस्तै बिहीबारबाट भैरहवास्थित अर्घाखाँची सिमेन्ट पनि पूर्णरुपमा बन्द भयो । फागुनसम्म ६० देखि ७० प्रतिशत क्षमतामा चलेको उद्योगमा एकाएक विद्युत् समस्या थपिँदा सो उद्योग बन्द भएको हो ।
यी २ उद्योग त प्रतिनिधि उदाहरण मात्रै हुन् । नेपालमा अहिले धेरै उद्योग पूर्ण वा आशिंक रुपमा बन्द छन् । नेपाल विद्युत् प्राधिकरणसँग स्वीकृति लिएको लोड उपलब्ध नहुँदा उद्योगीले बाध्य भएर फ्याक्ट्री बन्द गरिरहेका छन् ।
नेपाल विद्युत् प्राधिकरणले महँगोमा बिजुली किनेर सस्तोमा बेच्दा आफ्नो वित्तीय विवरण घाटामा जाने भन्दै बिजुली नकिनेपछि देशभरका उद्योग पूर्ण तथा आंशिक रुपमा बन्द हुन पुगेका हुन् ।
मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो वित्तीय विवरण नाफामा रहेको देखाउन भारतबाट महँगो दरमा बिजुली नकिन्दा यो सब समस्या निम्तिएको बताए ।
‘घिसिङले २२ करोड जोगाउन यो सब नाटक मञ्चन गरिरहेकका छन्’, उनले क्यापिटल नेपालसँग भने, ‘दिन्छु भनेर कमिटमेन्ट गरेको बिजुली नदिँदा देशमा दैनिक १० अर्ब रुपैयाँको नोक्सान भइरहेको छ । यो कुरा कसले बुझ्ने ?’
उद्योगी अहिले डिजेल तथा फर्नेक्स आयल किनेर जेनेरेटर चलाई उद्योग सञ्चालन गर्न सक्ने अवस्थामा छैनन् । प्राधिकरणले बिजुली नदिएपछि यसरी उद्योग चलाउनुभन्दा बन्द गर्दा नै फाइदा हुने उनीहरुको भनाइ छ ।
उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले प्राधिकरणका कारण देशको अर्थतन्त्र नै ठप्प भइरहँदा पनि सरकारले बिजुली आपूर्ति सहज गराउन प्राधिकरणलाई निर्देशन नदिनु दुःखद कुरा भएको बताए ।
प्राधिकरणले दैनिक १२ घण्टा नियमित रुपमा विद्युत् आपूर्ति दिन्छु भनेर प्रतिबद्धता गरेको थियो । तर, गुणस्तरहीन बिजुली प्रवाह गरेकाले उद्योग चलाउन नसकिएको उद्योगीहरु बताउँछन् ।
वीरगन्जका उद्योगीका अनुसार १४ घण्टादेखि बिजुली आपूर्ति नभएपछि अत्यावश्यकबाहेक सबै मेसिन बन्द गरिएका छन् । नगरी नहुने उत्पादन जेनेरेटर चलाएर पनि उत्पादन भइरहेको छ । तर, तत्काल उत्पादन नगर्दा पनि हुने उत्पादनको मेसिन बन्द गरिएको उनीहरु बताउँछन् ।
प्राधिरकणले प्रतियुनिट ३८ रुपैयाँमा बिजुली किन्दा ३५ दिनमा ८ अर्ब रुपैयाँ घाटा हुने प्रक्षेपण गरेको छ । दिनमा प्राधिकरणलाई जम्मा २२ करोड रुपैयाँ नोक्सान हुन्छ । त्यही २२ करोड जोगाउन प्राधिरकरणले सम्पूर्ण उद्योग ठप्प बनाइएको छ । प्राधिकरणले नियोजित रुपमा उद्योग ठप्प बनाउँदा दैनिक १० अर्ब रुपैयाँ नोक्सान बनाइरहेको वीरगन्ज उद्योग वाणिज्य संघका महासचिव मनोज दासले बताए । ‘देशले अहिले २२ करोड हेर्ने कि १० अर्ब हेर्ने ?’ उनले प्रश्न गरे ।
यता प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले भारतमा चरम ऊर्जा संकट आएकाले महँगोदर प्रस्ताव गर्दा पनि नपाएको बताउँछन् । ‘सकेसम्म साँझ उद्योग नचलाउन अनुरोध गरेका छौं’, उनले भने ‘अन्य समयमा उद्योग चलाउँदा समस्या छैन । यो कुरा उद्योगीहरुले बुझ्नुभएको छ ।’
रुस–युक्रेन युद्धले कोइला आपूर्ति ठप्प भएपछि बिजुली उत्पादनमा गिरावट आउँदा महँगोमा किन्न खोजे पनि नपाएको र भारतमै पनि धेरैजसो उद्योग बन्द भइसकेका उनले बताए । रुस–युक्रेन समस्या समाधान हुनासाथ बिजुली आपूर्ति नियमित हुने उनको भनाइ छ ।
उद्योगीद्वारा नेतृत्वको आलोचना
अहिले उद्योगीहरु गम्भीर समस्याबाट गुज्रिएका बेला पनि निजी क्षेत्रका संगठनहरुले उद्योगीको समस्यालाई दरिलो रुपमा राख्न नसकेको आरोप लगाएका छन् । बैंकले नयाँ कर्जा दिन नसकेको ६ महिना बितिसक्दा पनि निजी क्षेत्रका तीनवटै संठगनले आवाज बुलन्द पार्न नसकेको उद्योगीहरुको भनाइ छ ।
बैंकको ब्याजदर दोहोरो अंकमा पुगेको छ । त्यसलाई नियन्त्रण गर्न सरकारलाई सामान्य दबाबसमेत दिन सकेको छैन । एलसी खोल्न बैंकले आनाकानी गरेको महिनौं बितिसकेको छ । शतप्रतिशत नगद मार्जिनको व्यवस्थाले उद्योगीहरु समस्यामा परेका छन् । यस्तो संकटपूर्ण अवस्थामा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघको नेतृत्वले कुनै पहल नगरेको उनीहरु बताउँछन् ।