काठमाडौं । विदेशमा उच्च माग भइरहेको नेपालको मोलासेस गोदाममै थन्किएको छ । सरकारले नीतिगत अप्ठ्यारो चिर्न कुनै पहल नगरेका कारण उत्पादकले ३० हजार टनभन्दा बढी मोलसेस गोदाममै थन्क्याउनु परेको बताएका छन् ।
चालू आर्थिक वर्षमा ९ वटा चिनी उद्योगले ६० हजार टन मोलासेस उत्पादन गरेका थिए । त्यसमध्ये १७ हजार ३ सय टन स्वदेशमै खपत भएको छ । अनेकन तिकडम लगाएर केही उद्योगीले १ हजार ९ सय टन निर्यात गरेका छन् । यस्तै नेपालमा भएका विदेशी कम्पनीले १० हजार ४ सय टन खरिद गरेका छन् । यद्यपि, याे तथ्यांक चालू वर्षकाे मात्रै हाे । विगतकाे पनि माेलासेस माैज्दात छ ।
बाँकी मोलासेस गोदाममै थन्क्याउनुपरेको चिनी उद्योग संघका अध्यक्ष शशिकान्त अग्रवालले बताए ।
बंगलादेशमा नेपालको मोलासेसको माग उच्च छ । यद्यपि महँगो मूल्य तिरेर भए पनि बंगलादेशीहरु किन्न तयार छन् । तर, सरकारले निर्यातमा झन्झटिलो प्रावधानलाई हटाएर सहजीकरण नगर्दा निर्यात गर्न अप्ठ्यारो परिरहेको उनको भनाइ छ ।
उत्पादकले जति परिमाण र जुन मूल्यमा निर्यात गर्ने भनेर दाखिला गरेका हुन्छन्, त्यति परिमाण निर्यात गरी पैसा ल्याएनन् भने उनीहरुलाई कारबाही गर्नुपर्छ । तर, निर्यात नै गर्न नदिने गरी नीतिगत अप्ठ्यारो बनाउन नहुने उनको तर्क छ ।
आन्तरिक राजस्व विभागले निर्यातमा सहजीकरण गर्ने बताए पनि अहिलेसम्म भोल्युममा निर्यात गर्न नसकिएको उद्योगीहरु बताउँछन् । नेपाललाई चाहिने मात्रामा बिक्री गरेका छौं । यहाँ अन्य किन्न इच्छुकलाई पनि उपलब्ध गराएर बाँकी रहेको मोलासेस निर्यात गर्छौं भन्दा पनि अवरोध गर्ने काम भइरहेको चिनी उद्योग संघका महासचिव राजेश केडियाले बताए ।
नेपालबाट बाहिर निर्यात गर्दा विदेशी मुद्रा भित्रिन्छ । यस्तो विषम् परिस्थितिमा विदेशी मुद्रा आर्जन गर्न खोज्दा पनि सरकारी अवरोध छ ।
संघले उपलब्ध गराएको तथ्यांकअनुसार एभरेस्ट सुगर एन्ड केमिकलले आर्थिक वर्ष ०७८/०७९ मा १ लाख ६ हजार ८ सय ९५ क्विन्टल मोलासेस उत्पादन गरेको छ । त्यसमध्ये उसले ६२ हजार ८ सय १६ क्विन्टल स्थानीयमा बिक्री गरेको छ भने ९ हजार ९ सय २० क्विन्टल निर्यात गरेको छ ।
रिलायन्स सुगर एन्ड केमिकलले ५१ हजार ६ सय ११ क्विन्टल मोलासेस उत्पादन गरेको छ । त्यसमध्ये नेपालमा रहेका विदेशी कम्पनीलाई ३५ हजार ५८५ क्विन्टल मोलासेस बिक्री गरेको छ ।
यसबाहेक इन्दुशंकर चिनी उद्योगले पनि १ लाख ९ हजार ८५० क्विन्टल मोलासेस उत्पादन गरेको छ । त्यसमध्ये स्थानीयमा ३५० क्विन्टल र नेपालमा भएका स्वदेशी २५ हजार क्विन्टल बिक्री गरेको छ ।
बागमती खाडसारी चिनी मिल्सले ३३ हजार ३१८ क्विन्टल मोलासेस उत्पादन गरेको संघले उपलब्ध गराएको तथ्यांकमा देखिन्छ । बागमतीले स्थानीयमा २२ हजार २८९ क्विन्टल बिक्री गरेको छ ।
यस्तै हिमालय सुगर मिल्सले ६० हजार ३९ क्विन्टल मोलासेस उत्पादन गरेको छ । स्थानीयमा ४१ हजार ५०९ क्विन्टल बिक्री गरेको छ भने १० हजार क्विन्टल निर्यात गरेको छ । नेपालमा रहेका विदेशी कम्पनीलाई ४ हजार ७५० क्विन्टल बिक्री गरेको छ ।
महाकाली सुगरले ८३ हजार ९३७ क्विन्टल मोलासेस उत्पादन गरेको छ । सो कम्पनीले उत्पादन गरेको मोलासेस गोदाममै थन्किएर बसेको छ । भागेश्वर सुगर एन्ड केमिकलले ६६ हजार ७० क्विन्टल उत्पादन गरेको छ । नेपालमा रहेका विदेशी कम्पनीलाई जम्मा २१० क्विन्टल मोलासेस बिक्री गरेको छ । बाँकी सबै गोदाममै थन्किएको छ ।
यस्तै महालक्ष्मी सुगर्सले ३८ हजार ८२० क्विन्टल मोलासेस उत्पादन गरेको छ । सो कम्पनीले उत्पादन गरेको पनि गोदाममै थन्किएको छ ।
तथ्यांक हेर्दा नेपालमा खपत हुनेभन्दा धेरै मोलासेस उत्पादन भइरहेको छ ।
यहाँ उत्पादित सबै मोलासेस बंगलादेश लैजान तयार भए पनि सरकारले अग्रिम भुक्तानी भएको प्रमाणपत्र पेस गर्नुपर्ने, निकासी हुने देशमा अन्तःशुल्क लाग्ने वा नलाग्ने सोको प्रमाण पनि पेस गनुपर्ने प्रावधानले निर्यात अवरोध भइरहेको उद्योगीहरु बताउँछन् ।
‘जुन कुरा नेपाललाई आवश्यक नै छैन, त्यस्तो प्रावधान राखेर निर्यातलाई अवरोध गरिएको छ’ केडियाले भने ।
सरकारले तत्काल अन्तःशुल्क निर्देशिका २०६८ ९परिमार्जित संस्करण २०७६० मा भएको व्यवस्थालाई तत्काल खारेज गर्नुपर्छ उनको भनाइ छ ।
यस्तो व्यवस्था खारेज गर्न सचिवस्तरीय निर्णय भए पुग्ने उद्योगीहरु बताउँछन् ।