काठमाडौं । सेयर बजारको गिरावट मंगलबार पनि जारी रहेको छ । नेप्से सूचक दोहोरो अंकले घट्दा टर्नओभर (खरिदबिक्री रकम) पनि थप खुम्चिएको छ । यस दिन नेप्से १४.२६ अंकले घटेर २५२७.५८ विन्दुमा अडिएको छ । करिब १ अर्ब ७५ करोड रुपैयाँको सेयर कारोबार भएको छ । ३ कम्पनीमा सकारात्क सर्किट लागेको छ । प्राविधिक विश्लेषकहका बजार घटिरहेका बेला टर्नओभर झन् ड्राइ हुनुको अर्थ सस्तो मूल्यमा बेच्नेहरु घटेका हुन् ।
अर्थात् भाउ अझै घटाएर बेच्ने प्यानिक सेलर छैनन् वा निकै कम भए भन्ने यसको अर्थ हुन्छ । बजार घटेका बेला टर्नओभर ड्राई हुँदै गयो भने बजारले बटम लगाउँदैछ भनेर बुझ्न सकिने उनीहरुको भनाई छ । आधारभूत पक्षलाई विश्लेषण गरेर कारोबार गर्नेहरु भने जहिले पनि कम्पनीहरुको प्रमुख वित्तीय सूचकसँग मूल्यलाई तुलना गरेर हर्ने गरेका हुन्छन् ।
तथापि, चैत आधाआधी बितिसक्दा पनि हाम्रो बजारले आम लगानीकर्ताको अपेक्षा अनुसार राम्रो पर्फमेन्स गर्न सकेको छैन । अब चैतपछि विस्तारै सेयर बजारमा सिजन सुरु हुने अपेक्षा गरिन्छ । चैतपछि क्रमशः वित्तीय प्रणालीमा तरलता सहज हुँदै जाने गर्छ । वैशाख लागेपछि सूचीकृत कम्पनीहरुको तेस्रो त्रैमासको रिपोर्ट आउन थाल्छ ।
यस त्रैमासबाट कम्पनीहरुको वर्षभरिको कमाई र लाभांश अनुपातको समेत मोटामोटी आँकलन गर्न सकिन्छ । यसर्थ, सोही अनुसार लगानीकर्ताहरुले खरिदबिक्री रणनीति बनाउँछन् । बजारमा पनि क्रमशः चहलपहल बढ्ने अपेक्षा गरिन्छ । तर अहिलेसम्म भने बजारमा यस्तो हुन सकेको छैन । स्थानीय निकाय निर्वाचन पनि नजिकिँदैछ । निर्वाचनको माहोलमा बजारमा पर्याप्त पैसा आउने विश्लेषण गर्न सकिन्छ ।
वित्तीय प्रणालीमा तरलता दबाब र चर्को ब्याजदरका कारण जतिसुकै राम्रा खबर आउँदा पनि बजारले अपेक्षाअनुसार सकारात्मक गति देखाउन सकिरहेको छैन। बिमा कम्पनीहरुको पुँजी वृद्धिको खबरले पनि खासै रौनकता ल्याउन सकेको छैन । यसको पछाडि तरलतामा परेको दबाबलाई नै प्रमुख कारण मानिएको छ । तथापि, बजारका जानकार र लगानीकर्ताहरुले भने यतिबेला सेयरहरु अकुमुलेसन भइरहेको बताएका छन् ।
पुँजी वृद्धिको खबरलाई बजारले ढिलोचाँडो रेस्पोन्स गर्ने नै छ । किन भने हाम्रो पुँजी बजारको इतिहास हेर्ने हो भने सधैंजसो नै पुँजी वृद्धिको खबरपछि नै बजारले नयाँ उचाई बनाएको छ । अहिले तरलता अवस्था टाइट भएकाले मात्र बजारले तत्काल अपेक्षा अनुसार पोजेटिभ रेस्पोन्स देखाउन नसकेको विश्लेषणहरु भइरहेका छन् ।
हाम्रो बजार झन्डै ८ महिनायतादेखि करेक्सन फेजमा छ । यसमा बीचमा उतारचढावहरु भइरहे पनि यसअघि तय भएको ३२ सय विन्दुको उचाइलाई बजारले पार गर्न सकेको छैन । नयाँ बुल रन तयार हुनका लागि नेप्सेले यही ३२ सय विन्दुलाई पार गरेर माथि जानुपर्ने हुन्छ ।