काठमाडौं । यो वर्षको समर सेड्युल सोमबारबाट लागू भएको छ ।
कोभिडदर न्यून र भारतसँगको एयर बबल सम्झौता खारेज भएपछि यो सिजन हवाई उड्डयनका लागि उत्साहजनक देखिएको छ । साथै उडान तालिका पनि थपिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले दैनिक ४०० उडान तालिका स्वीकृत भएको जानकारी दिए ।
हेलिक्पटरसहित आन्तरिकतर्फ ३ सयभन्दा बढी र अन्तर्राष्ट्रियतर्फ ६० गरी दैनिक ४०० उडान भर्न तयारी भएको उनको भनाइ छ ।
यो तालिका कोभिडपछिको सबैभन्दा बढी हो ।
विदेशी पर्यटकहरुको चाप बढ्न थालेसँगै अन्तर्राष्ट्रिय उडानका लागि अनुमति लिनेको संख्या बढेको उनको भनाइ छ । नेपाल–भारत–नेपाल उडानका लागि साताको ५६ वटा उडान तालिका तयार भएको महाप्रबन्धक ठाकुरले जानकारी दिए ।
अहिले भारतका विभिन्न सहरमा नेपाल वायुसेवा निगमले नियमित उडान गरिसकेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता देवचन्द्रलाल कर्णले भारतबाट एयर इन्डिया, इन्डिगो, भिस्तारालगायतका वायुसेवा कम्पनीले नियमित उडान गर्दै आएका र उडानको संख्या थप्ने तयारीमा रहेको बताए । यस्तै भारतको इन्डिगो, एयर इन्डिया, स्पाइस जेट, गो एयर, भिस्तारालगायत वायुसेवा कम्पनीले साताको क्रमशः ५०५, ३६०, ३४०, १३०, ७४, ५६ वटा उडान भर्ने तालिका लिएको जानकारी दिए ।
पर्यटकको संख्या बढेसँगै आन्तरिक उडान गर्दै आएका एयरलाइन्स र हेलिक्पटरहरुले पनि उडान तालिका बढाउन थालेका छन् ।
हवाई उद्योगमा चहलपहल बढेसँगै काठमाडौं उपत्यका भित्रका पाँचतारे होटलहरु भरिभराउ हुन थालेका छन् । यस्तै पोखरा र सौराहामा पनि पर्यटकहरु बढ्न थालेका छन् । अहिले विषेश गरी भारतीय पर्यटकहरु नेपालमा आइरहेका ट्रेकिङ एजेन्जिसज एसोसियन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदीले जानकारी दिए ।
योसँगै हिमाल आरोहणमा आउनेको संख्यामा पनि वृद्धि हुने देखिएको छ । पर्यटन विभागले दिएको जानकारीअनुसार सोमबारसम्म १६ वटा हिमाल आरोहणका लागि पर्यटकहरुले अनुमति लिइसकेका छन् ।
कुल १२८ जना आरोहीले हिमाल चढ्ने गरी अनुमति दिएको विभागले जनाएको छ ।