२२ मे दिउँसो पौने ३ बजे सूर्य निकै माथि आइसकेको हुनेछ । गर्मीको अनुभव पनि हुनेछ । तर, नोएडास्थित ९३–ए सेक्टरमा बनेको ट्विन टावर त्यसरी उभिइरहेको हुने छैन ।
भारतका अग्ला भवनहरुमध्येको एउटा सहरको नक्साबाट ९ सेकेन्डभित्र यो भवन सधैंका लागि मेटिनेछ ।
संयोग कस्तो भने, ३१ अगस्ट २०२१ मा सुप्रिम कोर्टको आदेशको ९ महिनापछि नै सुपरटेकका यी बिल्डिङ ध्वस्त पारिँदैछ । यसका लागि पूर्णरुपमा तयारी चलिरहेको छ ।
नियम उल्लंघन गरी अवैध रुपमा टावर निर्माण गरेको र त्यसमा मिलेमतो भएको आरोपमा त्यहाँको सर्वाेच्च अदालतले नोएडामा निर्मित एमेराल्ड कोर्ट प्रोजेक्टको २ सुपरटेक ट्विन टावर भत्काउने आदेश दिएको हो ।
१५०० परिवारले ३ घण्टाअघि घर छाड्नुपर्नेछ
उक्त दिन भत्काउनुअघि काउन्टडाउन सुरु हुनेछ । आसपासको क्षेत्रमा सन्नाटा छाइरहेको हुनेछ । ट्विन टावर ध्वस्त हुने दिन आसपासमा बसोबास गर्ने १५०० परिवारले केही समयका लागि आफ्नो घर छाड्नुपर्ने हुन्छ ।
यस कार्यमा कसैलाई कुनै हानि–नोक्सानी नपुगोस् भन्नका लागि टावरतिर जाने सडक र नोएडा एक्सप्रेसको भागलाई बन्द गरिनेछ ।
यस्तै ४ हजार किलो विस्फोटक पदार्थ प्रयोग गरी सावधानपूर्वक टावर ध्वस्त गरिनेछ ।
कुन पहिले, कुन पछि ?
सुपरटेकका यी २ टावर भत्काउन एडिफाइस इन्जिनियरिङलाई जिम्मेवारी दिइएको छ । आफ्नो योजना सुनाउँदै एडिफाइसले ९७ मिटर अग्लो र ३१ तलाको सियान नामक टावर पहिले ध्वस्त पारिनेछ । त्यसपछि मात्रै १०० मिटर अग्लो र ३२ तलाको एपेक्सलाई ध्वास्त पारिनेछ । भवन एकपछि अर्को फ्लोरको रुपमा जमिनतिर ढल्दै जानेछ ।
भवनमा जहाँ पहिले आलिसान अपार्टमेन्ट बनाउने योजना थियो र त्यसलाई बेचिएको पनि थियो, त्यहाँ प्राइमरी र सेकेन्डरी गरी दुई ब्लास्ट गरिनेछ । दुवै तलामा १० प्राइमरी ब्लास्ट ग्राउन्ड, पहिलो, दोस्रो, छैटौं, दसौं, चौधौं, अठारौं, बाइसौं, छब्बीसौं र तीसौं फ्लोरमा हुनेछ ।
ब्लास्टको अवधि ०–७ सेकेन्डको हुनेछ । यस्तैगरी सेकेन्डरी ब्लास्ट ०–३.५ सेकेन्डको हुनेछ । सेकेन्डरी ब्लास्ट फ्लोरमा चौथो, आठौं, बाह्रौं, अठारौं, बीसौं, चौबीसौं र अठ्ठाइसौं फ्लोरमा हुनेछ ।
कति विस्फोटक पदार्थ आवश्यक ?
एडिफाइसका अनुसार २५०० र ४००० किलोग्राम विस्फोटक आवश्यक पर्नेछ ।
विस्फोटकको उचित प्रयोग र सुरक्षा मानकको परीक्षार्थ अप्रिल पहिलो हप्तासम्म एउटा टेस्ट ब्लास्ट गर्ने प्लान एडिफाइसको छ ।
भत्काउने काम जारी
एडिफाइसको ज्वाइन्ट भेन्ट पार्टनर साउथ अफ्रिका बेस्ड जेट डिमोलिसन्सले यस प्लानमा पूर्णतया निगरानी गरिरहेको छ । बिल्डिङमा जडित झ्यालको फ्रेम, ग्रिल, ढोका, वायरिङ र निकाल्न मिल्ने सामानहरु निकालिरहेको छ । ध्वस्त गर्दा बिल्डिङको कंक्रिट बाहिर नछिट्टियोस् भनेर हर कोलममा वायर्ड मेस र जियोटेक्सटायल फेब्रिक प्रयोग भइरहेको छ । अधिकारीहरुका अनुसार धमाकापछि एक्सपर्ट पूरै एमराल्ड कोर्ट र वरपरका अन्य बिल्डिङको हानिबारे पनि आँकलन गर्नेछन् ।
यद्यपि एडिफाइसले स्थानीयवासीलाई अन्य भवनलाई क्षति पुर्याएबिनै ट्विन टावर ढलाउने बताएका छन् । यदि क्षति पुगेको खण्डमा त्यसको क्षतिपूर्ति हुने उनीहरुको भनाइ छ ।
एक्सक्लुसिभ जोनको इलाका
टावर भएको चारैतिर एमराल्ड कोर्ट, एटिएस ग्रिन भिलेज र पाश्र्वनाथ प्रेस्टिजको केही भाग, एक पार्कर टावरनजिकको सडक र नोएडा एक्सप्रेसको केही भाग एक्सक्लुसिभ जोनमा आउँछ । यी क्षेत्रलाई मार्क गरिनेछ । पुलिसको दलबल तैनाथ हुनेछ । यस्टै एक घण्टाका लागि सडकमा सवारीको आवागमनलाई रोकिनेछ ।
५ जना मात्रै त्यहाँ रहनेछन्
२ विदेशी एक्सपर्ट, एक प्रहरी, १ ब्लास्टर र १ एडिफाइस प्रोजेक्ट म्यानेजर गरी ब्लास्ट गर्ने बेला ५ जना मात्रै उपस्थित हुनेछन् ।
नोएडाबाट १०० किमि टाढा विस्फोटक पदार्थ
कलममा तय गरिएको स्थानमा विस्फोटक पदार्थ राख्नका लागि कम्तीमा १५ दिन लाग्नेछ । यस्तै नोएडाबाट १०० किमिको दूरीमा उक्त पदार्थ राखिनेछ । र, आवश्यकताअनुसार दैनिक थोरथोरै ल्याइनेछ ।
२ तला अग्लो स्टिल सिपिङ कन्टेनर ट्विन टावरबीच राखिनेछ । कंक्रिटले एमराल्ड कोर्टको अन्डरग्राउन्ड पार्किङ एरिया र १२ तले बिल्डिङलाई सुरक्षा दिन यस्तो गरिनेछ । यसबाहेक कंक्रिट उछिट्टिएर बाहिर नजाओस् भन्नका निम्ति अन्य उपाय पनि अपनाइनेछ ।
विस्फोटबारे जानकारी दिन १५ दिनपहिले पर्चा बाँडिनेछ । त्यसमा मिति, समय र घर खाली गर्ने पूरापूर जानकारी हुनेछ ।
-एजेन्सीकाे सहयाेगमा ।