काठमाडौं । पाँचतारे र तारे होटलहरुमा सेफ अभाव हुन थालेको छ । कोभिडले थलिएको पर्यटनक्षेत्र खुला भएसँगै एकै पटक सेफको माग बढ्दा होटलहरुमा सेफ अभाव बढेको व्यवसायीहरुको भनाइ छ ।
कोभिडकै कारण करिब २ वर्ष होटल तथा रिसोर्टहरु सञ्चालन हुन सकेनन् । पहिलेदेखि त्यहाँ काम गरिरहेका सेफहरु पनि वैकल्पिक पेसामा लागे । बिस्तारै कोभिड मत्थर हुँदै जाँदा पर्यटनक्षेत्र खुला हुन थाल्यो । तर, माग बढेअनुसार आपूर्ति हुन नसकेको व्यवसायीहरु बताउँछन् ।
संक्रमण न्यून भएसँगै विदेशमा पनि सेफको माग ह्वात्तै बढेको र नेपालको भन्दा राम्रो सेवा–सुविधा पाएका कारण धेरैको रोजाइमा विदेश परेको मेरियटका सञ्चालक शशिकान्त अग्रवाल बताउँछन् ।
महामारीका बेला अधिकाशं सेफ नेपाल फर्किएका थिए । तर, अवस्था सामान्यजस्तै हुन थालेपछि र पर्यटनक्षेत्र खुलेसँगै उनीहरु उतै फर्किने क्रम बढेको अग्रवालको भनाइ छ । उनका अनुसार नेपालमा पर्यटकको संख्या बढ्दै जाँदा सेफको माग पनि त्यही अनुपातमा बढेको छ । यसरी माग बढिरहनु र सेफ कम हुनुले तानातान भएको उनले बताए ।
काठमाडौंस्थित दुई म्यारियट होटलबाट मात्रै पछिल्लो समय ७ जना जति सेफ अस्ट्रेलिया र ३/४ जना दुबई गएको उनले बताए । ‘विदेशबाट आउने क्रम रोकियो । यता भएकाहरु पनि धमाधम विदेशतिर जान थाले’, सञ्चालक अग्रवालले भने, ‘जसकारण सेफ अभाव हुँदै गएको छ ।’
पाँचतारे होटल अलफ्टका सञ्चालक सुमन पाण्डे पनि केही महिनायता सेफ अभाव भएको बताए । कोभिडका कारण लामो समयसम्म होटल बन्द हुँदा अधिकांश सेफहरु गाउँ फर्किएका र वैकल्पिक पेसामा लागेकाले तत्कालै छाडेर आउन सक्ने अवस्था नहुँदा यो समस्या आएको उनको भनाइ छ । ‘विदेशबाट पनि सेफको माग धेरै आएको छ’, उनले भने, ‘नेपालमा भन्दा आकर्षक तलब पाउने भएकाले पनि उनीहरुको रोजाइमा विदेश पर्न थालेको हो ।’
सांग्रिला होटलका प्रबन्ध निर्देशक प्रवीण पाण्डे पनि कोभिड ताका धेरै सेफहरुले जागिर छाडेर वैकल्पिक काममा लाग्दा अभाव भएको बताउँछन् । अधिकांश होटलले मागअनुसारको सेफ पाउन समस्या भएको जानकारी आपूmकहाँ पनि आएको बताउँदै त्यसका लागि विदेश जानेहरुलाई रोक्न आकर्षक प्याकेजहरु ल्याउनुपर्ने उनले सुनाए ।
होटल एसोसिएन अफ नेपाल (हान) का प्रथम उपाध्यक्ष एवं एयरपोर्ट होटलका सञ्चालक विनायक शाहले पनि सेफ अभाव निरन्तर रहेको बताए । केही समय नेपालमा काम गर्ने र अनुभव बटुलेर विदेश जाने प्रचलन बढेकाले सेफ अभाव भएको उनको भनाइ छ ।
नेपालमा रहेका केही ठूला होटलमा विदेशी सेफहरु छन् । यद्यपि अधिकाशंमा नेपालीहरु नै काम गर्छन् । विदेशमा पनि नेपालीहरुकै माग उच्च छ । सोहीअनुसारको सेवा–सुविधा पनि भएकाले उनीहरु त्यतैतिर आकर्षित भएको व्यवसायीहरु बताउँछन् ।
तारे होटलमा अनुभव लिँदै धमाधम विदेश जाँदै
तारे होटल, त्यसमा पनि विदेशी चेन होटलमा काम गरेको अनुभव लिएर विदेश जान चाहनेहरुको संख्या पनि कम छैन । मेरियटका सञ्चालक अग्रवालका अनुसार केही समय काम गर्ने र यहाँको अनुभव लिएर विदेश जाने धेरै छन् । ‘अनुभव लिन भनेर केही समय काम गर्छन्’, उनी भन्छन्, ‘पछि आर्कषक पाएपछि बिदेसिन्छन् ।’
मेरियटले आकर्षक तलबमा विदेश जान चाहनेलाई नरोक्ने र सहज रुपमै अनुभवपत्र (एक्सपेरिएन्स लेटर) पनि दिने गरेको अग्रवाले बताए ।यस्तै हानका प्रथम उपाध्यक्ष शाहको भनाइ पनि अग्रवालको जस्तै छ । यहाँ केही समय काम गर्ने र सेवा–शुल्क महँगो मागेर विदेश जानेको संख्या धेरै बढेको उनको भनाइले पुष्टि गर्छ ।
तलब ८० हजारदेखि ८ लाख
जुनियर सेफ बन्न करिब ६ महिना लाग्छ । त्यसपछि भने अनुभवको आधारमा बढुवा हुँदै जान्छ । तलबको कुरा गर्दा पछिल्लो समय नेपालमै सेफहरुले न्यूनतम ८० हजारदेखि ८ लाखसम्म तलब लिन्छन् ।
साेही सिलसिलामा २ महिनाअघि अस्ट्रेलिया पुगेका सेफ नवीन महर्जनले नेपालकाे २ महिनाकाे तलबबराबर एक सातामै कमाइ हुने बताउँछन् । अस्ट्रेलिया जानुअघि उनी पाँचतारे हाेटल हायात सेफका रूपमा काम गर्थे ।
सेफको स्तर हेरेर तलब निर्धारण हुने गरेको व्यवसायीहरु बताउँछन् । तारे होटलमा उनीहरुको तलब उच्च हुन्छ । त्यस्तै विदेशमा पनि नेपाली सेफहरुको तलब आकर्षक हुन्छ ।
नेपालीले सबै क्षेत्र र जस्तोसुुकै मौसममा पनि काम गर्न सक्ने तथा विदेशीभन्दा केही सस्तो पनि पर्ने भएकाले विदेशीको रोजाइमा नेपाली सेफ पर्ने गरेको व्यवसायीहरुको भनाइ छ ।