काठमाडौं । शारडा ग्रुपअन्र्तगतको ज्यास्मिन हाइजनिक प्रोडक्ट प्रालिले उत्पादन गरेको स्यानेटरी प्याडको बिक्री बढ्दै गएको छ । नेपालमा ठूलो परिमाणमा स्याटेनरी प्याड आयात हुने गरेको भए पनि नेपाली कम्पनीको उत्पादन प्रतिस्पर्धी र गुणस्तरीय भएकाले ज्यास्मिनले बजारहिस्सा बढाउँदै लगेको छ ।
सरकारले नेपालमै स्यानेटरी प्याड उद्योगलाई प्रवर्धन गर्न नीतिगत तवरमा सुधार गरेपछि स्वदेशी उत्पादन सस्तो भएको र बिस्तारै बजारहिस्सा पनि बढ्दै गएको देखिएको हो ।
गत वर्ष सन् २०२१ मा ज्यास्मिनले स्यानेटरी प्याड, स्यानेटरी न्यापकिन, बेबी डाइपर, फेस मास्क र डाइपर उत्पादन तथा बिक्री गरेर ७९ करोड २० लाख रुपैयाँ आम्दानी गरेको छ । यो आम्दानी अघिल्लो वर्ष सन् २०२० को भन्दा ४४ प्रतिशतले बढी हो ।
सन् २०२० मा कम्पनीले स्यानेटरी प्याड, मास्क र डाइपर उत्पादन गरेर ५५ करोड १० लाख रुपैयाँ आम्दानी गरेको थियो । सन् २०१९ मा कम्पनीले उत्पादन बेचेर ४८ करोड १० लाख रुपैयाँ आम्दानी गरेको थियो ।
३ वर्षको तथ्यांक हेर्दा ज्यास्मिनको बजार विस्तार भएको देखिन्छ । कम्पनीले बजार विस्तार गर्न बैंकबाट ९७ करोड ७० लाख रुपैयाँ ऋण लिने तयारी गरेको छ । ऋण लिन केयर रेटिङसले केयर एनपी ए फर साख निर्धारण गरेको छ ।
सन् २००४ मा स्थापना भएको ज्यास्मिनको स्यानेटरी प्याड उत्पादन क्षमता वार्षिक ५ करोड पिस, डाइपर ४ करोड ५० लाख र मास्क ६० लाख पिस रहेको कम्पनीले जनाएको छ । कारखाना मोरङको विराटनगरमा रहेको छ ।
उद्योगले चीनबाट स्यानेटरी प्याड उत्पादनको कच्चावस्तु आयात गर्दै आएको छ । ज्यास्मिनको उत्पादन क्षमता वार्षिक २० करोड थान प्याड रहेको छ ।
गत आर्थिक वर्षमा मात्र २ अर्ब २० करोड ३५ लाख रुपैयाँ बराबरको स्यानेटरी प्याड, डाइपर तथा टिस्युलगायतका सामग्री आयात भएको थियो । अघिल्लो आर्थिक वर्षमा १ अर्ब ५६ करोड ९ लाख ३९ हजार रुपैयाँ बराबरको स्यानेटरी प्याड आयात भएको तथ्यांकमा देखिन्छ ।