काठमाडौं । गोल्डम्यान इन्भेस्टमेन्ट कम्पनी वित्तीय अपराधमा लागेको पाएपछि नियामक धितोपत्र बोर्डले कारबाही प्रक्रिया अघि बढाउन गृह मन्त्रालयको साथ खोजेको छ ।
कम्पनीले धितोपत्र बोर्डबाट स्वीकृति नै नलिई कोष व्यवस्थापकको काम गरिरहेको, कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भइसकेपश्चात् संस्थापक लगानीकर्ताको नाममा खुलेआम रकम संकलन गरिरहेको पाइएको छ ।
यस्तै संकलन गरेको रकम दोस्रो बजारमा लगानी गरिरहेको, सामाजिक सञ्जाजलमा भ्रामक प्रचार सामग्री तयार पारी कानुनको बर्खिलाप गर्दै गोल्डम्यान कम्पनीमा लगानी गर्न सार्वजनिक रुपमै आव्हान गरिरहेको पाएपछि धितोपत्र बोर्डले वित्तीय अपराध भएको ठहर गर्दै कारबाही अघि बढाउन गृहको साथ खोजेको हो । यस विषयमा बोर्डले अर्थ मन्त्रालयमा समेत छलफल गरिरहेको बताइएको छ ।
गोल्डम्यानले धितोपत्र कारोबार ऐन २०६३ को दफा २७ र दफा ६३ को उल्घंन गरेको पाएपछि बोर्डले अनुसन्धान प्रक्रिया अघि बढाएको जानकारी दिएको छ ।
कोष व्यवस्थापकको काम गर्ने कुनै पनि कम्पनीले सेयर तालिम दिन नपाउने भए तापनि यस कम्पनीले खुलेआम युट्युबमा भिडियो अपलोड गरी प्राविधिक विश्लेषणको तालिम दिएको सामग्री प्रकाशन गरेको छ । जुन धितोपत्र ऐनको दफा ६३ विपरीत भएको बोर्ड बताउँछ ।
बोर्डमा नै दर्ता नभई कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएर सेयर बजारलाई प्रभावित गर्ने खालका काम यस कम्पनीले गरिरहेकाले वित्तीय अपराधअन्तर्गतको कारबाही प्रकृया अगाडी बढाउन गृहसँग समन्वयको प्रयास भइरहेको बोर्डका अध्यक्ष रमेश हमालले बताए ।
‘कम्पनीले बोर्डको कानुनविपरीत वित्तीय अपराध गरिरहेको पाएका छौं । यसमा थप अनुसन्धान गर्न गृह मन्त्रालयको साथ खोजेका छौं । गृहसँग निरन्तर छलफल भइरहेको छ’ उनले भने ।
अर्थसँग पनि निरन्तर छलफल चलिरहेकाले केही दिनभित्रै निष्कर्षमा पुग्ने अध्यक्ष हमालको भनाइ छ । वित्तीय अपराधसम्बन्धी मुद्दा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गर्ने भएकाले बोर्डले उसको साथ खोजेको हमालले स्पष्ट पारे ।
गोल्डम्यानका अध्यक्ष दिपेन्द्र अग्रवालले आफू सेयर बजारको अनुभवी खेलाडी भएको र आफ्नो कम्पनीमा लगानी गरे लगानी सुरक्षित मात्रै होइन १० वर्षमा १०० गुणाले प्रतिफल प्राप्त हुने भन्दै बजारलाई प्रभावित गर्ने खालका भिडियो सामग्रीहरु खुलेआम युट्युबमा अपलोड गरेका छन् ।
यस्तै उनले क्लब हाउसमा पनि बजारलाई नै प्रभावित गर्ने खालका अभिव्यक्ति दिइरहेका हुन्छन् । वित्त कम्पनीमा लगानी गर्न, जलविद्युत् कम्पनीमा लगानी नगर्न, ३ हजारभन्दा माथिको सेयर खरिद नगर्न, बजार घट्नै नहुने, राष्ट्र बैंकको ४ करोड र १२ करोड नीति गलत भएकाले गभर्नरले राजीनामा दिनुपर्ने भन्दै उनी क्लब हाउसमा खुलेआम बोलिरहेका हुन्छन् । उनकै अभिव्यक्तिका कारण सेयर बजार पनि प्रभावित भइरहेको देखिन्छ ।
कुनै अमुक होटलमा बसी टिएमएसमार्फत बाइङ र सेलिङ प्रेसर सिर्जना गर्ने खालका अर्डर हालेर इन्साइडर ट्रेडिङ गरेको थुप्रै उजुरीहरु नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आउने गरेका छन् । कृत्रिम माग तथा आपूर्तिको सिर्जना गरी सेयरमूल्य प्रभावित गर्ने काम गरे पनि धितोपत्र बोर्डले उनलाई कारबाही गर्ने आँट गर्न सकेको छैन ।
नेप्सेमा उनीविरुद्ध आएका उजुरी र बजार प्रभावित गरेको फ्लोरसिटका फाइल तत्कालीन बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई पठाए पनि ढुंगानाले कारबाही प्रक्रिया अघि नबढाएको बोर्डका कर्मचारीहरु नै बताउँछन् ।
‘कृत्रिम माग सिर्जना गरी बजारलाई प्रभावित गर्ने प्रमाणसहितका फाइल नेप्सेले पठाए पनि तत्कालीन अध्यक्ष ढुंगानाले उक्त फाइल घर्राभित्र राखेर कारबाही गर्न मान्नुभएन’ बोर्डका एक कर्मचारीले भने ।
राजनीतिक पहुँचका आधारमा उनले बोर्डका कर्मचारीलाइ थर्काउने, धितोपत्र बोर्डमा ताला लगाउने, अर्थमन्त्री तथा राष्ट्र बैंकका गभर्नरलाई दबाब सिर्जना गर्नेजस्ता गलत क्रियाकलाप गर्दै आए पनि अग्रवालप्रति बोर्ड मौन बस्दै आएको छ ।