काठमाडौं । नजिकिँदो चुनावलाई ख्याल गरेर बजारप्रति सकारात्मक धारणा नबनाए सत्तासीन दललाई निकै अप्ठ्यारो पर्ने लगानीकर्ताहरुले बताउन थालेका छन् ।
केन्द्रीय बैंकले सेयर बजारप्रति नकारात्मक धारणा राख्दै त्यही अनुरूप नीति जारी गरेपछि बजार निरन्तर प्रभावित हुँदै आएको छ । केन्द्रीय बैंकका गभर्नर महाप्रसाद अधिकारी र कार्यकारी निर्देशकहरु सेयर बजारप्रति सकारात्मक छैनन्, उनीहरुकै सिफारिसमा गभर्नर अधिकारीले सेयर बजारलाई निरुत्साहित गर्ने गरी नीति लिएका थिए ।
त्यही नीतिका कारण सेयर बजार प्रभावित भएको लगानीकर्ताको बुझाइ छ । केन्द्रीय बैंक बजारप्रति नकारात्मक बने पनि अर्थ मन्त्रालयले समेत लगानीकर्ताको मर्म बुझ्न नसकेको बुझाइ छ ।
लगानीकर्ताले बारम्बार तरलता अभाव अन्त्य गर्न अर्थ मन्त्रालय गम्भीर नबनेको उनीहरुको भनाइ छ । ४० लाख लगानीकर्ता बजारमा छन् । उनीहरुलाई खुसी बनाइएन भने वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा ठूलो प्रभाव पर्ने देखिएको छ ।
लगानीकर्ताले नयाँ सेयर किन्न पैसा पाएका छैनन् । केन्द्रीय बैंकले यो क्षेत्रलाई अनुत्पादकका रूपमा ब्याख्या गरेपछि समस्या उत्पन्न भएको हो । अहिले बैंकको ब्याज दोहोरो अंकमा पुगिसकेको छ । महँगो ब्याजमै ऋण लिएर सेयर किन्न चाहनेहरुले पनि ऋण पाएका छैनन् । केन्द्रीय बैंकले सीसीडी लागू गरेपछिको असरका रूपमा लगानीकर्ताले बुझेका छन् ।
केन्द्रीय बैंकले बिना अध्ययन ४/१२ को नीति लियो । त्यसले पनि लगानीकर्ताको मनोविज्ञानमा ठूलो असर पार्यो । अहिले सेयर बजार प्रतिलगानीकर्ता समेत निराश छन् । उनीहरुले ठूलो रकम गुमाइसकेका छन् ।
अन्य समयमा बिमा कम्पनीको पुँजी वृद्धि गर्ने निर्णय भएको भए बजारमा रौनक आउँथ्यो । तर, बिमा समितिले यति ठूलो निर्णय गर्दा पनि बजारमा कुनै रौनक देखिएन । बरु नाफा बुक गरेर बस्नेको होडबाजी चल्यो । बजारमा देखिएको नैराश्यतालाई फर्काउन सरकारले पहलकदमी लिनुपर्ने लगानीकर्ताहरु बताउँछन् ।
आइतबार पनि बजार घटेकै थियो । सोमबार पनि त्यसले निरन्तरता पाएको छ । सोमबार २९.९८ अंकले बजार घटेर २५४२.२८ बिन्दूमा आइपुगेको छ । २६०० सयको बेसलाइनबाट बजार तल ओर्लिएकाले कतै बजार बियरिस ट्रेन्डतिर त जान लागेको होइन भन्ने त्रास लगानीकर्तामा पर्न थालेको छ । त्यही भएर अर्थमन्त्री जनार्दन शर्माले लगानीकर्ताको मनोवल फर्काउन नीतिगत निर्णय गर्नुपर्ने उनीहरु बताउँछन् ।
बजार मात्रै घटेको छैन । कारोबार रकममा पनि उच्च गिरावट आएको छ । आइतबार झण्डै ५ अर्ब कारोबार भएकोमा सोमबार २ अर्ब ५४ करोडमा सीमित हुनुले लगानीकर्ता चरम निराशाबाट गुज्रिएका छन् भन्ने देखिन्छ ।