काठमाडौं । फुल क्यास पेमेन्टमा गाडी किन्न बुकिङ गरेका ग्राहकहरुलाई अटो व्यवसायीले फोन गरेरै आफ्नो सवारी साधन लिन बोलाइरहेका छन् ।
बैंकले गाडी किन्नका लागि नयाँ ऋण नदिएपछि भएभरका गाडी भन्सार पारि वा सोरुममै थन्किएर बसेका छन् । यस्तो स्थितिमा व्यवसायीले बुकिङ गरेका ग्राहकलाई गाडी लैजान आग्रह गरेका हुन् ।
‘गाडी सोरुम तथा भन्सारमा आएर बसेका छन् । बुकिङ गरेका ग्राहकले कर्जा नपाएर किन्न सकेका छैनन्’, सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले भने, ‘यस्तो अवस्थामा बुकिङ गरेकालाई फोन गरेर अनुरोध गरिरहेका छौं ।’
इलेक्ट्रिक गाडी किन्न बैंकले ८० प्रतिशसम्म फाइनान्सिङ गर्छ । यस्तै पेट्रोल तथा डिजेलबाट चल्ने गाडी किन्न ५० प्रतिशतसम्म फाइनान्सिङ गर्ने व्यवस्था छ ।
अहिले बैंकले विद्युतीय तथा पेट्रोल/डिजेलबाट चल्ने गाडीमा नयाँ कर्जा प्रवाह गर्न छाडेपछि व्यवसायीले नगदमै गाडी किन्नेलाई बोलाउन थालेको गाडी आयातकर्ताले बताएका छन् । उनीहरुका अनुसार नगदमा गाडी किन्न बुकिङ गरेकाहरुको फाइल खोजी–खोजी गाडी लैजान आग्रह गरिएको हो ।
बैंकले मुद्दती निक्षेपमा १२ प्रतिशतसम्म ब्याज दिएपछि नगदमै गाडी किन्नेहरु पनि गाडीमा लगानी गर्नुको साटो बैंकको ब्याज खानतिर लागेका छन् । अहिले बैंकको ब्याजदर उच्च छ । केही समयसम्म बैंकमै पैसा राख्दा राम्रो ब्याज आउने भएकाले तत्काल सोरुमबाट गाडी नझिक्ने मनस्थिति बनाएर ग्राहकहरु बसेका अटो व्यवसायी बताउँछन् ।
अहिले बैंकले ३ महिनाको ब्याज स्किम चलाएर मुद्दती निक्षेप उठाइरहेका छन् । त्यसको फाइदा उठाउन निक्षेपकर्ताले तत्काल बैंकबाट पैसा ननिकाल्ने सोच बनाएका हुन् ।
बैंकले नयाँ गाडी किन्नकै लागि भनेर नयाँ ऋण नदिएपछि चालू आर्थिक वर्षको ८ महिनामा ३ अर्ब ९६ करोड ९७ लाख ३७ हजार रुपैयाँ बराबरका १३ सय ५७ वटा विद्युतीय कार नेपालमा भित्रिएका हुन् । यी कार आयात गर्दा राज्यले १ अर्ब ८ करोड ५६ लाख ३३ हजार रुपैयाँ राजस्व उठाएको छ ।
यस अवधिमा १०० किलोवाटसम्मका ६ सय २५ वटा विद्युतीय कार आयात भएका छन् । यो सेगमेन्टमा सबैभन्दा धेरै ४ सय २४ वटा विद्युतीय कार भारतबाट, १ सय १ वटा चीनबाट, ९९ वटा कोरियाबाट र एउटा फ्रान्सबाट आयात भएको भन्सार विभागको तथ्यांकमा देखिएको छ ।
एमजी, टाटा, किया, हुन्डाईलगायत कम्पनीले विद्युतीय गाडीको आयातलाई तीव्र बनाएका छन् । तर, यस अवधिमा बैंकले कर्जा नदिँदा गाडी बिक्री ठप्पप्रायः बनेको व्यवसायीहरु बताउँछन् ।