काठमाडौं । कोभिड–१९ को संक्रमण न्यून भएसँगै पर्यटन क्षेत्रमा लगानी विस्तार हुन थालेको छ । आन्तरिक एवं बाह्य पर्यटकको आकर्षण पोखराको लेकसाइडमा नयाँ रिसोर्ट थपिने भएको छ ।
लामो समयदेखि पोखरामा शिक्षा र पर्यटन क्षेत्रमा लगानी गर्दै आएका रमेश थापाले लेकसाइडमा नयाँ रिसोर्ट ‘अनामिका रिट्रिट’ निर्माण सुरु गरेका छन् ।
कोभिडका कारण निर्माण समय केही ढिला भएको थियो । तर, अहिले तीव्र गतिमा काम अघि बढिरहेको उनको भनाइ छ ।करिब २२ करोडको लगानीमा निर्माण भइरहेको सो रिसोर्ट २ वर्षभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको उनले सुनाए । ‘कोभिडले पर्यटनक्षेत्र नै ध्वस्त बनायो । अहिले २० प्रतिशत काम सकिएको छ’ थापाले भने ।
आन्तरिक एवं बाह्य पर्यटकहरुलाई लक्षित गरी १२ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको सो रिसोर्टमा ५६ वटा कोठाहरु हुनेछन् । साथै स्वीमिङ पुल र हेल्थ क्लब पनि त्यहाँ हुनेछ ।
समयसँगै रिसोर्ट र रेष्टुराँहरु निर्माण हुने क्रम बढ्दो छ । ती रिसोर्टहरुको भीडमा अनामिकाले नयाँ र पृथक् सेवा दिने उनको भनाइ छ । यस्तै सो रिसोर्टलाई वेलनेसको रुपमा विस्तार गर्ने तयारीसमेत रहेको थापाले बताए ।
लक्जरियस र वेलनेस रिसोर्टमा बस्न चाहनेका लागि अनामिका उपयुक्त गन्तव्य हुने र त्यसलाई विस्तार गर्ने योजना थापाको छ ।
यस्तै बढ्दो पर्यटकीय गतिविधिसँगै गुणस्तरीय सेवा लिन चाहनेहरुको संख्या पनि बढ्दै गएकोले त्यसैलाई मध्यनजर गरी यस्ता रिसोर्टहरु निर्माण हुन थालेको व्यवसायी प्रवेश राजभण्डारीको भनाइ छ ।
विषेश गरी कोभिडपछि खुल्ला ठाउँ र शान्त वातावरण भएका होटल, रिसोर्टमा बस्न रुचाउने धेरै ग्राहक पोखरा आउन थालको उनको दाबी छ । राजभण्डारीले लेकसाइडसँगै पोखराकै कालिका डाँडामा हेभन रिसोर्ट र पर्वतमा लालटिन रिसोर्ट सञ्चालन गर्दै आएका छन् ।
थापाले पोखरामा एक्स्पर्ट एजुकेसन एन्ड भिजा सर्भिसेस, मेडिप्लस अस्पताल, ट्राभल एजेन्सीलगायतका क्षेत्रमा लगानी विस्तार गर्दै आएका छन् ।