काठमाडौं । २०७८ वैशाख ११ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बडो तामझामका साथ धरहराको उद्घाटन गरे । त्यस बेला धरहराको काम लगभग सकिएको र चाँडै सर्वसाधारणलाई खुला गर्ने जानकारी गराइएको थियो ।
ओलीले नेपालीको भावना र गौरव, अतीत र इतिहास जोडिएको धरहरा निर्माण सम्पन्न हुँदा खुसी अनुभव भएको बताएका थिए । यति मात्र होइन ‘इतिहास झल्कने, आधुनिकता टल्कने गरी धरहरा पुनर्निर्माण भएको छ । सुन्दर, आकर्षक र मजबुत धरहरा चढ्दा आइफिल टावर चढेजस्तै अनुभव भयो’ उनले भनेका थिए ।
तर, त्यही धरहरा पुनर्निर्माण नसकिएपछि अहिले म्याद थपको प्रक्रिया अघि बढाइएको छ । पुनर्निर्माणको जिम्मेवारी लिएको ठेक्केदार कम्पनी रमन कन्ट्रक्सनले समयमा काम पूरा नगर्दा अहिले धरहरा पुनर्निर्माणको म्याद थप्न लागिएको हो । उसको समय यही चैत मसान्तसम्म रहेकाले म्याद थपको प्रक्रिया अघि बढाएको बताइएको छ ।
ओलीले उद्घाटन गरेको धरहराको काम ७८ प्रतिशत मात्रै सकिएको छ । रमन कन्ट्रक्सनले २०७९ को चैतसम्म अर्थात् १ वर्षका लागि म्याद थप गर्न माग गरेको छ । कन्ट्रक्सनका आयोजना प्रबन्धक सञ्जय नकर्मीका अनुसार २०७९ चैतसम्म म्याद थप गर्न कन्ट्रक्सनले सहरी विकास मन्त्रालयलाई पत्र पठाएको छ ।
यद्यपि सर्वसाधारणले भने दसैंमा धरहरा चढ्न पाउने गरी निर्माणकार्य सञ्चालन गरी रहेको प्रबन्धक नकर्मीको भनाइ छ । ‘दसैंमा धरहरा चढ्न मिल्ने गरी काम गर्दै छौैं’, उनले भने, ‘तर, बाहिरका अन्य काम सम्पन्न गर्न धेरै समय लाग्ने भएर अर्को चैतसम्मको म्याद मागेका हौं ।’
करिब ७० प्रतिशत पुनर्निर्माण हुँदा नै बडो तामझामका साथ धरहराको उद्घाटन गरिएको थियो । उद्घाटनका बेला सर्वसाधाणका लागि खुला हुने बताइएको थियो । तर, उद्घाटन भएको ११ महिनापछि पनि जम्मा ७८ प्रतिशत मात्रै काम सकिएको छ ।
२२ तले धरहरा ठडिनासाथ ओलीले गरेको उद्घाटनप्रति प्रबन्धक नकर्मी सन्तुष्ट छैनन् । ‘पूर्वप्रधानमन्त्री ओलीलाई हतार भएकाले काम नै नसकी उद्घाटन गरिएको हो’, उनी भने, ‘सर्वसाधारणका लागि आवश्यक पर्ने संरचना र वस्तुको निर्माण गर्नै बाँकी छ ।’
२०७२ साल वैशाख १२ को भूकम्पले भत्काएपछि धरहरा पुनर्निर्माणको जिम्मेवारी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई दिइएको थियो । प्राधिकरणको ६ वर्षको कार्यअवधि समाप्त भएसँगै २०७८ पुस ९ गतेबाट बाँकी पुनर्निमार्णको काम सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ भवन तथा आवास कार्यालयले लिएको छ ।
एकाइ भवन तथा आवास कार्यालयका सिनियर डिभिजन इन्जिनियर (सीडीई) झपडसिंह विश्वकर्माका अनुसार कार्यालयले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट पुस ९ गते जिम्मेवारी सम्हालेको हो । ‘धमाधम काम हुँदा पनि वैशाखपछि ५ महिना समय लाग्छ । दसैंमा सर्वसाधारणले चढ्न पाउने गरी काम गर्दैछौं’ उनले भने ।
के के काम बाँकी छन् ?
धरहराको उत्तर–पश्चिमतर्फ म्युजियम राख्ने योजनाअनुसार हाल निर्माणकार्य चलिरहेको सीडीई विश्वकर्मा बताउँछन् । पुनर्निर्माण भएको धरहराअघि केही संरचना सम्पन्न गर्न बाँकी नै रहेको कार्यालयले जनाएको छ । त्यस्तै जेनेरेटर, हाउस, बगैंचालगायत पूर्वाधार निर्माण गर्न बाँकी रहेको सीडीई विश्वकर्मा बताउँछन् ।
साथै स्थानीयले कुल देवताको पुजा गर्ने ठाउँ र सुन्धारामा पानीको व्यवस्था गर्नुपर्ने माग पनि उठाएका छन् । यस्तै पुरानो धरहरा व्यवस्थापन गर्ने विषयमा पनि अन्योलता रहेको रमन कन्ट्रक्सनका प्रबन्धक नकर्मी बताउँछन् ।
‘पुरानो धरहरा खुला राख्ने वा अन्य विकल्प अपनाउने भन्ने निष्कर्ष निस्किएको छैन । यसकारण पनि काम गर्नमा ढिलाइ भइरहेको छ’, नकर्मी भन्छन्, ‘सुन्धारामा पानी कहाँबाट ल्याउने र निष्कासन कहाँ गर्ने पनि टुंगो छैन ।’
साथै आगलागी भएका बेला व्यवस्थापन गर्ने, एसी, पार्किङलगायत व्यवस्थापनको कार्य पनि निर्माणाधीन अवस्थामा रहेको बताइएको छ ।
तर, समयमा डिजाइन प्राप्त नहुँदा पुनर्निर्माण कार्य सन्पन्न गर्न बाधा पुगेको रमन कन्ट्रक्सनले जनाएको छ । ‘सर्वसाधारणका लागि धरहरा खुला गरेपछि आवत–जावत गर्नेको संख्या धेरै हुन्छ । त्यसलाई ख्याल गरेर आवश्यक तयारी गर्नुपर्ने हुन्छ । उसै खुल्ला गरी मात्रै हुँदैन’ नकर्मीले भने ।
३ अर्ब ८ करोड रुपैयाँमा निर्माणको जिम्मेवारी लिएको रमनले सन् २०२१ को डिसेम्बरसम्म २ अर्ब १२ करोड रुपैयाँ खर्च गरिसकेको छ । पूर्वप्रधामन्त्री ओलीले २०७२ फागुन ४ गते ‘म बनाउँछु, मेरो धरहरा’ अभियान आफैंले सुरु गरेको बताउँदै गत वैशाखमा धरहरा निर्माणकार्य सकिँदा खुसी लागेको बताएका थिए ।
‘म बनाउँछु, मेरो धरहरा’ अभियान अन्तर्गत २४ करोड रूपैयाँ संकलन भएको थियो ।
पुनर्निर्माण कार्यमा संलग्न इन्जिनियरहरूका अनुसार नयाँ धरहराले १० रेक्टर स्केलसम्मको भूकम्प थेग्न सक्नेछ ।२०७२ मा भूकम्प गए पनि पुनर्निर्माणमा विवाद हुँदा २०७५ मा मात्रै काम सुरु भएको थियो । बाहिरबाट हेर्दा ११ तलाको देखिए पनि भित्रबाट भने धरहरा २२ तलाको छ ।