काठमाडौं । बिमा समितिले पुँजी बढाउने योजना सार्वजनिक गरे पनि सेयर बजार प्रतिको नकारात्मक धारणा चिर्न सकेन । बिमा समितिले बिमा कम्पनीको पुँजी वृद्धि गर्न दिने निर्णय गरेपछि उचालिएको सेयर बजारमा नाफा बुक गर्ने सक्रिय हुँदा बजार घटेको आँकलन गर्न थालिएको छ ।
लामो समयदेखि लगानीकर्ताले नाफा बुक गर्न पाएका थिएनन् । तर, बिमा समितिले पुँजी वृद्धि गर्न अनुमति दिने निर्णय गरेपछि बिमा कम्पनीको मूल्य सुरुमा बढेको थियो । तर, बजार बन्द हुने बेलामा निर्जीबन बिमा कम्पनीको मूल्य १३३ अंकले बढ्यो भने जीवन बिमा कम्पनीको मूल्य ९८.६१ अंकले घट्यो ।
लगानीकर्ताले बिमा कम्पनीले बजार जोगाउने अपेक्षा गरेका थिए । तर, नयाँ सेयर किन्न बैंकले ऋण ठप्प बनाए पछि कुनै पनि लगानीकर्ताले सेयर किन्न पाएका छैनन्, जसका कारण बजार घटेको छ । बजारमा लगानीयोग्य रकममा कुनै सुधार नआएपछि त्यसको प्रत्यक्ष असर बजारमा परेको हो ।
अन्य कम्पनीको सेयर मूल्य निरन्तर घटिरहेका बेला बिमा कम्पनीको सेयर बढिरहेको थियो । त्यही बेला लगानीकर्ताले नाफा बुक गर्दा बिमा समूह पनि घटेको हो ।
एकातिर लगानीकर्ताको मनमा बैंकको ब्याज तत्काल नघट्ने, नयाँ कर्जा नपाउने परेको छ । त्यसले पनि बजार प्रभावित बनाइरहेको छ । अर्को कुरा भनेको– बिमा कम्पनीका लगानीकर्ताले लामो समयदेखि नाफा बुक गर्न पाएका थिएनन् । आइतबार नाफा बुक गर्न खोज्दा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४१.४३ अंकले घटेर २५७२.२३ बिन्दुमा झरेको छ । यसदिन कारोबारर रकममा उच्च सुधार देखिएको छ । यसदिन ४ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ ।
बजार खुलेको पहिलो प्रहरमा बजार सकारात्मक देखिए पनि विस्तारै बिक्रेता हावी भएपछि नेप्से सूचकले दबाबको सामना गरेको हो । निर्जीवन बिमा समूहको सूचकमा हरियाली कायमै रहे पनि जीवन बिमाको सूचक भने अन्तिम प्रहरमा दबाबमा परेको हो । पुँजी वृद्धि खबरले आइतबार पहिलो प्रहरमा विशेषगरी बिमा कम्पनीहरुको सेयरमा निकै उत्साह देखिएको थियो ।
तर, अन्तिम प्रहरमा बिक्रेता हावी हुँदा खासगरी जीवन बिमा समूहको सूचकले पनि दबाबको सामना गर्नुपरेको हो । गत बिहीबार बिमा समितिले बिमा कम्पनीहरुको पुँजी १५०५ ले वृद्धि गर्नुपर्ने निर्देशन जारी गरेको छ । पुँजी वृद्धि गर्नुपर्ने भएकाले हकप्रद तथा बोनस सेयर पाइने आशमा लगानीकर्ता यतातिर आकर्षित हुने अनुमान गरिँदै आएको छ ।
सबल कम्पनीहरुले बोनस तथा हकप्रद जारी गर्न सक्ने देखिएको छ भने कमजोर कम्पनीहरु मर्जर–एक्विजिसनमा जान सक्नेछन् । तथापि, पुँजी वृद्धि कसरी गर्ने भनेर मोडालिटी आइसकेको छैन । अब १ महिनाभित्र बिमा कम्पनीहरुले पुँजी वृद्धि कसरी गर्ने भनेर बिमा समितिमा क्यापिटल प्लान पेस गर्नेछन् । त्यसपछि मोडालिटीले थप स्पष्टता पाउने अपेक्षा गरिएको छ । यसले ढिलोचाँडो पुँजी बजारमा सकारात्मक वातावरण पैदा गर्ने अपेक्षा गरिएको छ ।
स्थानीय निकायको निर्वाचन नजिकिँदैछ । सेयर बजारमा पनि विस्तारै सिजन सुरु हुँदैछ । सूचीकृत कम्पनीहरुको तेस्रो त्रैमासको रिपोर्ट आउने दिन नजिकिँदैछ । कम्पनीहरुको नाफा वृद्धि भएमा त्यसले बजार सकारात्मक बनाउन भूमिका खेल्न सक्नेछ । यतिबेला सरकारी खर्चमा पनि सुधार हुँदै जान थालेको छ । यी परिदृश्यहरुमा सेयर बजार पनि विस्तारै सकारात्मक गतिमा अघि बढ्ने अपेक्षा गर्न सकिन्छ ।
तर, व्यवहारमा भने अहिलेसम्म आम लगानीकर्ताको अपेक्षाअनुसार समग्रमा सेयर बजारले प्रस्तुति गर्न सकेको छैन । लामो समयदेखि सेयर बजार डाउन ट्रेन्डमै रहेको छ । वित्तीय प्रणालीमा तरलता अभाव र ब्याजदर वृद्धिले बजारको उकालो यात्रामा ब्रेक लगाएको हो । सेयर बजारले अपेक्षाकृत गति लिनका लागि तरलता अवस्थामा सुधार र ब्याजदर घट्नुपर्ने विश्लेषकहरुले बताइरहेका छन् ।
आम लगानीकर्ताले भने आफ्नै हिसाबले लगानी रणनीति तय गर्नुपर्ने हुन्छ । बजार घट्दा होस् वा बढ्दा, लगानीकर्ताले कम्पनीहरुले सार्वजनिक गरेका वित्तीय विवरणहरु, सम्बद्ध कम्पनीको व्यवस्थापन र सञ्चालकहरुका बारेमा पनि अध्ययन गर्नुपर्छ । सबल वित्तीय सूचक भएका कम्पनीहरुमा सकेसम्म दीर्घकालीन हिसाबले लगानी गर्न सके लाभ लिन सकिने अनुभवीहरु बताउँछन् ।