काठमाडौं । नेपालको प्रतिनिधित्व गर्दै भारतका लागि नवनियुक्त राजदूत डा. शंकरप्रसाद शर्माले लघु, घरेलु तथा साना उद्योगहरूले उत्पादन गरेका वस्तुहरूको अन्तर्राष्ट्रिय प्रवर्द्धनमा सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
स्थानीयस्तरमा उत्पादित वस्तुहरूलाई भारतमा प्रवर्द्धन गर्ने उनले बताए । नेपाल घरेलु तथा साना उद्योग महासंघले राजधानीमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा आफूले काम गर्ने मुलुकमा साना उद्योगीका नेपाली उत्पादन र वस्तुहरूको बजारीकरणमा सघाउने उनले बताए ।
लगानी र निर्यात अभिवृद्धिका क्षेत्र पहिचान गरेर सरकार र निजी क्षेत्रले संयुक्त रूपमा काम गर्न सक्ने भन्दै उनले दुई देशका निजी क्षेत्रबीच सम्बन्ध विस्तार गरी लगानीमा सहजीकरण गराउनेतर्फ आफूले पहल गर्ने बताए ।
नेपालसँग भारतको र भारतसँग नेपालको सम्बन्ध एकदमै प्रगाढ रहेको भन्दै उनले भने, ‘चाहे व्यापारको कुरा गरौं, आयात निर्यातकै पनि कुरा गरौं ।
झन्डै कुल व्यापारमा दुईतिहाइ भारतमै हुने गरेको छ । निर्यातमा पनि सोयाबिन तेल, पाम तेलले गर्दा झन्डै ७५ प्रतिशत भारतमा हुने गरेको छ ।’
महासंघका निवर्तमान अध्यक्ष श्यामप्रसाद गिरीले अन्तर्राष्ट्रियस्तरमा नेपालको इकोनोमिक डिप्लोमेसी भनेको अहिलेसम्म दूतावासको भित्तामा नेपाली वस्तुमा टुङ्गिने गरेको पाइएको र भारतमा पनि त्यस्तै पाइएको बताए ।
महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले सरकारको आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्ने उत्पादनमूलक उद्यम व्यवसायको प्रवर्द्धन गर्नुपर्ने मुख्य चुनौती रहेको भन्दै यस्तो चुनौतीको सामना गर्न लघु, घरेलु तथा साना उद्योगहरूको विकास र प्रवर्द्धन गर्न आवश्यक भएकोमा जोड दिए । यस्ता उत्पादनहरूको निर्यात प्रवर्द्धनका लागि राजदूत शर्माले आफ्नो कार्यक्षेत्रमा आर्थिक कूटनीतिको भूमिका खेल्ने अपेक्षा उनले व्यक्त गरे ।
कार्यक्रममा महासंघका पूर्वअध्यक्षहरू वासु गिरी, सुरेश प्रधान, वरिष्ठ उपाध्यक्ष सूर्य कँडेल, महासंघअन्तर्गत महिला उद्यमी समितिका अध्यक्ष रोशनी उपाध्यायलगायतको सहभागिता थियो ।