काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले राष्ट्रको आवश्यकता अनुसारका लगानी परियोजनाको पहिचान, अन्तर्राष्ट्रिय रुपमा आफ्नो माध्यममार्फत लगानीकर्ताको खोजी गर्ने भएको छ । लगानीकर्ता खोजीमा महासंघले लगानी बोर्डलाई सहयोग गर्ने भएको छ । त्यसैगरी महासंघले स्वदेश तथा विदेशमा लगानीसम्बन्धी रोड सोका अतिरिक्त महत्वपूर्ण गतिविधिको आयोजनामा सहयोग गर्ने समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ ।
आपसी सहकार्यका माध्यमबाट मुलुकभित्र आन्तरिक र वाह्य लगानी प्रवर्द्धनमा सहकार्य गर्ने उद्देश्यले महासंघ र लगानी बोर्डबीच आइतबार एमओयूमा हस्ताक्षर भएको हो । अर्थमन्त्री जनार्दन शर्माको उपस्थितिमा भएको एमओयूमा महासंघका अध्यक्ष शेखर गोल्छा र बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्टले हस्ताक्षर गरेका छन् ।
सहमतिअनुसार अब महासंघको सचिवालयमा प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सहायता कक्षसमेत स्थापना गरिने छ । सहायता कक्षको सञ्चालनमा बोर्डका तर्फबाट प्राविधिक सहयोगका साथै सहायता कक्षको क्षमता अभिवृद्धि, सीप विकास र ज्ञानको आदान-प्रदानमा सहयोग गरिनेछ ।
त्यसैगरी लगानी प्रवर्द्धनका दिशामा सार्वजनिक निजी साझेदारी (पीपीपी) खाकाको अवधारणाभित्र रही दुवै संस्था निरन्तर सहकार्य, लगानी सम्बन्धी ज्ञान, अनुुभव एवं सूचनाको आदानप्रदान, नीतिगत सुधारमा सहकार्य गर्ने छन् । यस्तै वैदेशिक लगानी प्रवर्द्धनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा आयोजना हुने सभा, सम्मेलन, प्रर्दशनी, गोष्ठी, कार्यशाला, तालिम र यस्तै प्रकारका अन्य गतिविधिहरुको आयोजनामा महासंघले बाेर्डलाई प्रत्यक्ष सहयोग पुर्याउने छ ।
महासंघको अन्तर्राष्ट्रिय लगानी प्रवद्र्धन समितिले लगानी प्रवर्द्धनका लागी तयार गर्ने सवै दस्तावेजहरुमा बोर्डले पनि सहयोग गर्ने छ । त्यसैगरी दुवै संस्थाले लगानीसम्बन्धी तथ्याक, प्रतिवेदन, संयुक्त रुपमा तयार पारिएका प्रतिवेदनहरु, वाह्य लगानी आकर्षणमा देखापरेका चुनौती तथा अवसरहरु र पीपीपीम लगानी सम्बन्धी नीति पैरवी लगायतमा सहयोग, सहकार्य, आदान प्रदान गर्नेछन् ।
महासंघले लगानीका अवसरसम्बन्धी डाइरेक्टरीको तयारीमा पनि सहयोग गर्नेछ । त्यसैगरी दुवै संस्थाले सवै प्रकारका लगानी, परियोजना विकास लगायतमा संयुक्त रुपमा अध्ययन अनुसन्धानमा समेत सहकार्य गर्नेछन् ।
बोर्डका उपाध्यक्ष अर्थमन्त्री जनार्दन शर्माले मुलुकभित्र आन्तरिक एवं वाह्य लगानी प्रवर्द्धनका लागि बाेर्ड र महासंघबीचको समझदारी एउटा अनुपम उदाहरण भएको र समझदारीमा उल्लेख गरिएका सहमतीका दफाहरुलाई दुवै संस्थाले अधिकतम सफल पार्नेमा आफू पूर्णविश्वस्त रहेको बताए ।
उनले यो सहमतीबाट सिंगो राष्ट्रनै लाभान्वित हुने पनि बताए । लगानीका लागि गरिएको प्रतिबद्धता अनुरुप लगानी आउन नसक्नुका पछाडी मिहिन ढंगले अध्ययन गरी प्रतिवद्धता अनुरुपको अधिकतम लगानी भित्रयाउन सरकार लागी रहेको उनको भनाइ थियो ।
बोर्डका सीईओ भट्टले बोर्ड र महासंघ बीचको समझदारी ऐतिहासिक भएको बताए । लामो गृहकार्य पश्चात सम्पन्न समझदारीपत्र हस्ताक्षर कार्यक्रम एउटा ऐतिहासिक सुरुवात भएको भन्दै सहमतीलाई सफल पार्न बोर्डले कुनै कसर वांकी नराख्ने भन्दै महासंघबाट पनि आफूले पूर्ण सहयोग पाउने विश्वास प्रकट गरे ।
महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकभित्र आन्तरिक एवं वाह्य लगानी प्रवर्द्धनमा समझदारी कोशेढुंगा हुने विश्वास व्यक्त गरे । अध्यक्ष गोल्छाले समझदारीले लगानी बोर्डसग लगानी प्रवर्द्धनमा सहकार्य गर्ने ढोका खुुलेको बताए। महासंघको सचिवालयमा बोर्डको समेत संलग्नता र सहयोगमा खुल्ने सहायता कक्षले ठोस परिणाम दिने पनि उनले विश्वास प्रकट गरे।
हस्ताक्षर कार्यक्रममा लगानी बाेर्डका सदस्य एवं महासंघका निवर्तमान अध्यक्ष भवानी राणा र बाेर्डका सहसचिव भगवान अर्यालले बाेर्ड र महासंघबीचको समझदारीबाट मुलुकभित्र लगानी प्रवद्र्धनका लागि एउटा नयां अध्यायको सुरुवात भएको भन्दै सफलताको शुुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठ, रामचन्द्र संघाई, महासंघको अन्तर्राष्ट्रिय लगानी प्रवर्द्धन समितिका सभापति आनन्द बगाडिया, कार्यकारिणी समितिका सदस्यहरु, महासंघ र लगानी बाेर्डका वरिष्ठ अधिकारीहरुको उपस्थिति थियो ।