प्रभु क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डको समन्वयमा नेपालमै पहिलोपटक इन्टर कलेज फाइनान्सियल क्विज कम्पिटिसन २०२२ कार्यक्रम सम्पन्न गरेको छ ।
क्यापिटलले काठमाडाैं उपत्यकाभित्रका १५ वटा बिजनेस कलेजमा अध्ययनरत बीबीए तथा एमबीए तहका विद्यार्थीहरुलाई सहभागी गराएर यो प्रतियोगिता आयोजना गरेको हो ।
ग्लोबल मनी विक अन्तर्गत सेयर बजारसम्बन्धी साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो ।
प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालीको सभापतित्वमा आयोजित सो कार्यक्रममा नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक तथा ग्लोबल मनी विकमा पुँजीबजार संयोजक डा. नवराज अधिकारी प्रमुख अतिथि, नेपाल राष्ट्र बैंकका निर्देशक मुक्तिनाथ सापकोटा तथा नेपाल स्टक एक्सचेन्जका प्रवक्ता मुराहरि पराजुली विशेष अतिथिका रुपमा उपस्थित थिए ।
प्रतियोगितामा कुल १२५ अंकसहित काठमाडांै युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्ट (कुसुम) प्रथम, ८५ अंकसहित साउथ एसियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट (साइम) कलेज दोश्रो भएका थिए । यस्तै तेश्रोमा ७५ अंकसहित एपेक्स कलेज र युनिग्लोब कलेजबीच टाई भएकामा थप प्रश्नको सही उत्तर दिएर एपेक्स कलेज तेश्रो भएको थियो ।
प्रतियोगितामा प्रथम हुने कलेजलाई शिल्ड, प्रमाणपत्रका साथै सहभागी विद्यार्थीहरुलाई २० हजार रुपैयाँ बराबरको प्रभु सेलेक्ट फन्डको युनिट गरिएको छ । साथै दोश्रो हुने कलेजलाई शिल्ड प्रमाणपत्र र सहभागी विद्यार्थीहरुलाई १० हजार बराबरको प्रभु सेलेक्ट फन्डको युनिट प्रदान गर्नाका साथै तेश्रो हुने कलेजलाई पनि शिल्ड, प्रमाणपत्रका साथै सहभागी विद्यार्थीहरुलाई ५ हजार बराबरको प्रभु सेलेक्ट फन्डको युनिट प्रदान गरिएको छ ।
प्रतियोगितामा सहभागी सबै प्रतियोगी विद्यार्थीले प्रभु क्यापिटलमा डिम्याट खाता खोल्दा २ वर्षको लागि निःशुल्क डिम्याट खाता र मेरो सेयर अनलाइन सेवा पाएका छन् ।