काठमाडौं । स्वदेशी लगानीमा निर्माण हुन लागेको अर्धजलाशययुक्त १०६ मेगावाट जगदुल्ला जलविद्युत् आयोजना निर्माण गर्न विकासकर्ता जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडले संस्थापक सेयरधनीसँग रकम मागेको छ ।
कम्पनीले विद्युत उत्पादन कम्पनी लिमिटेड, हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल), नेपाल विद्युत प्राधिकरण,कर्णाली प्रदेश सरकार र स्थानीय तह जगदुल्ला र मुड्केचुला गाउँपालिकालाई सेयर रकम जम्मा गर्न भनेको हो ।
संस्थापक सेयरधनीबाट जगदुल्लाले ६३ करोड ४९ लाख ३० हजार रुपैयाँ संकलन गर्ने भएको छ । जसअनुसार विद्युत उत्पादनको ४ करोड ९१ लाख ८० हजार, एचआईडीसीएलले २३ करोड ४३ लाख, विद्युत प्राधिकरणले २१ करोड ८ लाख ७० हजार, कर्णाली सरकारले ११ करोड ७१ लाख ५० हजार र स्थानीय तहहरुले २ करोड ३४ लाख ३० हजार रुपैयाँ जम्मा गर्नुपर्ने कम्पनीले जनाएको छ ।
कबुल गरेको सेयर रकम ३० दिनभित्र एभरेष्ट बैंकमा जम्मा गर्न कम्पनीले संस्थापक सेयरधनीहरुलाई अनुरोधसमेत गरेको छ । आयोजना निर्माणका लागि १० प्रतिशत सेयर स्थानीयवासीले पाउने भएका छन् ।
मुड्केचुला गाउँपालिका–४ इलमा विद्युत् उत्पादनगृह निर्माण हुनेछ भने, जगदुल्ला गाउँपालिका–१ हुरिकोटमा मुख्य बाँध रहनेछ । नेपालको पानी जनताको लगानीअन्तर्गत आयोजनाले विद्युत् उत्पादन गर्नेछ । करिब २० अर्ब रुपैयाँ लगानीमा निर्माण हुन लागेको यो आयोजना दैनिक १ करोड २० लाख रुपैयाँ आम्दानी गर्ने छ ।
जटिल भूगोल र हेलिकप्टरबाट ल्याइएका सामग्रीबाट त्यहाँको नमूना परीक्षण हुने गरेको छ । आयोजनाका लागि आवश्यकपर्ने २६० रोपनी जग्गा अधिग्रहण र मुआब्जाको काम अघिल्लो वर्ष नै भइसकेको छ । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) काम समेत सम्पन्न अघिल्लो वर्ष सम्पन्न भइसकेको छ । एनईए इञ्जिनीयरिङ लिमिटेडले तयार पारेको डीपीआरअनुसार आयोजनाको जडित क्षमता १०६ मेगावाट छ ।
आयोजनाले उत्पादित विद्युत् बिक्रीका लागि गरिने विद्युत् खरिद बिक्री सम्झौता नेपाल विद्युत् प्राधिकरणसँग तथा वित्त व्यवस्थापनका लागि विभिन्न बैंक तथा वित्तीय संस्थासँग छलफल तथा प्रस्तुतीकरण गरी सम्झौताको अन्तिम चरणमा रहेकाले अर्को आर्थिक वर्ष मुख्य कार्यको निर्माण सुरु गर्ने लक्ष्य रहेको जनाएको छ ।
आयोजनाको पहुँच मार्ग जाजरकोट–डोल्पा सडक त्रिवेणीबाट करिब ४५ किलोमिटर सहायक सडक निर्माण गरी आयोजनास्थल मुड्केचुला र जगदुल्ला सडकखण्ड निर्माण गर्नुपर्ने छ ।
आयोजनाको डीपीआरअनुसार आयोजना निर्माणको कुल लागत २० अर्ब रुपैयाँ अनुमान गरिएको छ । यसअघि ३०७ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ काम थालिएको भए पनि भौगोलिक विकटताका कारण १०६ मेगावाट मात्र विद्युत् उत्पादन गर्न सकिने आयोजनाले जानकारी दिएको छ । ७ किलोमिटर लामो भूमिगत सुरुङ निर्माण गरी इलस्थित ३०० मिटरभित्र रहेको विद्युत् उत्पादन गृहमा खसालेर विद्युत् उत्पादन गर्ने लक्ष्य छ ।
जगदुल्ला गाउँपालिका–१, हुरिकोटमा २३ मिटर उचाइको जलाशययुक्त ड्याम निर्माण हुनेछ । यहाँ करिब ६ घण्टा पानी थुनेर आयोजना सञ्चालन गरिने छ ।
आयोजना निर्माणका लागि आवश्यक बिजुलीको निम्ति इलस्थित फेदीखोलाबाट २ मेगावाट र काइगाउँस्थित स्थानीय खोलाबाट २ मेगावाट विद्युत् उत्पादन गर्न सम्भाव्यता अध्ययनको काम सुरु गर्न लागिएको छ ।