काठमाडौं । हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एआईडीसीएल) ले मिडिल मेवा जलविद्युत आयोजनामा २० प्रतिशत स्वपुँजी (इक्विटी) लगानी गर्ने भएको छ ।
मेवा डेभलपर्स लिमिटेडले बनाइरहेको सो आयोजनामा एचआईडीसीएलको २० प्रतिशत स्वपुँजी लगानी हुने भएको छ । मेवा डेभलपर्सले आयोजनाको क्षमता बढाएर ७३.५ मेगावाट पुर्याएपछि थप इक्विटीको आवश्यकता पुरा गर्न एचआईडीसीएलको प्रवेश भएको हो । यसअघि आयोजना ४९ मेगावाटमा डिजाइन गरी निर्माण भइरहेको छ ।
आयोजनाको क्षमता साढे २४ मेगावाट बढेको छ । मिडिल मेवा अर्धजलासययुक्त आयोजना हो । आयोजनामा एचआईडीसीएलले ५५ करोड रुपैयाँसम्म इक्विटीमा लगानी गर्ने प्रमुख कार्यकारी अधिकृत (सीईओ) अर्जुनकुमार गौतमले बताए । पछिल्लो समय एचआईडीसीएलले जलविद्युत आयोजनामा इक्विटी लगानीमा जोड दिन थालेको छ ।
आयोजनाको क्षमता बढेकाले ऋण लगानी थप्नु पर्ने भएको छ । आयोजनाको क्षमता बढेपछि एचआईडीसीएलले इक्विटीमा लगानी गरेको मेवा डेभलपर्सका अध्यक्ष विजय राजभण्डारीले बताए । उनले आयोजनामा थप लगानी जुटाउने विषयमा गृहकार्य भइरहेको सुनाए ।
आयोजनको क्षमता बढे पनि निर्धारित समय सन् २०२३ को अक्टुबरमा सम्पन्न गर्ने लक्ष्य रहेको उनको भनाई छ । एचआईडीसीएलको प्रवेश भएकाले आयोजना सार्वजनिक निजी साझेदार (पीपीपी) मोडेलमा गएको छ ।
यसअघि आयोजनामा आधा दर्जन बैंकहरुले ऋण लगानीको सम्झौता गरिसकेका छन् । हिमालयन बैंकको अगुवाइमा नेपाल इन्फास्ट्रक्चर बैंक (निफ्रा) कुमारी बैंक, नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंक, नेपाल एसबीआई बैंक र सानिमा बैंकले गरी ६ अर्ब ९५ करोड रुपैयाँ लगानीको सम्झौता गरिसकेका छन् ।
हिमालयनको १ अर्ब ५० करोड, निफ्राको १ अर्ब ५० करोड, कुमारीले १ अर्ब २५ करोड, नेपाल एसबीआईले १ अर्ब, एनसीसीले १ अर्ब तथा सानिमाले ६९ करोड ५० लाख रुपैयाँ लगानी गर्ने छन । आयोजना बनाउन ९ अर्ब २६ करोड रुपैयाँ छ । बाँकी १ अर्ब ९५ करोड रुपैयाँ लाग्ने भए पनि लागत बढ्ने भएको छ । क्षमता बढेपछि लागत पनि बढ्ने भएको छ । मेवा डेभलपर्स सीई ग्रुपको सहायक कम्पनी हो ।
४९ मेगावाटमा डिजाइन गर्दा अर्धजलासययुक्त आयोजनाबाट वार्षिक २९ करोड युनिट बिजुली उत्पादन हुने संभाव्यता अध्ययनले देखाएको छ । आयोजनाबाट उत्पादन हुने बिजुली ताप्लेजुङको ढुङेसाँघुस्थित हाङपाङ सवस्टेशनमा जोडिने छ । आयोजना ताप्लेजुङको मिक्वाखोला र मेरिङदेन गाउँपालिका भएर बग्ने मेवा खोलामा रहने छ ।
आयोजना प्रभावित स्थानियबासिन्दा र सर्वसाधारणलाई २० प्रतिशत प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेर लगानी जुटाउने तयारी छ । अर्धजलाशय आयोजनाले सुख्खायाममा पनि दैनिक ६ घण्टा पूर्ण क्षमतामा बिजुली उत्पादन गर्ने छ ।
ऊर्जा डेभलपर्सले ग्रुप कम्पनीले आरम्भ गरेको ९.५१ मेगावाटको माइबेनी र ६.२ मेगावाटको तल्लो जोगमाई आयोजनाबाट बिजुली उत्पादन भइरहेको छ ।