काठमाडौं । रोजगारीको प्रलोभन देखाएर नेपाली युवालाई भिजिट भिसामा यूएई पुर्याउने कार्यमा संलग्न त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सीका संचालक कोमलराज उपाध्याय युएईमा पक्राउ परेका छन् ।
संयुक्त अरब इमिरेट्स युएई भ्रमणका क्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ र युएईका मानव संशाधन मन्त्री डा। अव्दुलरहमान अव्दुलमानन अल अवारबीच युएईमा अलपत्र परेका नेपालीहरुको समस्या समाधान गर्ने र दोषीलाई कारवाहीको दायरामा ल्याउन दुई देश मिलेर काम गर्ने सहमति भएको थियो ।
युएई सरकारले कानुनले तोकेको प्रकृयाभन्दा बाहिरबाट नेपालीलाई युएई ल्याउने कार्यमा संलग्न व्यक्तिलाई कारवाहीको दायरामा ल्याउने प्रतिवद्धता जनाएको थियो ।
त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सीका संचालक उपाध्यायले नेपालीलाई युएईमा अलपत्र पारेको र ठगी गरेको उजुरी परेको थियो । उपाध्यायलाई पक्राउ गरेको जानकारी त्यहाँको प्रहरीले नेपाली दुतावास आवुधाबीलाई गराएको छ ।
नेपाली समुदायको कार्यक्रममा मन्त्री श्रेष्ठले नक्कली मागपत्र बनाउने, झुटो आश्वासन र रोजगारीको प्रलोभन देखाएर प्रचलित कानुनले तोकेको प्रकृयाभन्दा बाहिरबाट नेपालीलाई युएई ल्याउने कार्यमा संलग्न व्यक्तिलाई कारवाहीको दायरामा ल्याउन अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)को सहयोगमा युएईबाट नेपाल झिकाउने बताए ।
‘भिजिट भिषा’मा यूएई पुर्याएर अलपत्र पार्ने काममा संलग्न मेनपावर कम्पनी, कन्सल्ट्यान्सीहरु। ट्राभल्स संचालकहरु, दलाल तथा बिचौलियाहरुलाई कारवाहीको दायरामा ल्याइने मन्त्री श्रेष्ठले बताए ।