काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले “नेपाल लाइफ, पाठशाला” नामक प्रशिक्षण कक्षको सञ्चालन गरेको छ । कम्पनीले कमलपोखरीस्थित नेपाल लाइफ भवन (सिटीसेन्टर)मा स्थापना गरेको प्रशिक्षण कक्षको सञ्चालन गरेको हो ।
बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल तथा नेपाल लाइफ इन्स्योरेन्स सञ्चालक समितिका अध्यक्ष गोविन्दलाल संघईले संयुक्त रुपमा “नेपाल लाइफ पाठशाला”को उद्घाटन गरेका हुन् ।
कार्यक्रममा इन्स्योरेन्सका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले यस्ता किसिमका गुणस्तरीय तालिमको पूर्वाधारहरुलाई क्षेत्रीय स्तरमा समेत विस्तार गरिने सोच रहेको बताए ।
उनले नेपाल लाइफ, पाठशाला भविष्यमा एक उदाहरणीय तालिम प्रदान गर्ने संस्था बन्नेछ भन्ने विश्वास व्यक्त गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि एवं बीमा समितिका अध्यक्ष सिलवालले नेपाल लाइफले सुरु गरेको पाठशाला एक उदहारणीय कार्य भएको बताएका छन् ।
नेपाल लाइफ इन्स्योरेन्स सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघईले अभिकर्ता तथा कर्मचारीहरुको व्यावसायिक दक्षता एवं क्षमता अभिवृद्धिका लागि नियमित प्रशिक्षणको आवश्यकता महसुस गरी सुविधासम्पन्न “नेपाल लाइफ, पाठशाला”को स्थापना गरिएको बताएका छन् ।
कार्यक्रममा बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल, कम्पनीका सञ्चालकहरु रामअवतार अग्रवाल र विमलप्रसाद ढकाल, कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुशीलकुमार चौधरी, विभागिय प्रमुखहरु र अभिकर्ताहरुको उपस्थिति थियो ।