काठमाडौं । गोल्डम्यान इन्भेस्टमेन्ट कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति नलिई दोस्रो बजारमा कोष व्यवस्थापक (लगानीसम्बन्धी) काम गरिरहेको छ । जुन धितोपत्र बोर्डको विशिष्टीकृत लगानी कोष नियमावली २०७५ विपरीत देखिएको छ ।
बोर्डमा दर्ता नै नभई गोल्डम्यानले एक ब्रोकर कम्पनीमार्फत दोस्रो बजारमा सेयर खरिदबिक्री गरिरहेको भेटिएको धितोपत्र बोर्डले जानकारी दिएको छ । कुनै एउटा ब्रोकर कम्पनीबाट उनले धितोपत्रसम्बन्धी कारोबार गरिरहेको खुलेको बोर्ड नियमन विभागका कार्यवाहक कार्यकारी निर्देशक विनयदेव आचार्यले बताए ।
‘गोल्डम्यान कोष व्यवस्थापकको रुपमा बोर्डमा दर्ता भएको हामीले अहिलेसम्म कुनै पनि कागजात फेला पारेका छैनौं । कम्पनी रजिस्ट्रार कार्यालयले पनि हामीलाई सो व्यहोराको जानकारी गराएको छैन । तर, यस कम्पनीले कुनै ब्रोकरमार्फत सेयर बजारमा कारोबार गरिरहेको देखिन्छ’, उनले भने ।
धितोपत्र बोर्डको विशिष्टीकृत लगानी कोष नियमावली २०७५ ले प्रष्ट रुपमा कोष व्यवस्थापकको काम गर्न बोर्डबाट अनुमति लिनुपर्ने व्यवस्था गरेको छ । नियमावलीको परिच्छेद २ को नियम ३ (१) मा कोषको स्थापना तथा सञ्चालन गर्न चाहने कोष व्यवस्थापकले बोर्डबाट कोष व्यवस्थापकको अनुमति लिनुपर्ने भनिएको छ ।
यसैगरी कम्पनी ऐनले लगानीसम्बन्धी काम गर्नका लागि धितोपत्र बोर्डमा अनुमति लिएको १५ दिनभित्र कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता हुनुपर्ने व्यवस्था गरेको छ ।
यो नियमावली प्रारम्भ हुनुअघि सरकारको स्वीकृति लिई वा कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भई सञ्चालनमा रहेको कोष व्यवस्थापकको हकमा यो नियमावली प्रारम्भ भएको मितिले ६ महिनाभित्र कोष व्यवस्थापकको अनुमति लिन निवेदन दिइसक्नुपर्ने भन्ने व्यवस्था छ ।
कम्पनी रजिस्ट्रार कार्यालयबाट यससम्बन्धी कामका लागि अनुमति लिएको भए पनि त्यहाँबाट कुनै पनि पत्र प्राप्त नभएको बोर्डले जनाएको छ ।
१० वर्षमा १०० गुणाले लगानी बढाउने, ५० कम्पनी स्थापना गरेर १० प्रतिशतदेखि ५०० प्रतिशतसम्म लाभांश वितरण गर्ने, १० लाख रुपैयाँ अनिवार्य रुपमा लगानी गर्नुपर्ने भन्दै अनलाइनमार्फत नै संस्थागत पुँजी संकलन गरिरहेको र अमेरिकाका सेयर लगानीकर्ता वारेन बफेटजस्तै डलर अर्बपति बन्ने सपना देखेको गोल्डम्यान कम्पनीका अध्यक्ष दीपेन्द्र अग्रवालले कम्पनी नै बोर्डमा दर्ता नगराउनुले गैरकानुनी धन्दा सञ्चालन गरिरहेको प्रष्ट हुन्छ ।
कोष व्यवस्थापकसम्बन्धी कार्यका लागि बोर्डबाट स्वीकृत नलिएसँगै विनियमावलीको गम्भीर उल्लंघन भएको छ । विशेष गरी उक्त ऐनको परिच्छेद ३ मा कोष व्यवस्थापकको योग्यता तोकेको छ । जसमा प्रचलित कानुनबमोजिम स्थापना भएको संगठित संस्था हुनुपर्ने, प्रबन्धपत्र तथा नियमावलीमा कोष व्यवस्थापकको कार्य गर्ने उद्देश्य प्रष्ट उल्लेख गर्नुपर्ने व्यवस्था छ ।
यस्तै चुक्ता पुँजी कम्तीमा २ करोड रुपैयाँ हुनुपर्ने, कोष व्यवस्थापक तथा सोका सञ्चालक वा कार्यकारी प्रमुखले कुनै प्रकारको ठगी वा जालसाजी अपराधमा सजाय नपाएको, कोष व्यवस्थापकका सञ्चालक वा कार्यकारी प्रमुखको नैतिक पतन नभएको, फौजदारी कसूरमा सजाय नपाएको, धितोपत्रको सार्वजनिक निष्कासन गरी सर्वसाधारणबाट आव्हान गरी पुँजी संकलन गरेका कोष व्यवस्थापकहरुमध्ये धितोपत्रको कारोबारका लागि आवश्यक व्यवस्था नगरेको हुनुपर्ने छ ।
बोर्डको सम्पर्कमा नआएका कोष व्यवस्थापक (भ्यानिसिङ कम्पनी) हुनुपर्ने, सूचीकरण खारेजीको कारबाहीमा परेका वा बोर्डलाई कोष व्यवस्थापकको सञ्चालन सम्बन्धमा प्रचलित कानुनबमोजिम दिनुपर्ने सूचना जानकारी वा विवरण नदिई बसेका भनी बोर्डको अभिलेखमा रहेका कोष व्यवस्थापक वा त्यस्तो कोष व्यवस्थापकको कार्यकारी प्रमुख वा सञ्चालकको संलग्नता नरहेको हुनुपर्ने व्यवस्था छ ।
यस्तै सञ्चालक वा कार्यकारी प्रमुख, कर्जा सूचना केन्द्रको कालोसूचीमा नरहेको तथा कुनै नियामक निकायको कानुन उल्लंघनमा कारबाही नपरेको वा कारबाहीमा परेको भए २ वर्ष पूरा भएको हुनुपर्नेलगायतका मापदण्डहरुको तोकिएको छ ।
यसैगरी नियम ६ मा कोष व्यवस्थापकको काम, कर्तव्य र अधिकारहरुको व्यवस्था गरिएको छ । कोष व्यवस्थापकले आफू वा आफूसँग सम्बद्ध व्यक्तिले कुनै अनुचित लाभ नपाउने गरी लगानीसम्बन्धी गतिविधि सञ्चालन गर्नुपर्ने भनिएको छ ।
यसैगरी लगानी गरिने संस्थामा कोष व्यवस्थापक, सञ्चालक, कार्यकारी प्रमुख, कर्मचारी र लगानी समितिका सदस्यले कुनै किसिमको वित्तीय स्वार्थ नरहेको सुनिश्चित गर्नुपर्ने तर कुनै किसिमको वित्तीय स्वार्थ भएमा सोको सम्पूर्ण जानकारीसहित एकाइ धनीहरुको वार्षिक सभामा विशेष प्रस्तावद्वारा लगानी गर्ने प्रस्ताव पारित गरेको हुनुपर्ने व्यवस्था छ । यस्तो लगानी गर्ने निर्णय भएको सात दिनभित्र बोर्डलाई सोको जानकारी दिइसक्नुपर्ने व्यवस्था विनियमावलीमार्फत गरिएको छ ।
धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले गोल्डम्यानको बारेमा बोर्ड जानकार रहेको बताएका छन् । कम्पनीका बारेमा आवश्यक अध्ययन तथा अनुसन्धान गर्ने काम अघि बढाएको उनले सुनाए ।
‘बोर्ड गोल्डम्यानका बारेमा जानकार छ । कम्पनीबारे आवश्यक छानबिन भइरहेको छ’, उनले भने, ‘कम्पनीको सम्पूर्ण कागजात खोजेर बोर्डले अनुसन्धान गरिहेको छ ।’