काठमाडौं । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) ले पहिलोपटक मेची महाकाली मोटर र्याली आयोजना गर्ने भएको छ । र्याली ‘आन्तरिक पर्यटनका लागि सबैसँग’ भन्ने नारासहित चैत १० देखि १४ सम्म हुनेछ ।
कार्यक्रमले आपसी भाइचारा र आन्तरिक पर्यटनमा सहयोग पुग्ने उद्देश्य राखिएको छ । विभिन्न च्याप्टरहरुबाट ९० भन्दा बढी सदस्य तथा युवा उद्यमीहरु यसमा सहभागी हुनेछन् ।
नेपाल पर्यटन बोर्डका मुख्य कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले बोर्डको केन्द्रीय कार्यालयमा आजै बिहान १०ः०० बजे झण्डा हल्लाएर मोटर र्यालीको उद्घाटन गरी सहभागी टीमलाई बिदाई गरेका थिए ।
एनवाईईएफका अध्यक्ष उदीप श्रेष्ठका अनुसार आन्तरिक पर्यटनलाई प्रवर्धन गर्न यो र्याली देशव्यापी रुपमा आयोजना गरिएको हो । यसको मुख्य उद्देश्य साहस र मनोरञ्जन प्रदान गर्नु हो । साथै व्यक्तिगत, सामूहिक र सार्वजनिक व्यापार व्यवसायलाई प्रवर्धन गरी उत्साह बढाउने, अवसर तथा स्थान उपलब्ध गराउने, व्यवसायीलाई स्थानीय संस्कृति प्रचार प्रसार गर्न यसले सहयोग पुर्याउने श्रेष्ठले बताएका छन् ।
र्याली काठमाडौं, पोखरा, ललितपुरबाट सुरु भएर चितवनमा पुगेर जम्मा हुनेछ । त्यसैगरी विराटनगर, सुनसरी, जनकपुरबाट आएको टोली अमलेखगन्जमा जम्मा हुनेछ र सम्बन्धित च्याप्टरहरु पनि आफूलाई पायक पर्ने स्थानबाट टिमसँग जोडिई अन्त्यमा सम्पूर्ण टिम बर्दिया पुग्नेछ । र, १५ गते विधिवत समापन हुनेछ ।