काठमाडौं । सानिमा ग्रुपद्वारा प्रवर्द्धित पहिलो सुनकोसी जलविद्युत आयोजना १७ औं वर्षमा प्रवेश गरेको छ । गैरआवासीय नेपालीको लगानीमा १७ वर्ष पहिला सिन्धुपाल्चोकमा २.५ मेगावाटको सुनकोसी साना जलविद्युत आयोजना सञ्चालनमा आएको हो ।
जुरेको पहिरो र भूकम्पको प्रकोपलाई झेल्दै आज सञ्चालनमा रहेको १७ वर्ष पुगेको कम्पनीले जनाएको छ । यही आयोजनाले जगाएको आत्मविश्वासले अगाडि बढ्दै सानिमा ग्रुपले राष्ट्रिय प्रसारण लाइनमा जोडेका र निर्माण सम्पन्न हुने चरणमा रहेका जलविद्युत आयोजनाहरूको कुल क्षमता १४७ मेगावाट पुगिसकेको कम्पनीका सञ्चालक जीवा लामिछानेले बताए ।
सानिमाले २२ मेगावाटको सानिमा माइ र ७ मेगावाटको सानिमा क्यासकेड र २८ मेगावाटको लिखु आयोजनाबाट बिजुली उत्पादन भइरहेको छ । ग्रुपले ७३ मेगावाटको मध्यतमोर र १४.३ मेगावाटको मैलुङखोला आयोजना निर्माण गरिरहेको छ ।
आन्तरिक खपतका लागि यी आयोजना निर्माण सुरु भएको हो । सबै आयोजना नदीको बहावमा आधारित (रन अफ दि रिभर) प्रकृतिका छन । सानिमाले निर्माण गरिरहेको मध्यतमोर ताप्लेजुङ, लिखु रामेछाप र मैलुङखोला रसुवा जिल्लामा पर्छ । ग्रुपले निर्माण गर्ने आयोजनामा सर्वसाधारणको सेयर लगानी हुने छ ।
तल्लो लिखु आयोजना स्वेतगंगा हाइड्रोपावर एन्ड कन्ट्रक्सन लिमिटेड, मध्यतमोर सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेड र माथिल्लो मैलुङखोला माथिल्लो मैलुङखोला हाइड्रोपावर लिमिटेडमार्फत निर्माण गर्ने भएको छ ।
यस्तै सानिमाले २८५ मेगावाटको माथिल्लो तमोर, ६२ मेगावाटको जुमखोला र ७.५ मेगावाटको माथिल्लो मैलुङखोला बी आयोजना पनि निर्माणको तयारीमा छ ।
सानिमाले जलविद्युतका साथै बैंक, बिमा र पर्यटन सेवा क्षेत्रमा लगानी विस्तार गरिरहेको छ । ग्रुपले जलविद्युतका साथै सानिमा बैंक, सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड र अंकमा होटल सञ्चालन गरिरहेको छ ।