काठमाडौं । चीनको राज्यपरिषद् सदस्य एवं परराष्ट्रमन्त्री वाङ यी १९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै काठमाडौं आइपुगेका छन् ।
चिनियाँ विशिष्ट अतिथि वाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्याल, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छी, शिष्टाचार महापाल डा. दुर्गाबहादुर सुवेदी, परराष्ट्र मन्त्रालय र यहाँस्थित चिनियाँ दूतावासका उच्च अधिकारीहरूले स्वागत गरे ।
चीनले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल नेपाललाई हस्तान्तरण गर्ने भएको छ । चीनका विदेशमन्त्री वाङ यीले विशेष समारोहमा शनिबार भर्चुअल माध्यमबाट विमानस्थल नेपाललाई हस्तान्तरण गर्ने भएका हुन् ।चीनको ऋण सहयोगमा निर्माण सुरु भएको विमानस्थलको लागत २२ अर्ब रुपैयाँ रहेको छ । विमानस्थलको भौतिक प्रगति ९३ प्रतिशत छ ।
यस्तै कारोनाको कारण देखाउँदै चीनले २ वर्षदेखि तातोपानी र रसुवागढी नाका बन्द गर्दा आयात–निर्यात रोकिएको अवस्था छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उत्तरी नाका खुलाउने विषयलाई विशेष कार्यसूचीमा राखेको छ । त्यसको सहजताका लागि रसुवागढी र हुम्लामा सुक्खा बन्दरगाह निमार्ण र हुम्लाको कोरोला नाका पनि सुचारु गर्ने सम्झौतामा हस्ताक्षर हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मकवानपुरको चित्लाङमा स्थापना हुन लागेको मदन भण्डारी प्राविधिक विश्वविद्यालयको भौतिक संरचना निमार्णको विषयमा सम्झौता हुने कार्यक्रम तय भएको छ । उक्त विश्वविद्यालयको भौतिक संरचना निमार्णमा ४३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
रसुवा, पाँचखाल, पोखरा र नुवाकोटमा विशेष आर्थिक क्षेत्र निर्माणको विषयमा पनि हस्ताक्षर हुने कार्यसूची बनेको छ । त्यस्तै चीनले दिने वार्षिक सहयोग पनि राशि १३ अर्बबाट बढाएर १५ अर्ब पुर्याउने छ । त्यस्तै आयात–निर्यात हुने वस्तुको गुणस्तर जाँच गर्न सीमा नाकामा क्वारेन्टाइन स्थापना गर्ने विषयमा समेत छलफल हुने कार्यक्रम रहेको परराष्ट्रले जनाएको छ ।
चीनले निमार्ण गरेको वीर अस्पतालको नयाँ भवन हस्तान्तरण तथा देशकै सबैभन्दा पुरानो भरतपुर क्यान्सर अस्पतालको स्तरोन्नतिलाई सहयोग गर्ने सम्झौतापत्रमा हस्ताक्षर हुने प्रारम्भिक कार्यसूची रहेको छ ।
त्यस्तै उच्च पहाडी क्षेत्रमा उत्पादन भएको बिजुली चीनसम्म पुर्याउने योजनाअनुसार रातमाटे–रसुवागढी–केरुङ प्रसारण लाइन निमार्णको विषयमा समेत हस्ताक्षर हुने कार्यसूची रहेको छ ।
त्यस्तै कोरोनाका कारण चीन जान नसकेका नेपाली विद्यार्थीलाई अध्ययनका लागि चीन पठाउन सहजीकरण गर्ने भएको छ ।
साथै भूकम्पका कारण बिग्रिएको उत्तरी नाकाको स्तरोन्नति गर्ने बिषयमा पनि सम्झौता हुने भएको छ । सीमा समस्याको हल, व्यापार र वाणिज्य संयन्त्र र हवाई उडान सुचारु, केरुङ–रसुवागढी रेलको सम्भाव्यता अध्ययनको प्राविधिक सम्झौता हुने कार्यक्रम छ ।
तर, बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सम्झौता कार्यान्वयनको विषयमा छलफल नहुने भएको छ । नेपालका केही सर्त पूरा हुन बाँकी रहेकाले यस विषयमा अहिले सम्झौता नहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
त्यस्तै अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विषयमा चिनियाँ चासोको सम्बोधन हुने भएको छ । नेपालले एमसीसी पारित गरेपछि चीन सशंकित भएको छ । त्यस्तै पुराना सम्झौताको कार्यान्वयन गर्ने विषय पनि कार्यसूचीमा राखिएको छ ।
दक्षिण एसियाली मुलुकहरुको भ्रमणमा निस्केका विदेश मन्त्री वाङ अफगानिस्तान, पाकिस्तान र भारत हुँदै आज शुक्रबार काठमाडौं आएका हुन् ।
परराष्ट्रमन्त्री डा नारायण खड्का नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्र, अर्थ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ, कृषि तथा पशुपन्छी विकास, उद्योग वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, भौतिक पूर्वाधार तथा यातायात, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिवलगायत सहभागी हुनेछन् ।
विदेशमन्त्री वाङ नेतृत्वको प्रमण्डलमा नेपालका लागि चीनका राजदूत हउ यान्छी, चीनको विदेश मन्त्रालयका सहसचिव वु जिङवाओ, वाणिज्य मन्त्रालयका सहसचिव शेङ कुपिङ, विदेश मन्त्रालयको एसियाली मामिला विभागका महानिर्देशक लिउ जेनसङ, नायब शिष्टाचार महानिर्देशक सोङ जिया र विदेशमन्त्री याङका सचिव देङ झेइ रहने परराष्ट्र मन्त्रालयले जनाएको छ ।