काठमाडौं । अस्ट्रेलियन एम्बेसीले आफ्नो देशमा अध्ययन गर्न जाने विद्यार्थीको स्वास्थ्य परीक्षण गर्न नर्भिक अस्पताललाई मात्रै अनुमति दिएपछि विद्यार्थीले सास्ती खेप्नुपरेको छ ।
अस्ट्रेलिया जान नर्भिकमा गरेको स्वास्थ्य परीक्षण रिपोर्टलाई मात्रै एम्बेसीले मान्यता दिँदा विद्यार्थीले परीक्षणको मिति सहजै नपाएको गुनासो बढिरहेको छ ।
नेपालमा नर्भिकबाहेक अन्य धेरै सुविधासम्पन्न अस्पताल हुँदाहुँदै पनि एम्बेसीले एउटा मात्रै अस्पतालमा गरेको स्वास्थ्य परीक्षणलाई मान्यता दिँदा विद्यार्थीले मिति पाउनै मुस्किल भएको हो ।
नर्भिकबाहेक इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसन (आईओएम) मा गराएको स्वास्थ्य परीक्षणलाई पनि एम्बेसीले मान्यता दिने गरेको छ । तर, त्यहाँ अस्ट्रेलिया जाने विद्यार्थीहरुको सहज एक्सेस छैन । सोही कारण उनीहरु नर्भिकमै समय लिन बाध्य छन् ।
निकै पापड पेलेर मिति लिई स्वास्थ्य परीक्षण गराएर अस्ट्रेलिया पुगेकी दोलखाकी प्रकृत्ति न्यौपानेका अनुसार एउटा मात्रै स्वास्थ्य संस्था तोक्दा र समयमै मिति पाउन नसक्दा विद्यार्थीहरु मानसिक तनावमा पर्छन् ।
‘एक हप्तामा अस्ट्रेलिया जानुपर्ने हुन्छ । तर, स्वास्थ्य परीक्षणको मिति एक महिनापछि आउँछ । यसले पनि विद्यार्थी कतिसम्म मानसिक तनावमा पर्छ भन्ने कुरा त्यही“बाट प्रष्ट हुन्छ’, न्यौपानेले भनिन्, ‘काठमाडौंमा विश्वस्तरीय सेवा प्रदान गर्ने अस्पतालहरु छन् । सरकारी अस्पतालको सेवा पनि कम गुणस्तरीय छैन । सबै सरकारी अस्पतालमा गराइएको स्वास्थ्य परीक्षणलाई मान्यता दिने हो भने विद्यार्थीले भोग्दै आएको समस्या समाधान हुन्छ ।’
धेरैजसो विद्यार्थी आईओएम भनेर टिचिङ अस्पतालमा स्वास्थ्य परीक्षण गराउन जाने गरेका छन् । आईओएम भन्नेबित्तिकै धेरैजसोको दिमागमा शिक्षण अस्पताल महाराजगन्ज हो भन्ने परेको छ ।
नेपाल सरकारले अस्ट्रेलियन एम्बेसीसँग कुरा गरेर नेपालका अन्य स्वास्थ्य संस्थालाई पनि मान्यता दिन आग्रह गर्नुपर्ने न्यौपानेको भनाइ छ ।
यस्तै डिपेन्डडेन्ट भिसामा अस्ट्रेलिया जान लागेका कैलालीका सनतकुमार रेग्मी पनि नर्भिककै मितिको पर्खाइमा छन् । उनका अनुसार दुई महिनापछि मात्रै स्वास्थ्य परीक्षणको मिति छ । ‘यदि मैले दुई महिनाअघि नै परीक्षण गर्न पाएको भए यति बेला अस्ट्रेलिया पुगिसकेको हुन्थें’, उनले भने, ‘नर्भिकको मिति पर्खिंदा महँगो टिकट किन्नुपर्ने अवस्था आइलागेको छ । यसले ममा थप आर्थिक बोझ थप्छ ।’
स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले अस्ट्रेलिया जानेहरुको स्वास्थ्य परीक्षण गर्ने दायरा बढाउन आफूले अस्ट्रेलियाका लागि नेपाली राजदूत फेलिसिटी भोल्कसँग आग्रह गरेको बताए ।
धेरै विद्यार्थीले दुःख पाएको गुनासो आफूसँग आएको र राजदूतलाई भेटेर यो समस्या समाधान गर्न स्वास्थ्य परीक्षणको दायरा बढाउन आग्रह गरेको बताए ।
नर्भिकबाट मात्र परीक्षण हुँदा रोजगारी र अध्ययनका लागि अस्ट्रेलिया जानेहरुको स्वास्थ्य परीक्षणको पालो ढिलो आउने र त्यसले समस्या पर्ने गरेको भन्दै मन्त्री खतिवडाले त्यसलाई तत्काल दायरा बढाई सहज गराउन आग्रह गरेको उनको भनाइ छ ।
मन्त्री खतिवडाले नेपालबाट अध्ययन र रोजगारीका लागि अस्ट्रेलिया जानेहरुको स्वास्थ्य परीक्षण सीमित स्थानबाट मात्र हुँदा नेपालीले दुःख पाइरहेको भन्दै धेरै ठाँउबाट परीक्षणको व्यवस्था मिलाउन आग्रह गरेका हुन् ।
अस्ट्रेलियाले दोहोरो खोप लगाएका विद्यार्थीलाई प्रवेश खुला गरेपछि त्यहाँ जाने विद्यार्थीको लर्को छ ।
तर, स्वास्थ्य परीक्षणको मिति नपाएर विद्यार्थीहरु छटपटिएका छन् । उनीहरुले नर्भिकबाहेक अन्य स्वास्थ्य संस्थामा गरेको स्वास्थ्य परीक्षणलाई पनि मान्यता दिनुपर्ने विद्यार्थीहरुको भनाइ छ ।