काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडले बनाएको लिखु–४ जलविद्युत् आयोजनाको लागत बढेर महँगो भएको छ । नेपालका प्रतिष्ठित व्यावसायिक घरना त्रिवेणी र विशाल ग्रुपको लगानी रहेको ५२.४ मेगावाटको लिखु–४ आयोजना प्रतिमेगावाट लागत २३ करोड ५ लाख रुपैयाँ पुगेको छ ।
लागतको हिसावले यो निजी लगानीमा बनेको सबैभन्दा महंगो आयोजना हो । आयोजनाको लागत बढेर १२ अर्ब ८ करोड २८ लाख रुपैयाँ पुगेको कम्पनीले प्राथमिक सेयर (आईपीओ) निष्कासन प्रयोजनका लागि सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । आयोजना महँगो बनेपछि लगानीकर्ताले पाउने प्रतिफल स्वतः कम हुनेछ । साथै प्रतिफल पाउन लामो समय पर्खनुपर्ने हुन्छ ।
आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ११.५७ वर्ष रहेको छ । लगानीकर्ताहरुले अझै पनि सस्तो लागतमा आयोजना बनाइरहेका बेला ग्रीन भेन्चर्सले बनाएको लिखु आयोजना भने महँगो हुन गएको हो । पछिल्लो समय सञ्चालनमा आएको ४२ मेगावाटको मिस्ट्रीखोलाको प्रतिमेगावाट लागत १४ करोड रुपैयाँ रहेको छ ।
यस्तै साहस ऊर्जाले निर्माण गरिरहेको सोलु खोला दूधकोसीको लागत पनि प्रतिमेगावाट लागत १३ करोड ७९ लाख रुपैयाँ छ । निजी क्षेत्रले बनाएको जलविद्युत आयोजनाहरुको लागत प्रतिमेगावाट १८ करोड रुपैयाँसम्म हुने गरेको छ । लिखु आयोजनाबाट वार्षिक २९ करोड ५८ लाख ३२ हजार २८७ युनिट बिजुली उत्पादन हुने छ । आयोजनाबाट बिजुली उत्पादन भइसकेको छ ।
प्राधिकरणले व्यापारिक उत्पादन सुुरु हुने मितिदेखि हरेक महिना कम्पनीले आयोजनाबाट उत्पादन गरी उपलब्ध गराएको कन्ट्रयाक्ट इनर्जीको परिमाणसम्मको ऊर्जा खरीदबापत वर्षा याममा प्रतिकिलोवाट घण्टा ४.८० र सुख्खा याममा प्रतिकिलोवाट घण्टा ८.४० रुपैयाँमा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) गरेको छ ।
विद्युत् खरीद दरले हुन आउने रकम कम्पनी वा विद्युत् खरिद–बिक्री सम्झौताको दफा ३४ अनुसारको अगुवा बैंक वा वित्तीय संस्थालाई नेपाल विद्युत् प्राधिकरणले बुझाउने छ । व्यापारिक उत्पादन सुरु हुने मितिबाट १ वर्ष पुगेको अर्को महिनादेखि लागू हुने गरी प्रत्येक वर्षका लागि ३ प्रतिशतका दरले ८ पटकसम्म साधारण मूल्यवृद्धि पाउने छ । आयोजनाबाट उत्पादन भएको ऊर्जा २२० केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत नयाँ खिम्ती सबस्टेसनमा जोडिएको छ ।
आयोजनामा लक्ष्मी बैंकको अगुवाइ (लिड) मा ग्लोबल आईएमई बैंक, नबिल बैंक, नेपाल एसबिआई बैंक, सनराइज बैंक, प्रभु बैंक, सानिमा बैंक र एभरेस्ट बैंकको नाममा मोर्टगेज भइसकेको छ ।
सर्वसाधारणका लागि छुट्टयाइएको ३१ करोड २५ लाख रुपैयाँको आईपीओ निष्कासन भएपछि कम्पनीको चुक्ता पुँजी ३ अर्ब १२ करोड ५० लाख रुपैयाँ हुनेछ । कोभिड– १९ महामारीको कारणले यस आयोजनाले व्यापारिक उत्पादन सुरु गर्नुपर्ने मितिभित्र निर्माण कार्य सम्पन्न गर्न नसक्दा आयोजनालाई विद्युत् उत्पादन गरी बिक्रीबाट आउने रकम नोक्सानी भएको साथै आयोजनाको लागतसमेत बढ्न गई ऋण र लगानीमा ब्याज बढ्न गएको कम्पनीले जनाएको छ ।
ग्रीन भेन्चर्सले चालू आर्थिक वर्षमा बिजुली बिक्रीबाट १ अर्ब ११ करोड ८५ लाख रुपैयाँ आम्दानी गरी १० करोड ४४ लाख रुपैयाँ खुदनाफा हुने कम्पनीको प्रक्षेपण छ । यस्तै आगामी वर्ष ०७९/८० मा १ अर्ब ४६ करोड ७ लाख रुपैयाँ आम्दानी गरी २५ करोड ४० लाख रुपैयाँ र आर्थिक वर्ष ०८०/०८१ मा १ अर्ब ५१ करोड ५६ लाख रुपैयाँ आम्दानी गरी ३२ करोड ४२ लाख रुपैयाँ खुदनाफा गर्ने कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।
कम्पनीको जलविद्युत् उत्पादन केन्द्र ओखलढुंगा जिल्लाको खिजिदेम्बा गाउँपालिका वडा नं. १ र ३ (साविक रगनी गाविस र खिजीचण्डेश्वरी गाविस) तथा रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नं. ७ (साविक भुजी गाविस) मा रहनेछ ।